नीर बहादुर वर्ष ३८। नीरकी जिवन संगिनी कान्ती ३३ वर्ष उनीहरु एक आपसमा वैवाहिक सम्बन्धमा बाँधिएको पूरा ७ वर्ष भयो। त्यसमध्ये सुरुका दुई वर्ष उनीहरु आफ्नो अध्ययन पुरा गर्ने इराधा राखेर सन्तान उत्पादन गर्न चाहान्थे। उच्च शिक्षा समाप्त भएपछि अरु एक वर्ष दुवै दम्पतीले कामको खोजीमै लगाउनु पर्यो। पैत्रीक सम्पतीको भरमा सन्तान हुर्काउन सक्ने हिम्मत र चाहना तिनीहरुले गरेनन्। 'बाबु आमा हुने रहर मेटाैंला पहिला काम त पाउँ' दुवैको एकमत भयो। सिङगै वर्ष लगाएर काम पाइयो। अब आर्थिक रुपमा केही सबल हुन थाले। सन्तानको चाहनाले उग्ररुप लिदै गयो। तर एक दुई गर्दै ४ वर्ष बिते। पहिलो वर्ष प्रत्येक महिना यो पाली त पक्कै होला भन्दै आशामै बित्यो। बाँकी ३ वर्ष चिकित्सकहरुको सल्लाह बमोजिम संपूर्ण परीक्षण गर्ने र औषधि खाँदैमा बित्यो। पाएको दुबैको कामको आर्जनले नपुगेर कुनै समय त बाबु आमासँग पनि पैसा माग्दै हिँडे। कान्तीले माइतीले दिएको गहना नभनेर केही बेच्न समेत भ्याइन्। तर भाबी सन्तानले भ्रूणको रुपमा बाससम्म बसेको अनुभूति समेत कान्तीले गर्न पाइनन्। यस्तो भूमिका लिएर आइपुगे उनी र कान्ती मेरो क्लिनिकमा। थिए उनीहरुसँग महाभारतका ठेली जस्तै दुई ठूला विभिन्न विषयका चिकित्सक, आयुर्वेद र होमेवोपाथीका डाक्टरहरुका पुर्जा।
रुक्तसन्चारको नियम अनुसार कुनै अङ्गमा प्रवेश गरेको रगतले ल्याएको अक्सिजन, खानेकुरा, हर्मोनहरुको, स्थानान्तर गरिसकेपछि त्यो ठाउँबाट कार्वनडाइअक्साइड र विभिन्न उपपाचनका उत्पादनलाई (metabolic products) लैजाने काम गर्दछ। सामान्य अवस्थामा यो प्रकृया निकै सहज तरिकाले चल्दछ। तर कुनै अङ्गका रक्तनलीहरु फुलेका खण्डमा यसमा केही विघ्न बाधा उत्पन्न हुन थाल्छन्। शुक्रग्रन्थीमा जाने रगतका नशाले पुर्याएको रगतले फेरि फर्किनु पर्दा यदि कसैमा सिरा फुलेको अवस्थामा भए समस्या उत्पन्न हुन्छ। यसरी रक्तनशा फुल्नु विकृतिको अवस्था मानिन्छ। शुक्रग्रन्थिको नगिच र माथि रक्तनशाको जालो हुन्छ। यो फुलेको अवस्थालाई भेरीकोसिल भन्ने चलन छ। सामान्य अवस्थामा केही उभिँदा वा कन्दा ती फुल्ने गर्दछन्। यो रोगको मूख्य कारण नसामा भएको भल्भको दुर्बलता हो। किशोर अवस्थामा यो विकृतिको विकास हुन्छ। १५ प्रतिशत भन्दा बढीमा यो रोग देखा परेपनि सबैले आफ्ना अभिभावकलाई यसबारे भन्ने गर्दैेनन्। किशोर अवस्थामा शरीरमा विभिन्न फरक आउने भएकाले पनि कोही यो प्राकृतिक हो भनेर पनि लिने गर्दछन्। तर जब व्यक्ति अण्डकोषमा पीडा अनुभव गर्दछ तब मात्र यसबारे चासो राख्ने पनि हुन्छ।
भेरीकोसील हुने सबैका लागि यो रोगले ठूलो अर्थ राख्दैन। तर जसलाई यो व्याधिले पीडा महसुस गराउँछ उनीहरुको ध्यान यो रोगले तान्ने गर्दछ। सबैभन्दा बढी महत्व यो रोगमा ती बिरामीको निम्ति हुन्छ जसको वीर्यमा शुक्रकिटको संख्यामा कमी र गतिमा पूर्णता हुँदैन। त्यस्ता पुरुष सन्तान उत्पादन गर्न सकिरहेका छैनन् भने उपचारको आवस्यकता हुन्छ। यो व्याधि पुरुष बाँझोपनको एउटा उपचार हुनसक्ने रोगमा गनिन्छ। तर सफल परिणामको निम्ति ज्यादै कम शुक्रकीटको संख्या, गतिशीलतामा थोरै मात्र भएको अवस्था कुर्नु हुँदैन। शुक्रग्रन्थि ज्यादै नरम र सानो हुनथाले पछि शल्यकृया गर्दा त्यस्ता बिरामीको परिणाम त्यति राम्रो पाउने सम्भावना न्यून हुँदै जान्छ।
यद्यपी भेरीकोसील हुने सबैले बाबु हुन सक्दैनन् भन्ने तथ्याङ्क छैन। तर यो व्याधिलाई बेवास्ता गरेर विभिन्न औषधि सेवन गरेर सन्तानको प्रतिक्षामा बस्नु उत्तम निर्णय हुन सक्दैन। पछिल्लो समयमा अध्ययनको निम्ति धेरै वर्ष बिताउनु पर्ने हुन्छ। खास गरेर उच्च शिक्षाका तहहरु थुप्रैछन् पीएचडी जस्ता उपाधी प्राप्त गर्न धेरै देशमा पाँचवर्षको समयनै दिइएको हुन्छ। त्यो अध्ययन र अनुसन्धान समाप्त गर्दा पनि सबैले सधै तुरुन्त काम पाउँछन् भन्ने यकिन कही छैन। काम पाएपछि आफ्नो पेशामा आफ्नो अनुभव बटुलेर कुनै स्थान बनाउन जेलसम्म पर्खेर मात्र सन्तानबारे सोच्ने हो भने त्यस्ले परिवारमा दुर्घटना निम्त्याउने संभावना उच्च हुनजान्छ। सुरुमै बरु अठोट गर्न सायद उपयुक्त हुन्छ कि सन्तानको चाहाना राख्ने वा त्यसलाई खासै महत्व नदिने। मेरो अनुभव भन्छ सन्तानको चाहाना राखेपनि वा त्यसलाई महत्व नदिएपनि जीवन बिना संघर्ष हुँदैन।
जस्तै जीवन बाँचेपनि त्यो कुनै न कुनै रुपमा संघर्षले भरिएको हुन्छ। संघर्ष नै जीवनको सौन्दर्य र जीवन्तताको उदाहरण हो। हामी आफूलाई जीवित अनुभव गर्दछौं जब संघर्षरत हुन्छौं। संघर्ष बिनाको जीवनको नाम हो अन्त मृत्यू। हुनत मृत्यु पनि संघर्षमै हुन्छ। तर त्यसपछि शरीरले जीवनको सौन्दर्य प्रदर्शन गर्नु पर्दैन। त्यो अर्कै रुपमा हुन्छ। त्यताको संघर्ष मृतसंसारको रुपमा फरक तरिकाले सन्चालन हुन्छ। त्यहाँ चेतनाको कुनै आवस्यकता पर्दैन। त्यस्तै पर्दैन जरुरत आत्मा सन्तुष्टिको। न पर्छ रुनु हाँस्नु र मुस्कुराउनुको जरुरत। छ त्यहाँ न अतीतको समरण, वर्तमानको किचलो वा भविष्यको चिन्ता। पूर्णताको त्यहाँ कुनै बनावटी लेखाजोखा छैन न छ सुन्दरता वा कुरुपताको झन्झट। मायाको डोरीले कतै कसैलाई बाँधेको हुन्न। पाएको वा गुमाएको न कुनै मतलब छ। समय बित्छ जीवन रहित सम्पूर्ण पिण्डको बिलय पञ्चभूतमा हुन्छ। कहीँ कतै कुनै चिन्हनै नरहने गरी सबै बिलाउँछ।
सन्तान हुर्काउदा र उनीहरु संगै बाँकी जिवन बाच्नको संघर्षमा बिताउदाको भिन्न मिठास र पीडा छ। बिना पीडाको मिठास केहि कल्पना गर्छ भने त्यो अलौकिक घटना चाहनामात्र सावित हुनेछ। सन्तान उत्पादनको संघर्षलाई मिठास र पीडाको सन्तुलनमा राख्ने हो भने सर्ब प्रथम उनीहरुलाई आफ्नो अधिन र स्वामित्व नसंझेर पूर्ण स्वतन्त्र एकाइ सोच्न सक्ने क्षमता आफूमा बाबु आमाले विकाश गर्नु पर्दछ। गर्न नसकेको आफ्नो कार्य उनीहरुले गरिदिउन भनेर जेलनेलमा ती परे भने कसरी तपाईहरुबाट टाढिने त्यस्को निम्ति ती संघर्ष होइन आन्दोलन गर्न बाध्य हुनेछन्। के तपाई परिवार भित्र जिहाद धार्मिक युद्ध चाहनु हुन्छ? आमाले बच्चा जन्माउँछिन वाध्यता वा रहर इत्यादिले बाबुसंगको आनन्दको परिणाम स्वरुप। तपाईहरु आफूले जानेका बुझेका धेरै कुरा, ज्ञान उनीहरुलाई दिन चाहनु हुन्छ। तर यदी ती यसको खिलापमा छन् भने कर नगर्नुस ती आफ्नै ज्ञान र भिन्नै तरिकाले बोटल्न चाहन्छन्। ती आज्ञान वा ज्ञान जुन कुरले भरिपूर्ण भए पनि त्यसैमा रमाउन खोजछन्। हामी सबैले गरेको त्यही हो यद्यपी ठानेको मात्र उल्टो हो।
शुक्रग्रन्थि अण्डाशयमा पेट बाहिर हुनुको रहस्य बुझ्नसके भेरीकोसीलले पुरुषलाई के कति नोक्सान पुर्याउन सक्छ, त्यो अनुमान गर्न सकिन्छ। पेट भित्र वा शरीरको कुनैपनि भागमा शुक्रग्रन्थि भएका खण्डमा ती उच्च तापक्रमका कारण पुरुष हर्मोन टेस्टोस्टेरोन उत्पादन गर्न सक्दैनन्। फलस्वरुप शुक्रकीटको उत्पादन तथा सम्पूर्ण मांसपेशीको शक्तिमा नराम्रो असर पर्छ। त्यस्तो अवस्था आएर पुरुष वंशबृद्धि क्षमतानै नष्ट नहोस भन्न नै शुक्रग्रन्थीहरु अण्डाशयमा शरीरबाहिर छन्। भेरीकोसीलले तापक्रम व्यवस्थापनमा अवरोध पुर्याएर शुक्रग्रन्थिको कार्यमा नराम्रो असर पु¥याएका खण्डमा उपचार अनिवार्य हुन्छ। शुक्रग्रन्थिमा रगत लैजाने नसालाई ग्रन्थिबाट रगत फर्काउने नसाहरुको जालोले बेरेको हुन्छ। त्यसको मुख्य उध्येश्य ग्रन्थिमा आउने रगतको तापक्रम त्यहाँ पुग्नु अगाडिनै कम गर्नु हो। तर भेरीकोसीलले फुलेको नसाहरुले तापक्रम घटाउने प्रकृयालाई सफल हुन नदिएर अण्डकोषको तापक्रम केही उच्च बनाउन मद्दत गर्दछ। फलस्वरुप शुक्रकीट बन्नमा यसले नकारात्म असर गर्दछ र शुक्रग्रन्थिको साइज पनि घटाउँदछ। लामो समयसम्मको सहवासमा पनि सन्तान उत्पादन गर्न नसक्ने जोडीमा ४० प्रतिशतसम्म भेरीकोसीले पाइने गरेको छ।
अण्डकोषभित्र शुक्रग्रन्थिबाट रगत लैजाने नसाहरु फुलेको, तन्केको र बाँङ्गो टिङ्गो भए प्रत्येक पुरुषले भेरीकोसील भएछ भनेर आफ्नै रोग निदान गर्न सक्दछन्। मेरा पत्रपत्रीकामा निस्केका लेख पढेरै थुप्रै बाँझोपनबाट बर्षौ पीडित तथा अविवाहित पुरुषहरु पनि मलाई भेट्न आएका छन्। यो रोग निदानको एउटा सुन्दर पक्ष नै यही हो। त्यसैले स्कूलमा विद्यार्थीहरुलाई यो विषयमा सामान्य ज्ञान दिलाउन सकेका खण्डमा यो व्याधिको निदान समयमै हुन सक्छ। यसतर्फ पाठ्यक्रम बनाउँदा विशेष ध्यानदिनु औधि महत्वपूर्ण छ। रोग निदान भएका खण्डमा कसको बिस्त्रित जाँच तथा उपचार गर्नुपर्छ त्यो समयमै हुन सक्दछ।
वंशबृद्धि सबै जीवात्माको एउटा अति महत्वपूर्ण लक्ष हो। यो लक्षमा कोहि पनि आफूलाई असफल भएको सहन सक्दैन। यद्यपी प्रकृतिमा एक व्यक्तिको भन्दा पनि कसरी संपूर्ण मानव जाती नै आफ्नो विस्तार गर्न सक्छ भन्ने कुराले सायद बढी महत्व राख्छ। तर प्रत्येक व्यक्ति र सहवासी जोडिको निम्ति भने उनीहरु आफ्नो सन्तान उत्पादन गर्न सक्छन् वा सक्दैनन् भन्ने यथार्थताले नै गौरब राख्ने गर्दछ। यसरी यो व्यक्तिगत समस्या भएपनि यसबाट सहवासी जोडीमा पर्ने असर भने ठूलो र उग्ररुपधारण गर्न सक्छ। परिवार भित्र यो समस्याको असर निकै फराकिलो हुन्छ। सबैभन्दा बृहत असर सहवासी जोडीमै परेको देखिएपनि परिवारमा पर्ने त्यसको असरले मानसिक अवस्थामा सोझो हस्तक्षेप तथा बाधा पर्ने हुन सक्छ।
यौवनावस्थापछि २० प्रतिशत पुरुषमा भेरीकोसील देखापर्छ र करिब एकतिहाईमा दुवैतिर। यो रोगबाट ग्रस्त पुरुषमध्ये धेरैमा बाँझोपन पनि देखापर्न सक्छ। तर भेरीकोसील उपचार हुन सक्ने बाँझोपनमा गनिन्छ। यद्यपी सतप्रतिशत सबै शल्य उपचार भएका बिरामीमा केही समय भित्रै स्वतःस्फूर्त गर्भधारण भइहाल्छ भन्ने यकिन हुन्न। जबकी केही भेरीकोसील भएकै पुरुषबाट पनि स्त्री गर्भवती हुने पाइएको छ। शुक्रग्रन्थिबाट रगत लैजाने फुलेका नसाहरु बाँध्ने र काट्ने शल्यकृया गरीएका बिरामीहरुको अध्ययन पनि त्यति भरपर्दौ सधै देखिँदैन।
गर्भाधारणमा पार्न सक्ने नराम्रो असर नै भेरीकोसीलको सबै भन्दा चिन्ताजनक खतरापूर्ण प्रभाव हो। पुरुषले अनुभव गर्ने भारी वा दर्द भन्दा बाँझोपनको असर चौतर्फी हुन्छ। अझै पनि सबै वैज्ञानिक तथा शल्य चिकित्सकहरु कुन अवस्थामा भेरीकोसीलको शल्यकृया गर्नेभन्ने एउटा राय राख्दैनन्। शुक्रकीटको संख्यात्मक तथा गुणात्मक खराबी देखा परेमा र सन्तान उत्पादनमा समस्या भइरहेको अवस्थामा शल्यकृया गरिन्छ। तर यदि युवक अझै सन्तान अत्पादनबारे योजना बनाउने अवस्थामा नभए यदि शुक्र ग्रन्थिहरुको साइज २० प्रतिशतले सानो ठूलो भए शल्यकृया गर्ने निर्णय लिन पर्दछ।
यद्यापी बाँझोपन शल्यकृयाको निम्ति सबैले सहमती गरेको यथार्थता हो। हाल शुक्रग्रन्थिको साइजमा २० प्रतिशतले फरक पनि यसमा गनिएको छ। त्यो बाहेक भेरीकोसीलले पीडा अनुभव गर्ने पुरुष, शुक्रग्रन्थिको अर्वुदको अवस्थामा पनि शल्यकृया गर्नु पर्छ। त्यस्तै सन्तानको योजना नगरेका तर शुक्रकीटको संख्या तथा गुणात्मक दृष्टिले असर परेका पुरुषले पनि शल्यउपचार गराउनु उपयुक्त हुन्छ।
भेरीकोसील सामान्यतया दुई प्रकारका हुन्छन्। स्वस्फुरित भेरीकोसील बढी देब्रेतिर (९० प्रतिशत) प्राय जवान पुरुषमा देखा पर्दछ। यो प्रकारको नसा फुल्ने समस्या उभिएको वा पल्टेको बेलामा पेट फुलाएर कन्दा देखा पर्दछ। होइन भने पल्टिँदा फुलेका नशा हराउँछन्। दुबैतिर यो रोग १० प्रतिशत देखा पर्दछ। दोस्रो प्रकारको भेरीकोसील प्राय अधबैँसे पुरुषमा देखा पर्दछ। यो कुनै बाहिरी अंग (मिर्गौला, कलेजो, पेटको पछाडिको भाग वा फियो) को अर्वुद वा त्यस्तै ती अंगको साइज ज्यादै बढेको अवस्थामा शुक्रग्रन्थिको नसालाई थिचेर हुन्छ। यस्तो द्वितीय भेरीकोसीलमा फुलेका रक्तनसा उठ्दा वा पल्टँदा हराउने हुँदैनन्। द्वितीय प्रकार प्रायः एकतर्फ मात्र देखा पर्दछ। अरु रोगको एउटा लक्षणको रुपमा देखा पर्ने द्वितीय प्रकारलाई शुक्रकीटको संख्यात्मक तथा गुणात्मक असर पार्न सक्ने रुपमा भन्दा पनि अरु रोग निवारणको रुपमा बढी महत्वदिनु पर्दछ। प्रथम प्रकारको दाँजोमा दोस्रो प्रकार ज्यादै कम देखा पर्ने हुन्छ। तर यसबारेपनि सबैले हेक्का राख्न सके समयमै बढी समस्यामूलक रोगको खतरा सङ्केत थाहा पाउन सक्छन्। यो खतरा सङ्केतको आधारमा जाँच्नुपर्ने ठाउँपनि पहिचान हुन्छ। मिर्गौलाको क्यान्सरमा पिसाबमा रक्तश्राब हुने र भेरीकोसील पनि हुन सक्दछ। त्यसैले सन्तानको रहर पुरा गरीसकेका पुरुषहरुमा भेरीकोसील देखा परे जो पहिला कहिले पनि पहिचान भएको थिएन त्यसलाई झनै ठूलो महत्व दिएर कारणबारे एकिन गर्नु पर्दछ।
फेरि एकपटक स्वस्फुरीत भेरीकोसीलले पार्ने असर बारेनै समिक्षा गरौं। यो रोगमा बाँझोपन हुनाको एउटा मूख्य कारण शुक्रग्रन्थिको तापक्रम ०.८ प्रतिशतले बढी हुनु हो। फुलेको रक्त नशामा दुबैतिर र सुस्त रक्तसंचार हुने हुँदा शुक्र ग्रन्थिलाई चिस्याउने क्रियामा आघात पुग्दछ। बाँझोपन विकास गर्नमा समयमै अक्सिजन र अरु महत्वपूर्ण तत्वहरुबाट बिहिन भएको रगत अण्डकोषबाट पुरै मात्रामा नफर्कने भएकोले अक्सिजनको कमी हुन्छ। अक्सिजनको कमीले ल्याउने तनावले प्रमुख रुपमा पुरुष हर्मोन उत्पादन गर्ने अन्तरालीय लाइडिग कोषलाई नराम्रो असर गर्छन्। फलस्वरुप पुरुसत्व कायम गर्ने हर्मोनको मात्रा घटेर शुक्रकीट उत्पादन र त्यसको प्राकृतिक विकासमा कमी ल्याउन सक्छ। यो रोग लामोसमय उपचार विना भए शुक्राशयको तौल कम तथा आकार पनि सानो हुन्छ।
सबै रोगमा निदान एउटा महत्वपूर्ण भाग हो यद्यपी सामान्य जानकारी भएपछि धेरै पुरुष आफ्नो रोग निदान आफै गरेर चिकित्सक कहाँ प्रस्तुत हुन सक्छन्। यसको निम्ति विद्यार्थी जीवन देखिनै यो समस्या बारे खुलेर केही जानकारी दिनु उपयुक्त हुन्छ। त्यसो भन्दैमा पूर्ण उपचारको निम्ति त्यो स्तरको रोग निदानले पुग्छ भन्ने कदापी होइन। चिकित्सकले जाँचेपछि कुन युवक वा पुरुषको उपचार गर्नुपर्दछ त्यसको लेखाजोखा गरेर विभिन्न परीक्षणहरु गर्नु पर्दछ। चिकित्सकले उपयुक्त वातावरणमा बसेर बिरामीसँग उसको सबै कुरा सुन्नपर्ने हुन्छ। अण्डकोषमा तातो अनुभूति, पीडा र गरुङ्गो तथा भारी अनुभव भएका खण्डमा कहिले देखि? बिस्तारै विकसीत भयो वा छोटो समयमा एक्कासी? सुरुभएको रोग त्यही अवस्थामा छ कि बढ्दैछ? हिँड्दा उठेको अवस्थामा वा के पल्टिएको समयमा पनि पीडा वा भारीपन अनुभव हुन्छ? यी सबै प्रश्नका उत्तरले रोग निदान र त्यसको प्रकार ठम्याउन ठूलो योगदान पुर्याउँछन्। उठेको अवस्थामा सक्दो लामो सास भित्र तानेर नाक मुख बन्दगरेर कन्न लगाएपछि फुलेमा नसा कतिसम्म ठूला, बाङ्गा टिङ्गा हुन्छन् त्यो औलाले स्पर्श गरेर सहजै अनुभव गर्न सकिन्छ।
शुक्रग्रन्थिको साइज र वीर्य जाँच गरेर यो रोगले कति नराम्रो असर गरेको छ त्यसको यकिन गरिन्छ। सन्तान उत्पादन गर्न नसक्ने पुरुष वा शल्यउपचार गर्नु अगाडि यी दुवै परीक्षण गर्नु पर्दछ। त्यस्तै शल्यउपचारको ३ महीनापछि वीर्य जाँच गरेर शुक्रकीटमा संख्यात्मक तथा गुणात्मक फरक बारे जानकारी लिइन्छ। एक पटकको सम्पूर्ण वीर्य स्खलनमा चारकरोड भन्दा कम गतिपूर्ण शुक्रकीट भए पुरुषलाई बाँझोपनको कारण मान्नु पर्दछ। वास्तवमा गर्भधारणको निम्ति चाहिने शुव्रmकीट संख्या एउटा मात्र हो। तर चार करोड भन्दा कम हुँदा पनि किन निषेचन(Fertilization) हुनमा समस्या? विज्ञानले एउटा भर पर्दो उत्तर दिन सकेको छैन। आध्यात्ममा विश्वास गर्नेहरु यसलाई अर्को तरिकाले जवाफ देलान। तर वास्तविकता अज्ञानतालाई भ्रममा राख्ने प्रयत्न र ढाक छोपको खेल मात्र हो।
रंगीन डोपलर जाँच खासगरेर प्रथम श्रेणीको र त्यसको भेरीकोसील स्तर थाहापाउन मद्दत गर्दछ। औलाले स्पर्श हुने वा आँखाले नै देखिने फुलेका रक्त नशाको रंगीन डोप्लर गरेर उल्टो दिसामा रक्तसञ्चार हुने नसाको फुलेको अवस्थाको नाप थाहा हुन्छ। दोश्रो प्रकारको भेरीकोसीलमा पेटको अल्ट्रासोनोग्राफी मात्रै होइन कि सीटीस्क्यान, एमआरआइ, विभिन्न रक्त परीक्षण, मूत्र जाँच, छातीको एक्सरे इत्यादी पनि गर्नुपर्ने हुनसक्छ। रोग निदानको मूख्य उद्देश्यनै त्यसको उपचार गर्नु पर्ने अवस्था छ वा छैन भनि यकिन गर्नु हो। स्वस्फुरित भेरीकोसीलको शल्यउपचार प्रायजसो तीन निम्न अवस्थामा गरिन्छ। एक, यो रोग बाँझोपनको कारण भएमा। दोश्रो, शुक्रग्रन्थिको साइज एक आपसमा २० प्रतिशत वा बढी फरक परेमा। तेश्रो, अण्डकोषमा ज्यादै पीडा महसुस गरेको खण्डमा।
उल्लेखित जुनसुकै कारणको निम्ति शल्यउपचार गराउनु परेपनि शल्यकृया उस्तै हुन्छ। उपचारको उद्देश्य फुलेका रक्तनशाहरुमा रक्तसंचारको बेग सामान्य भन्दा कम नहोस भन्ने हेतुले उल्टो दिसातिर बहने रगतको बाटो बन्द गरिन्छ। यो उपलब्ध गर्न विभिन्न तरिकाहरु अपनाउन सकिन्छ। सबै शल्यविधिका आ–आफ्नै फाइदा बेफाइदा र जटिल परिस्थिति तथा उल्झन हुन सक्छन्। पछिल्लो समयमा काछमुनि नशबन्धन सुक्ष्मदर्शी यन्त्रको सहयोगमा गर्ने तथा ल्याप्रोस्कोपीक तरिकाबाट गरिने शल्यकृया बढी प्रचलन भएर आएका छन्।
पालोमो (Palomo) शल्यकृया– यो विधिमा पेटभित्रका झिल्लिको पछाडितिर गएर प्राय शुक्र ग्रन्थितिर जाने सबै नसालाई दुईतिरबाट बाध्ने र बीचको एक भाग काटेर निकालिन्छ। यो विधिको नकारात्मक असर भनेको करिब ७ प्रतिशत बिरामीमा हाइड्रोसिल (शुक्रग्रन्थिको वरिपरिको थैलीभित्र पानी तरल पदार्थ जम्ने रोग) हुन्छ। त्यो बाहेक भेरीकोसील दोहोरीने सम्भावना १५ प्रतिशत हुन्छ। यो विधिमा ल्याप्रोस्कोपीक तरिका र काछ मुनिको प्रवेश मार्ग भन्दा घाउको खत केही ठूलो हुन्छ। तर पालोमो विधिमा अधिकतम सर्जनहरुले छोटो समयमा विशेषज्ञता तथा दक्षता हाँसिल गर्न संभव हुन्छ। यो विधिमा प्रयोग हुने औजार पनि सामान्य, कम खर्चिलो र लामो समय प्रयोगमा ल्याउन मिल्ने खालका हुन्छन्।
काछमुनि प्रवेश मार्ग बनाएर सुक्ष्मदर्शक यन्त्रको सहयोगले गरिने नसबन्धन पछिल्लो समयमा सम्भब भएका धेरै अस्पतालहरुमा अभ्यास गरिन्छ। काछको तल प्रवेश गरेर सोझै शुक्रग्रन्थि अड्काउने नलीमा -Spermatic Cord_ पहुँच राखेर सुक्ष्मदर्शी उपकरणको सहयोगबाट शुक्रग्रन्थिमा रगत लैजाने फुलेका नशाहरु बाँध्ने र काट्ने कार्य गरिन्छ। यो शल्यकृयामा लिम्फ प्रवाहगर्ने नसा सुरक्षित राखिन्छ। त्यसैले यो विधिमा पछि गएर हाइड्रोशिल प्राय हुँदैन र फेरि रोग दोहोरिने सम्भावना न्यून (२ प्रतिशत भित्रै) रहन्छ। भविष्यमा यो रोग दोहोरिने सम्भावना न्यून हुनुमा अर्को एउटा महत्वपूर्ण पक्ष छ गुबरनेकुल धमनी (Gubernecular Veins) पनि बाँध्नु हो।
भविष्यको पुरुष भ्रूणमा एउटा यस्तो रज्जु (Gubernecuum) उत्पन्न हुन्छ जसले शुक्रग्रन्थि र अण्डकोष जोड्ने एउटा मार्ग निर्देशकको रुपमा कार्य गरेर बिस्तारै शुक्रग्रन्थिलाई अण्डकोषमा पुग्न मद्दत गर्दछ। त्यसैले काछ मुनिको नशबन्धनको घाउ शुक्रग्रन्थिको आयतन अनुरुप केही ठूलो वा सानो हुनसक्छ। किनकि गुबरनेकुलर धमनी भेटाउन शुक्रग्रन्थिलाई घाउबाट बाहिर निकालेर कार्य गर्नुपर्ने हुन्छ। काछ मुनिको नसबन्धनमा यस्ता विभिन्न कार्य गरिने र शल्यपरिणाम पनि राम्रो पाइनेहुँदा यो विधि प्राथमिकतामा हुनुका साथै बढी मान्यता पाएकोमा पर्छ।
ल्याप्रोस्कोपिक विधिबाट शल्यउपचार गर्दा पेटको झिल्ली पछाडीबाट पालोमो तरिकामा जस्तै भित्री शुक्रनशा (Internal Spermatic Veins) भित्री बङ्क्षणीय कुण्डल (Internal Inguinal Ring) को स्तरमै बाँध्ने कार्य गरिन्छ। यस्को के फाइदा छ भने त्यो स्थानतिर रक्तनशा धमनी एउटा वा बढीमा दुई मात्र मोटो हुन्छ। ल्याप्रोस्कोपिक विधिको थप फाइदा त्यो पनि छ कि सबै देखिने नशाहरु अभिवर्दन गरिएका (Magnified) ठूला पारिएका हुन्छन्। त्यसैले लिम्फ नसा पनि धेरै हदसम्म चिन्न सकिन्छ। यो शल्यविभिका नकारात्मक असर प्राय पालोमो सँग मेल खान्छन्। तर हाइड्रोसिल देखा पर्ने कम हुन्छ भने फेरि रोग देखिने सम्भावना प्राय १० प्रतिशतमा नै सिमित रहन्छ। तर शल्यकृया भने अचेत गराएरै गर्नुपर्ने बाध्यता हुन्छ। अप्रेशन पछिको समयमा अनुभव गर्ने पीडा भने करिब काछ मुनिको नसबन्धनसँग मेल खान्छ। जटिल आधुनिक औजारको प्रयोग त्यस्को उच्च मूल्य विशेषज्ञ हुन आवस्यक बढी समय जस्ता कारणले यो विधिले उच्च प्राथमिकता हाँसिल गरेको देखिँदैन।
जसलाई बाँझोपनले असर गरेको छ उस्को निमित भेरीकोसीलको शल्यउपचार भनेको समस्या समाधानको एउटा महत्वपूर्ण फड्को हो। तर त्यो भन्दैमा अबत समस्या समाधानै भइसक्यो भन्ने होइन। सर्वप्रथम शल्यकृयाको ३ महिना पछि बिरामीको वीर्य जाँचेर त्यसमा के कति संख्यात्मक तथा गुणात्मक परिवर्तन आयो हेर्नु पर्दछ। कहिले तीन महिना नपुग्दै युगल जोडि आएर खुसी खबर सुनाउन थाल्छन्। महिनावारी रुकेको एक महिना भयो भन्दै पुरुष खुसि खबरले आफ्नो अनुहार पुलकित पार्छ। श्रीमती भने सँगै बसेर लजाउँदै स्त्रीरोग विशेषज्ञको प्रेषक हुन अनुरोध गर्छिन्। भन्नुस कति गौरबको क्षण शल्य चिकित्ससको निम्ति! सालाखाला ७० प्रतिशत बिरामीमा शुक्रकीटको संख्या तथा गतिमा सुधार देखिन्छ। त्यसैले भेरिकोसिलले बाँझोपन गरेको रहेछ भने त्यसको शल्यकृया पछि सन्तानको रहर पुर्याउन सकिने सम्भावना उच्च हुने हुँदा यो उपचारलाई समयमै अपनाउनु उपयुक्त हुन्छ।
४४ प्रतिशतसम्म एक बर्ष भित्र गर्भवती भएको आँकडामा देखा पर्दछ। दुईबर्षमा ७० प्रतिशत त्यो शुभ अवसर अनुभूति गर्नेमौका पाएको देखिएको छ। शल्यकृया अगाडि वीर्यमा शुक्रकीट हुँदै नभएका ५० प्रतिशत बिरामीमा शुक्रकिट देखा परेको आँकडा रहेको छ तर ज्यादै कम संख्यामा। जसको भेरिकोसिल ज्यादै ठूलो थियो ती झन छिटो उपलब्धता ग्रहण गर्दछन्। तिनीहरु माझ छिटो गर्भरहन जान्छ। जुन दम्पतिमा पुरुष तथा स्त्रीको उमेर कम छ ती नै छिटो सफलता हाँसिल गर्दछन्। तर शल्यउपचारपछि हाइड्रोसिल भएमा र शुक्रग्रन्थि साना भएकामा सफलता कम देखा पर्दछ। शल्यउपचार पछि पुरुषहर्मोन को रक्त स्तरमा वृद्धिपनि देखापर्दछ।
पुरुष बाँझोपन यदि भेरिकोसिल संलग्न छ भने त्यसको उपचार हुन सक्ने सम्भावना उच्च भएकाले समयमै त्यसको निवारण र व्यवस्था पनि गर्नु पर्दछ। किनकि वंशवृद्धि प्रत्येक जिवित प्राणीको प्राकृतिक चाहाना हुन्छ। प्राय सुरुमा पुरुषहरुले यसलाई प्राथमिकतामा कम राखेको देखिएपनि परिवारको आपसी सम्बन्धमा समन्वय र सुमेल कायम गर्न अनिवार्य प्रायहुन्छ। यसले खाली दम्पतीलाई मात्र होइन सम्पूर्ण परिवार, पडौसी तथा साथीभाइहरुमा समेत विभिन्न टिका टिप्पणी गर्ने चलन अझै पनि हाम्रो समाज र संस्कृतिमा विद्यमान रहेको छ। यद्यपी फेरिदो सामाजिक पृष्ठभूमिमा सबै दम्पतिले वंशवृद्धिलाई उत्तिकै प्राथमिकतामा रख्छन् भन्ने छैन। लामो पढाइ, ढिलो विवाह गर्ने प्रवृत्ति, दाम्पत्य जीवन सुरुभएपछि पनि उच्चशिक्षाको चाहाना रोजगारीको खोजतलास जस्ता थुप्रै कारणले परिवार सदस्यवृद्धिको महत्व ओझेलमा परेको देखिन्छ। संभवत यो प्रश्नलाई पूर्णरुपमा दम्पतिकै निर्णयमा बाहिरी खासै हस्तक्षेप बिनानै समाधान गर्न दिनु उपयुक्त हुन्छ। तरपनि पुरुष बाँझोपन र त्यसमा भेरिकोसिलको भूमिका बारे भने सामान्य जानकारी हुनु उपयुक्त हुन्छ।
नीर र कान्ती दम्पतीले हाललाई शल्यकृया गरेर सन्तान पाउने प्रयन्त नगर्ने निर्णय गरे। आर्थिक कमजोरीले उनीहरु त्यो क्रुर निर्णय लिन बाध्य भए। छ महिनाको अन्तरालमा नीर मलेसिया र कान्ती इजराइल पुगेको समाचार मैले उनीहरुकै बाबु—ससुराबाट थाहा पाए। छोरा बुहारीको ठाँउ लामो समय चुरोट र खैनी खाने बाबुले पिसाबमा रगत आयो भन्दै लिए। छोरा—बुहारीले कमाएको पैसा खर्च गर्ने पालो अब उनकै रह्यो। बिडम्बना! के म आफ्नो पेशागत जीवनको अधुरो अध्ययन उनीहरु माझ गरिरहे छु।
(लेखक मेडिकेर हस्पिटल चावहिल, काठमाडौंका वरिष्ट कन्सल्टेन्ट युरोलोजिष्ट हुन्।)