काठमाडौं- आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सरगर्मी बढ्दो छ। चुनावी मैदानमा उत्रनका लागि दलहरुले आइतबार मनोनयन समेत दर्ता गराएका छन्।
चुनावी मैदानमा पूर्व स्वास्थ्यमन्त्रीहरु पनि होमिएका छन्। यस पटकको प्रतिनिधि सभाको चुनावमा उठेका पूर्व स्वास्थ्यमन्त्री हुन्- गगन थापा, गिरिराजमणि पोखरेल, दिपक बोहरा, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, विरोध खतिवडा, उमेर श्रेष्ठ र पद्मा अर्याल। खगराज अधिकारी भने प्रदेश सभामा उम्मेदवार बनेका छन्।
प्रतिनिधि सभाको चुनावका लागि यी पूर्व स्वास्थ्यमन्त्रीहरु को कहाँबाट उठ्दै छन् ? यहाँ प्रस्तुत गरिएको छ:
गगन कुमार थापा
आगामी प्रतिनिधि सभा चुनावको प्रतिस्पर्धामा उत्रिएका पूर्व स्वास्थ्यमन्त्रीहरुमध्ये एक हुन्, गगन कुमार थापा। काठमाडौं क्षेत्र नम्बर ४ बाट पूर्व स्वास्थ्यमन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि पनि थापाले सोही निर्वाचन क्षेत्रबाट जितेका थिए। यसअघिको दुई वटा निर्वाचन पनि थापाले यही क्षेत्रबाट जितेका हुन्। कांग्रेस महामन्त्री भएपछि थापाको नाम यो पटक सर्लाही क्षेत्र नम्बर चारबाट समेत सिफारिस भएको थियो। सर्लाहीबाट निर्वाचन लड्ने हल्ला चलेपनि थापाले आफु काठमाडौं चारबाटै उम्मेदवार दिने प्रष्टिकरण दिएका थिए।
उपेन्द्र यादव
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनावमा उठ्दैछन्। जनता समाजवादी पार्टीका अध्यक्ष यादवले आइतबार प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराए। उनले नेकपा एमालेसँग गठबन्धन गर्दै उम्मेदवारी दर्ता गराएका हुन्। स्वास्थ्य मन्त्री रहँदा मन्त्रालयको भन्दा पार्टीको काममा व्यस्त भएका यादवले २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट जित हासिल गरेका थिए।
दीपक बोहोरा
प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिएका अर्का पूर्व स्वास्थ्यमन्त्री हुन्, दीपक बोहोरा। राप्रपाका दीपक बोहरा एमालेको समर्थनमा रुपन्देही ३ बाट चुनाव लड्दैछन्। २०७४ सालमा एमालेका घनश्याम भुसाालसँग पराजित भएका बोहोरा यस पटकको निर्वाचनमा पुनः उठेका हुन्। यसपटक एमालेले भुसाालको टिकक खोसेर राप्रपाका बोहोरालाई तालमेल गर्दै टिकक दिएको थियो। उनको टिकट खासेर दिएका कारण भुसालले शनिबार एमाले परित्याग समेत गरिसकेका छन्। उक्त क्षेत्रमा प्रतिनिधि सभामा राप्रपा, प्रदेश सभामा जनता समाजवादी पार्टी र एमालेले पाउने गरी तालमेल गरेका छन्।
गिरिराजमणि पोखरेल
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल महोत्तरी १ बाट चुनाव लड्दैछन्। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक पार्टीको साझा उम्मेदवारीको रुपमा पोखरेल उठेका हुन्।
विरोध खतिवडा
मकवानपुर २ बाट चुनावी मैदानमा उत्रिएका पूर्व स्वास्थ्यमन्त्री हुन्, विरोध खतिवडा। गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा यो क्षेत्रबाट उठ्दै छन्। उनीसँग यो लडाईमा छन्, एमाले युवा नेता महेश बर्तौला।
पद्मा अर्याल
पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालले स्याङजा २ बाट उम्मेदवारी दिएकी छिन्। यसअघि २०७४ सालको चुनाव समेत अर्यालले जितेकी थिइन्। अर्यालसँग कांग्रेस उपसभापति धनराज गुरुङ चुनाव लड्दै छन्।
हृदयेश त्रिपाठी
पूर्व स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठी नलवपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि उठ्दै छन्। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष त्रिपाठीले आफ्नो मनोनयन दर्ता गराएका छन्।
शेरबहादुर तामाङ
नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभाको चुनावमा होमिदै छन्। स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य बीमालाई आधुनिकीकरण गर्ने बताएका तामाङले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
भानुभक्त ढकाल
पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट उठ्दै छन्। नकेपा एमालेको तर्फबाट उठेका ढकालले आगामी मंसिर हुने प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन्।
खगराज अधिकारी
कास्की क्षेत्र नम्बर १ को 'क' बाट उठ्दै छन्, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी। नेकपा एमालेका नेता अधिकारी यसअघि प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। कास्की १ बाट चुनावी मैदानमा उत्रेका अधिकारीले कांग्रेसका यज्ञ बहादुर थापालाई २०७४ सालको चुनावमा हराएका थिए। यसपटक भने उनी प्रदेश सभामा उठ्ने भएका हुन्।
उमेश श्रेष्ठ
उमेश श्रेष्ठ पूर्व स्वास्थ्य राज्यमन्त्री हुन्। उनी चितवन क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिदैछन्। श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन्। उनी अहिले प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत हुन्। क्षेत्र नम्बर २ मा श्रेष्ठसँग एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा रहनेछन्।