काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी नर्सिङ अधिकृत रमा घिमिरे दाहाललाई दसैंमा ड्युटी गर्नु नौलो होइन। प्राय टीकाको दिनमा उनको ड्युटी पर्छ। यसवर्ष पनि उनी ६ घण्टाको ड्युटीमा परेकी छिन्। गत वर्ष पनि दसैंको टीका अस्पतालमा बिरामी र सहकर्मीहरुसँगै लगाएकी थिइन्। घर काठमाडौंको कपनमा भएकाले पनि उनको ड्युटी प्राय टीकाको दिन नै पर्छ। तर उनलाई कुनै गुनासो छैन।
टीकाको दिन ड्युटी गर्नु सामान्य भएको बताउँदै उनी भन्छिन्, ‘टीकाको दिन प्राय सधै नै ड्युटी गर्छु। घर यही काठमाडौंमा भएपछि बाहिर जानेलाई प्राथमिकता दिन्छौँ।’ स्वास्थ्य क्षेत्रमा २९ वर्ष बिताएकी उनले शुक्रराज अस्पतालमा काम गर्न थालेको ९ वर्ष भयो। २०५० सालदेखि उनले नर्सिङ पेशा सुरु गरिन्।
टीकाको दिन ड्युटी पर्दाको त्यो पहिलो अनुभव...
विराटनगरमा जन्मिएकी घिमिरेले दसैंको साइतको टीका सधै लगाउँने गर्थिन्। साइतको टीका उनलाई निकै प्यारो पनि लाग्ने। तर पहिलो पटक टीकाको दिन ड्युटी पर्दा भने उनलाई साह्रै नरमाइलो लागेको थियो।
उनी भन्छिन्, ‘सुरुको एक वर्ष नरमाइलो जस्तो लागेको थियो। तर आफ्नो खुशीले नै पेशा रोजेर आएको भएकाले फेरी आफुलाई सम्झाए पनि। पेशा नै यस्तो अपनाएपछि त आफूलाई सम्झाउनु नै पर्छ।’ प्रहरी, सेना, सुरक्षा गार्डको २४ घण्टे ड्युटी देख्दा पनि आफुलाई कामप्रति थप हौसला मिल्ने गरेको उनको भनाई छ।
कतिपय बिरामीहरुको आफन्तले पनि दसैंको टीका लगाइने दिने गरेको उनले बताइन्। दसैंमा सहकर्मी, बिरामीसँग दसैं मनाउँदा उनी दुखी होइन, खुशी नै छिन्। अस्पतालमा बिरामी र सहकर्मीसँग दसैं मनाउनु उनलाई फरक अनुभव लाग्छ।
कारण, ‘बिरामी उनको पहिलो प्राथमिकता हो र अस्पताल दोस्रो घर।’
‘यो पेशामा आउँदा बिरामी मेरो पहिलो प्राथमिकता हुन्छ भनेर भन्ने आत्मसात गरेर नै आएकी हुँ।’ उनले भनिन्, ‘हामी अग्रपंक्तिमा खटेर काम गर्नेहरु दसैं तिहार भन्न पाईदैन। अस्पताल दोस्रो घर जस्तै लाग्छ।’
दसैं बच्चामै रमाइलो
दसैं भन्ने बित्तिकै उनलाई पिङ, खसी काटेको, नयाँ कपडा, चङ्गा अनि दक्षिणा सम्झिन्छिन्। सानो हुँदा उनलाई निकै प्यारो लाग्ने पर्व थियो, दसैं। तर बढ्दो जिम्मेवारीले उनलाई दसैं पहिले जस्तो रमाइलो लाग्दैन।
‘अहिले त जिम्मेवारी धेरै भएर पनि होला। दसैं खासै रमाइलो लाग्दैन।’ उनले भनिन्, ‘दसैं त बच्चामै रमाइलो। अझ बिहेभन्दा अघिको दसैं रमाइलो।’
बच्चामा पिङ खेल्न टाढा टाढा पुग्ने उनी २० वर्ष भयो अहिले पिङ नखेलेको। दसैंको रौनकता समयसँगै हराउँदै गएको हो की भन्ने उनी बताउँछिन्। मनाउने शैली, रमाइलो गर्ने तरिकामा उनले परिवर्तन पाएकी छिन्। दसैंको वास्तविक रौनकता उनलाई सहरमा होइन, गाउँमा बढी लाग्छ। ‘चाडपर्व भनेको गाउँमै रमाइलो हुने रहेछ। आफ्नो गाउँ ठाउँमा दसैंको रौनक नै बेग्लै हुन्छ।’ उनले भनिन्।
दसैंलाई भड्किलो तरिकाले भन्दा पनि सामान्य तरिकाले आफ्नो क्षमता अनुसार मनाउनुपर्ने उनको बुझाई छ।
दोहोरी जिम्मेवारी, बुझ्ने परिवार
अस्पतालको ड्युटीसँगै पारिवारिक जिम्मेवारीलाई काँधमा बोकेकी छिन्, उनले। आमा र बुवा दुवैको दोहोरो भूमिका उनले निभाउनुपर्छ ।
परिवारमा एक छोरा र छोरी।सानैदेखि अस्पतालमा खटेर काम गरेको उनको सन्तानले पनि देखेका छन्। सुरुवाती दिनमा टीकाको दिनमा आमालाई नदेख्दा उनीहरु दुखि हुन्थे। खल्लो मान्थे। अनि गुनासो पनि गर्थे। तर समय बित्दै जाँदा छोरा र छोरीले पनि ड्युटीकोा अवस्था बुझेको उनले बताइन्।
‘अहिले त मेरो बच्चाहरुलाई बानी परिसक्यो। यो दिनमा ड्युटी हुन्छ, यो समयमा आउनु हुन्छ, यो समयमा टीका लगाउँछौ भने उनीहरुले बुझिसके।’ उनले भनिन्।
दसैंमा उनको ड्युटी बिहान ८ बजेदेखि २ बजेसम्म परेको छ। तर अस्पताल आउनु अघि छोरा छोरीको लागि खाना बनाएर आउनुपर्छ। यस वर्षको दसैं ड्युटी सकेर भएपनि मनाउने उनको योजना छ।
‘टीकाको दिन बिहानै सबै खाना बनाएर आउँछु। ड्युटी सकेपछि टीका लगाउने, खाने अनि बच्चाहरुलाई घुमाउन लैजाने योजना बनाएकी छु’ उनले भनिन्।