धनगढी- गत साउन ४ गते बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोटकी कार्तिका बिकले बाटोमै बच्चा जन्माएकी थिइन्। परिवारले उनलाई समयमा नै स्वास्थ्य संस्थामा लगेका थिए। तर स्वास्थ्य संस्थामा कोही पनि नभएपछि फर्कने क्रममा बाटोमा नै बच्चालाई जन्म दिएकी थिइन्। स्वास्थ्य संस्थाका सबै कर्मचारी करारमा रहेका र उनीहरुको म्याद नथपिएका कारण उक्त स्वास्थ्य संस्था कर्मचारी बिहिन भएको थियो।
डोटीकी सायलकी सीता विकका तीन बच्चा छन। तीनै बच्चा उनले घरमै जन्म दिइन। उनी भन्छन –‘बर्थिङ सेन्टरनै देखेको छैन। कसरी जानु स्वास्थ्य संस्था? सबै बच्चा घरमै जन्मेका हुन्।’
बडिकेदार गाउँपालिका वडा नम्बर २ गतपसेराकी दीपा विकले पनि घरमै शिशु जन्म दिइन्। विकले भनिन्, ‘बर्थिङ सेन्टर छैन। बाहिर लैजाउँ भने गाडी पनि चल्दैन।’
गतपसेराकी पद्मा विकले सात बच्चा घरमै जन्माएको बताइन्। ‘६ भाइ छोरा एक छोरी सबै घरमै जन्माएँ’ उनले भनिन्, ‘विकट ठाउँ भइहाल्यों, गाडी मोटर चल्ने भए अस्पताल लैजान्थ्यौं।’
सुदूरपश्चिम प्रदेशका सात पहाड जिल्लामा प्रसूति सेवाको सहज पहुँच नहुँदा बाटो र घरमै सुत्केरी हुनुपरेका यी केही प्रतिनिधि मात्र हुन। अझै पनि शहरी, ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरु बाटो तथा घरमै सुत्केरी हुन्छन्। सुत्केरीका क्रममा अत्यधिक रक्तश्राव तथा अन्य जटिलताका कारण कतिले त बाटोमै ज्यान गुमाउनु परेका घटना समेत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सुरक्षित मातृत्व र शिशुको सुरक्षा तथा हेरचाहका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं रुपैंयाँ लगानी भइरहेको छ। तर दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीहरुका लागि भने अझै काम गर्न बाँकी रहेको देखिन्छ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा प्रत्येक महिलालाई प्रसूतिकर्मीबाट आवश्यक परामर्श, गर्भवती तथा प्रसूति सेवा, सुत्केरी पश्चातको गर्भ निरोधको सेवा पाउने अधिकार हुनुका साथै प्रत्येक महिलालाई आकस्मिक प्रसूति सेवा, आधारभूत आकस्मिक प्रसूति सेवा, आकस्मिक प्रसूति सेवा, नवजात शिशुको लागि अत्यावश्यकीय सेवा र नवजात शिशुको आकस्मिक सेवा पाउने अधिकार हुने भनिएको छ। तर व्यवहारमा भने त्यस्तो छैन।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा संस्थागत (स्वास्थ्य संस्था तथा अस्पताल) मा सुत्केरी हुने दरमा सुधार हुँदै आए पनि सतप्रतिशत पुर्याउन सकिएको छैन। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सुत्केरी हुने दर ९३ प्रतिशत रहेको छ। निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशीले गत आर्थिक वर्ष (२०७८/७९) मा सात प्रतिशत महिला घर तथा बाटोमै सुत्केरी भएको बताए।
प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सुत्केरी दर ७१ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा बृद्धि भई ८३ प्रतिशत पुगेको थियो।
प्रदेशमा सबै भन्दा कम संस्थागत सुत्केरी हुने दर डोटी र कञ्चनपुरमा रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा डोटीमा संस्थागत दर ७६ प्रतिशत रहेको छ भने कञ्चनपुरमा ७७ प्रतिशत रहेको छ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बझाङमा ८४, बाजुरामा ८९ प्रतिशत, दार्चुलामा ८७, बैतडीमा ८२, डडेल्धुरामा ९६ र अछाममा ८४ प्रतिशत रहेको छ। प्रदेशकै सुगम जिल्ला रहेको कैलालीमा संस्थागत सुत्केरी दर एक सय एक प्रतिशत रहेको भए पनि अझै पनि घरमै सुत्केरी हुने गरेको निर्देशनालयले जनाएको छ।
भौगोलिक विकटता, प्रसूति केन्द्र टाढा हुनु, परिवारको आर्थिक अवस्था, स्वस्थ्य केन्द्रमा कर्मचारी अभाव जस्ता कारणले प्रदेशमा धेरै महिला बाटोमै सुत्केरी हुन बाध्य भएको डाक्टर जोशीले बताए।
‘हाम्रो जस्तो भौगोलिक वनावट भएको देशमा यो नौलो कुरा होइन। पहिले पहिले पनि बाटोमै सुत्केरी हुने गरेका थिए, आज पनि हुन्छन् र भोलि पनि हुन सक्छन्’ डाक्टर जोशी भन्छन्।
उनका अनुसार यतिबेला नै सुत्केरी हुन्छ भनेर सामान्य अनुमान लगाइए पनि त्यस अनुसार नै हुन्छ भन्ने हुँदैन। कसैकसैमा व्यथा लागेपछि छिट्टै सुत्केरी भइहाल्छन् भने कोही कोहीलाई समय समेत लाग्न सक्छ। त्यसैले अस्पताल जाँदा जाँदै बाटोमै सुत्केरी हुनु सामान्य कुरा नै हो।
प्रदेशका कतिपय गाउँमा सडक संजाल समेत जोडिएको छैन। भौगोलिक विकटता भएको ठाउँमा थप बर्थिङ सेन्टरहरू खोलिनु पर्ने र जनशक्तिहरू थपेमा यो समस्या कम हुनसक्ने उनको भनाइ छ।
कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट विमुख जस्ता समस्याले आमाहरूको ज्यान निकै जोखिम बन्दै गएको उनले बताए।
शहरी क्षेत्रमा घरमै सुत्केरी
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका समेत रहेको धनगढी उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा ५१ जना घरमै सुत्केरी भए। धनगढीमा संस्थागत सुत्केरी हुने संख्या बढ्दै गए पनि जनचेतना अभाव, आर्थिक अवस्था कमजोरका कारण अझै घरमै सुत्केरी हुने गरेका छन्।
कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा तीन सय ३६ जना घरमै सुत्केरी भएका छन्। त्यसमध्ये सबैभन्दा बढी चुरे गाउँपालिकाका महिला रहेका छन्। चुरे गाउँपालिकामा एक सय एक महिला घरमै सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ।
आर्थिक वर्ष २०७८/७९ मा कैलालीको भजनी नगरपालिकामा २८, टीकापुरमा ११, लम्की चुहा नगरपालिकामा १२, गौरिगंगा नगरपालिकामा १६, घोडाघोडीमा २४ र गोदावरी नगरपालिकामा एक सय एक महिला घरमै सुत्केरी भए भने मोहन्याल गाउँपालिकामा ४० र बर्दगोरिया गाउँपालिकामा नौ महिला घरमै सुत्केरी भए।
जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा एक हजार छ सय ९२ जना र आर्थिक वर्ष २०७७/७८ मा छ सय १० जना घरमै सुत्केरी भएका थिए। आर्थिक वर्ष २०७६/७७ मा मात्र धनगढी उपमहानगरपालिकाभित्रै घरमै सुत्केरी हुनेको संख्या बढी छ। एक हजार छ सय ९२ मध्ये धनगढीमा एक हजार एक सय २५ महिला घरमै सुत्केरी भए। आर्थिक वर्ष २०७७/७८ मा ७९ जना घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा रहेको छ।
घरमै सुत्केरी हुने संख्या सबै भन्दा कम जोशीपुर, कैलारी र जानकी गाउँपालिकामा रहेको छ। ती पालिकामा आर्थिक वर्ष २०७६/७७ मा एक, आर्थिक वर्ष २०७७/७८ मा पाँच र आर्थिक वर्ष २०७८/७९ शून्य महिला घरमै सुत्केरी भएको उल्लेख छ।
जोशीपुर गाउँपालिकामा दुई आर्थिक वर्षदेखि घरमै सुत्केरी हुनेको संख्या शून्य रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा सो गाउँपालिकामा दुई महिला घरमै सुत्केरी भए पनि आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा घरमै सुत्केरी हुनेको संख्या शून्य रहेको छ।
जानकी गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा छ र आर्थिक वर्ष २०७७/७८ मा छ जना घरमै सुत्केरी भएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा एक महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ।
जिल्लाका पालिकाहरुमा स्वास्थ्य संस्था, जनशक्ति र उपकरण भए पनि महिलामा जनचेतना, आर्थिक अभाव, रोग लुकाउने बानी लगायतका कारण अझै पनि महिलाहरु घरमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। उनले भने –‘घरमै सुत्केरी हुँदा महिलाहरुले भोग्नुपर्ने समस्या, बालबालिकामा हुने कुपोषण लगायतका बारेमा जनचेतनामुलक कार्यक्रम हरेक पालिकामा सञ्चालन गर्नुपर्ने देखिन्छ।’
घरमै बच्चा जन्माउँदा आमा र बच्चा दुबै जोखिममा पर्ने गर्छन्। स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा महिला र बच्चाको ज्यान जोगाउन सकिने उनले बताए।