काठमाडौं– सत्ता राजनीतिको 'किङमेकर' हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। संसदीय राजनीति सुरु गरेपछि आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको उनैले दाबी गर्ने गरेका छन्। राष्ट्रिय राजनीतिमा जसरी उनी अपरिहार्य र बलिया नेता देखिन्छन्, उनको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं. ३ मा भने उनको दल कमजोर छ।
तर प्रचण्डले उक्त निर्वाचन क्षेत्रमा कहिले एमाले त कहिले कांग्रेससँग तालमेल गर्दै माओवादीलाई जिताउँदै आएका छन्। यसपटक भने प्रचण्डले उक्त क्षेत्र छाडेर गोरखा पुगेका छन्।
आफ्नो निर्वाचन क्षेत्र छाडेर गएका प्रचण्डले उक्त क्षेत्रमा डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएका छन्। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ डा अधिकारी माओवादीका तर्फबाट सत्ता गठबन्धनका उम्मेदवार हुन्। मंसिर ४ गते हुने निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसबाट दिनेश कोइराला बागी उम्मेदवार उठेका छन्। कोइरालालाई एमालेले समर्थन गरेको छ। एमालेले आफ्नो उम्मेदवार फिर्ता बोलाएर कांग्रेसका बागीलाई समर्थन गरेको हो। जसका कारण यसपटक उक्त क्षेत्रमा निर्वाचन रोचक हुने देखिएको छ।
अब लागौँ, चितवन ३ को वस्तुस्थितितिर।
चितवन-३ अन्तर्गत भरतपुर महानगरपालिकाका वडाहरु ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ तथा माडी नगरपालिकाका ९ वटै वडाहरू पर्छन्। यसरी सो क्षेत्रमा २८ वटा वडाहरू रहेका छन्।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले ४ वटा, माओवादी केन्द्रले ७ वटा, एकीकृत समाजवादीले ४ वटा, राप्रपाले २ वटा र स्वतन्त्रका एउटा वडाको अध्यक्ष जितेका थिए।
वडाअध्यक्षहरुले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५, ०३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन्।
स्थानीय तहमा सत्ता गठबन्धन दलहरुले त्यहाँ वडास्तरमै तालमेल गरेका थिए। त्यसैले सम्बन्धित पार्टीले पाएको देखिएको मत र त्यहाँ सो पार्टीका मतदातामा केही अन्तर पर्न सक्छ। तर, सहजै देखिने दृश्यचाहिँ माओवादी केन्द्रको जनाधार कमजोर छ भन्ने हो। त्यसैले डा अधिकारीलाई जितका लागि गठबन्धनका दलहरु र त्यसमा पनि कांग्रेसका मतदातासँग भर गर्नुपर्ने हुन्छ।
तर कांग्रेसकै बागी उम्मेदवार उठेका कारण पनि त्यहाँ चुनौती थपिएको देखिन्छ। कांग्रेसका बागी उम्मेदवारलाई एमालेले समर्थन गरेको हुँदा निर्वाचन परिणाम कस्तो आउँछ भन्ने सहजै अनुमान भने लगाउन कठिन हुने देखिएको छ।
चितवन-३ लाई २०७४ को स्थानीय तहको निर्वाचनको 'फ्रेम' मा पनि हेर्नु वाञ्छनीय हुन्छ। त्यतिबेला पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। त्यतिबेला चितवन-३ अन्तर्गत पर्ने वडाहरुमा कांग्रेस-एमालेले समान ११ वटा वडाको अध्यक्ष जितेका थिए। माओवादी केन्द्रले ६ वटा वडाध्यक्ष जितेको थियो। त्यतिबेला वडास्तरमा भने गठबन्धन थिएन।
त्यतिबेला वडा अध्यक्षले पाएको एकीकृत मतमा कांग्रेस अगाडि थियो। त्यतिबेला कांग्रेसले २६ हजार ९२३, एमालेले २४ हजार ४९४, माओवादी केन्द्रले १८ हजार १०४, राप्रपाले ८ हजार ३४२ र अन्य पार्टी तथा स्वतन्त्रले जम्मा ४५४ मत ल्याएका थिए।
स्थानीय तहको निर्वाचनको केही महिनापछि नै भएको संसदीय निर्वाचनमा प्रचण्डले ४८ हजार २७६ मत पाएका थिए। उनलाई एमालेको साथ थियो। कांग्रेसको साथ पाएका राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेले ३८ हजार ९३५ मत मात्रै पाएका थिए। दुई ठूला तालमेलका बीचमा अन्य दलको उपस्थिति कमजोर बनेको थियो। त्यतिबेला प्रचण्डलाई एमाले र माओवादी केन्द्रका अतिरिक्त अन्य पार्टीका मतदाताको पनि मत खसेको उल्लेखित तथ्यांकबाट देखिन्छ।
२०७४ र २०७९ को संसदीय निर्वाचनमा चितवन ३ को तालमेल फेरिएको छ। हिजो प्रचण्डको सहयोगी एमाले थियो। अब कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुले सहयोग गर्दैछन्।
२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा चितवन ३ अन्तर्गतका वडामा माओवादी कमजोर देखिन्छ। तर, प्रचण्ड जस्ता शक्तिशाली नेताको क्षेत्र भएकाले उक्त क्षेत्रमा सामान्य गणितहरुले सम्भावित नतिजालाई प्रष्ट पार्न सक्दैनन्। त्यो २०७४ को आम निर्वाचनले पुष्टि गरिसकेको छ।
प्रचण्डको व्यक्तिगत प्रभाव, निर्वाचनपछि पनि सो क्षेत्रमा आउने बजेट, चर्चामा आइरहने अन्य विषयलाई मतदाताले परीक्षण गर्नेछन्। त्यसको स्पष्ट संकेत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रचण्डकी पुत्री रेणु दाहालको जितले देखाइसकेको छ। उनी कमजोर छिन् भन्ने आकलनविपरीत उनले ठूलो अन्तरले जित निकालेकी थिइन्। उनलाई एमालेकै पनि प्रशस्त मत खसेको चर्चा अझै छ।
त्यसकारण पनि प्रचण्डले छाडे पनि प्रचण्डकै क्षेत्र भएका कारण डा भोजराज अधिकारीलाई पनि रेणुको जस्तै मत आउन सक्ने आकलन पनि गरिएको छ। यसका साथै डा अधिकारी उक्त क्षेत्रमा लामो समयदेखि चिकित्सकिय अभ्यासमा रहेका कारण पनि उनको आफ्नै मत पनि बढी हुनसक्ने अनुमान गरिएको छ। यद्यपि निर्वाचन हो। निर्वाचनमा मतपरिणाम सार्वजनिक नभएसम्म अहिले नै के हुन्छ भन्ने अनुमान भने लगाउन कठिन नै हुन्छ।