स्तन क्यान्सरका बिरामी अहिले धेरै नै भेटिन थालेको छ। हाम्रो समाज वा परिवारमा कोही न कोही स्तन क्यान्सरसँग लडिरहेकै भेटिन सक्छन्। किनभने यो रोग नभएको सायद कुनै टोल, गाउँ वा सहर होला। तथ्यांकले पनि यसको थोरबहुत पुष्टि गर्छ। विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा छ। हाम्रो देशमा भने पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ।
सन् २०२० को ग्लोबोक्यान (डब्लुएचओ) को तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन ६ जना महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुन्छ।
अमेरिकी क्यान्सर सोसाइटीको तथ्यांकअनुसार प्रत्येक आठ महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी महिलाको मृत्यु स्तन क्यान्सरले गर्दा हुने गरेको छ।
स्तन क्यान्सरविरुद्ध जागरण फैलाउने अभियानका रूपमा अक्टोबर महिनालाई लिइन्छ। यही महिनामा संसारभर विभिन्न कार्यक्रम आयोजना गरीअभियान चलाइन्छ। यो महिनामा मानिसले गुलाबी रंगको रिबन वा पहिरन लगाएर अभियानमा सहभागी हुन्छन्। त्यस्तै, विभिन्न कार्यक्रम गरी समाजका सबै महिलामा स्तन क्यान्सरको जोखिम कम गर्नेबारे सचेतना फैलाइन्छ। कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने भन्नेबारे जागरण फैलाउने अभियानको मुख्य उद्देश्य हो ।
वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्ने अझै पत्ता लागेको छैन। तर यसका केही कारणको पहिचान भने भएको छ।
१) महिला हुनु र बढ्दो उमेर (धेरैजसो स्तन क्यान्सर ५५ वर्षभन्दा माथिका महिलालाई हुन्छ।)
२) परिवारमा कसैलाई स्तन वा डिम्बासयको क्यान्सर भएमा
३) जातीय (गोरा महिलालाई धेरै)
४) स्तनको घनत्व बढ्नु
५) वंशाणुगत (परिवारमा कसैलाई भएमा)
६) सानो उमेरमा महिनावारी भए वा धेरै उमेरमा महिनावारी सुकेमा।
स्तन क्यान्सर हुनसक्ने अन्य जोखिमहरू
१) धेरै गर्भनिरोधक औषधि प्रयोग गर्नु
२) हर्मोन थेरापी धेरै लिनु
३) ढिलो उमेरमा सन्तान जन्माउनु वा सन्तान नहुनु
४) अत्यधिक धूम्रपान र मादक पदार्थ सेवन गर्नु
५) धेरै मोटा महिला वा शारीरिक व्यायाम नगर्नु
स्तन क्यान्सरको जोखिम कम गर्ने उपायहरू
१) रक्सी तथा सुर्तीजन्य पदार्थबाट टाढा रहनु
२) स्तनपान गराउनु
३) शरीरको तौल स्वास्थ्य लेबलमा राख्नु
४) योग, कसरत र दैनिक शारीरिक व्यायाम गर्नु र पौष्टिक खानेकुरा खानु
५) स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी उपचार गर्नुपर्छ ।
स्तन क्यान्सरका लक्षण
१) स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिनु
२) स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
३) स्तन दुख्नु वा सुन्निनु
४) स्तनमा खाल्टो पर्नु
५) स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
६) शरीरको अनावश्यक तौल घट्नु
स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै स्तन क्यान्सरलाई निर्मूल पार्ने अचुक अस्त्र हो। यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गरियो भने शत प्रतिशत निर्मूल पार्न सकिन्छ। ढिलो अर्थात् स्टेज तीन वा चारमा पत्ता लागे यसलाई निको पार्न सकिँदैन। यस्तो अवस्थामा यो क्यान्सरलाई प्यालियटिभ उपचार गरी बिरामीको पीडा कम गर्न सकिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गर्नका लागि दुई महत्वपूर्ण उपाय छन्:
१) आफ्नो स्तन आफैं जाँच्ने
१८ वर्षको उमेरभन्दा माथिका महिलाले प्रत्येक महिना महिनावारी भएको पाँचदेखि सात दिनमा आफ्नो स्तन आफैं जाँच गर्नुपर्छ। महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्नुपर्छ। स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरुको अवस्थामा थाहा पाउनुपर्छ। केही परिवर्तन भेटिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।
२) म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रिनिङ गर्ने
स्तन क्यान्सरलाई सुरुको अवस्थामा पत्ता लगाउन महिलाले स्क्रिनिङ जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो। अमेरिकी क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले वर्षमा एकपटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स–रे हो, जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्छ। म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्स–रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यी जाँचमा स्तन क्यान्सरको शंका भए बायोप्सी गरेर स्तन क्यान्सर भए/नभएको निश्चित हुन्छ।
अन्त्यमा, वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवका आधारमा, जुन महिलाको दैनिक जीवनशैली स्वस्थ तथा अनुशासित हुन्छ, उनीहरूमा स्तन क्यान्सरको जोखिम अरुभन्दा न्यून हुन्छ। त्यसैले सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योग र पौष्टिक खानासँगै स्वस्थ जीवन निर्वाह गर्नुपर्छ। स्तन क्यान्सरसम्बन्धी केही शंका भए चिकित्सकको परामर्श लिनुपर्छ। उमेर पुगिसकेपछि चिकित्सकको सल्लाहबमोजिम प्रत्येक वर्षमा एकपटक म्यामोग्राफी गर्दा राम्रो हुन्छ।
- (मेडिकल अंकोलोजिस्ट डा अरुण शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।)