रातिको करिब एक बजिसक्यो, पटक्कै निन्द्रा लागेन। यसो मोबाइल हेरेको, कर्णालीमा स्वास्थ्यकर्मीमाथी गरेको दुर्व्यवहारको घटना बारम्बार आँखा अगाडि आइरह्यो। पुरिएको घाउ कोट्याए जस्तो भो।
सानो छँदा पढाइमा निकै अब्बल थिएँ, सधैं विद्यालयमा प्रथम हुन्थेँ। ठूलो भएर डाक्टर बनी बिरामीको सेवा गर्छु भन्ने लक्ष्य राखेँ। मेरो सपनामा सधैं घर परिवार र शिक्षकले साथ दिनुभो। पढाइको क्रममा काठमाडौं आइयो, धेरै दुःख गरियो अनि डाक्टर पढ्न भर्ना गरियो। बुवाले जेनतेन जोडेको एउटा घडेरी मलाई एमबीबीएस पढाउन बेच्नुभो। सोचेथेँ पढाइ सकेर बिरामीको सेवा गर्छु अनि पैसा कमाएर त्यही घडेरी किन्छु। घडेरीको त कुरै छोडौ, तलबले खान लाउन धौधौ भो। विवाह खर्च समेत बुवाले नै हाल्न पर्योक। पिजी पढेर बाबाको ऋण तिरौँला भनेको उल्टो त्यो पढ्न नी बुवाको पेन्सन सकाइयो। बुवाले कहिल्यै केही भन्नुभएन। सधैं मलाई बिरामीको सेवा गरेस्, देश र जनताको भलो गरेस भनेर हरेक तवरले साथ दिनुभो।
आफ्नो जिन्दगीदेखि म दिक्दार भइसकेँ। न भोक, न निन्द्रा,न परिवार,न चाडवाड, न भोज, न पैसा, केहि नभनी सधैं बिरामीको सेवामा लागिरहे। विद्यालयमा सधैं पछाडि बेञ्चमा बस्ने आज चिल्ला गाडीमा देश विदेश घुँम्दैछन। कैले काही भेट हुँदा के छ डाक्टर साहेब भन्दा जिस्काए जस्तो भान हुन्छ। आफ्नो हालत भने आधारातमा छट्पटीदै छु।
अचानक अस्पतालमा रहँदा भएका तिता पलहरु याद आयो। कहिले तपाईंले यो सेतो कोट लगाउन सुहाएन भने त कहिले ज्यानमारा भने, कहिले लुटेरा भने, कहिले कोरोना लाग्ला भनेर घरबाट निकाल्न खोजें, आखिर मेरो गल्ती के हो? निकै सिकिस्त भएर अस्पताल दौडाउँछन अनि मृत्यु भए ज्यान मारा! कालो मोसो बोकेर तोडफोड गर्न हतार गर्दछन्। अनि गल्ति नभई माफी! सहकर्मी ले केहिदिन समाजिक सञ्जालमा होहल्ला गर्दछन् अनि त्यसै सेलाउँछन। न त कैले छानबिन राम्रो हुन्छ, न दोषीलाई कारबाही, मात्र माइतीघर मण्डलामा रमिता गरिन्छ अनि फेरि शारीरिक र मानसिक यातना सुरू।
कोरोनामा पनि ज्यानको माया मारेर काम गरियो तर न त कसैले सहयोग गर्योम न त सरकारले भत्ता नै दीयोl नेताको राजनैतिक दलालीको शिकार मात्र भइयो। कसैलाई केही फरक पारेन। म मस्वास्थ्यकर्मी भएकै कारणले कोरोना लागेर आमा बित्नुभो। कसैलाई दया लागेन, सहयोग कसैले गरेन। घरमा हनहन्ती ज्वरो आएको छोरो छोडेर अरूको बच्चाको उपचार गरेँ, त्यो बेलामा बाल अधिकारको हनन भएन, बुढा बाबुआमालाई बुढेसकालमा सेवा गर्न सकिनँ, त्यसमा केही गलत भएन अनि आज आफ्नो आचारसंहितामा रहेर काम गर्दा बालअधिकारको उलंघन भनेर मुद्धा हालियो। वाह रे मेरो समाज!
तिमी, म भोकै पेट काम गर्दा कहाँ थियौ, कैयौं रात अनिधो हुँदा कहाँ थियौ! श्रीमती प्रसव पिडामा छटपटाउँदै गर्दा आफू लाचार भएर तिमीहरूको सेवामै तल्लिन हुँदा कहाँ थियौं, काखको छोरो बिरामी परेर मलाई सम्झँदा कहाँ थियौ! आज अचानक आरोप लगाउँछ?
बुवा म धेरै थाकिसकेँ। न त म असल छोरा बन्नसकेँ, न श्रीमान्, न डाक्टर, न राष्ट्रसेवि,न असल पिता। मेरो धैर्यताको बाँध फुटिसक्यो, म भित्रको राष्ट्रवाद मरिसक्यो, म भित्रको चिकित्सक र सेवाको भावना पलायन भैसक्यो। अब मात्र म पलायन हुन बाकि छ। त्यसैले अब म पनि विदेश जान्छु l त्यहाँ त श्रमको कदर हुन्छ रे, काम गर्छु, कमाउँछु, अनि इज्जतले जिउँछु। अनि हजुरलाई उतै लगेर पाल्छु। बिन्ती देश छोडदिन नभन्नु ल। यो सतिले सरापेको देशमा केही गर्न सकिनँ मैले। तसर्थ बुवा कसैले छोरो किन पलायन भयो भन्दा म भित्रको राष्ट्रवाद मर्यो भनिदिनु होला। देशले मेरो श्रमको पहिचान गरेन भन्नुहोला।