धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय (अस्पताल) सञ्चालनमा ल्याउन निःशूल्क स्वास्थ्य शिविर गरिने भएको छ।
धनगढीको राजपुरमा रहेको आयुर्वेद अस्पताललाई सञ्चालनको अवस्थामा ल्याउन असोज ११ देखि १४ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो।
सर्वसाधारण नागरिकलाई आयुर्वेद स्वास्थ्यको पहुँचमा पुगाउन र आयुर्वेद उपचार पद्धतीमा आवद्धमा गराउन शिविरको आयोजना गरिन लागेको हो। असोज ११ गतेदेखि नै चिकित्सालयले निः शुल्क ओपीडी सेवा सुचारु हुने जनाएको छ।
अस्पतालका लागि संघिय सरकारको लगानीमा भवन तयार भएपनि प्रचार–प्रसार नहुँदा बिरामी नआएपछि शिविर गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले बताए। ‘भवन तयार भईसकेको छ। अस्पतालबारे आम नागरिकलाई जानकारी छैन’ उनले भने –‘शिविर गरेपछि धेरै मानिसले जानकारी पाउने र विस्तारै अस्पतालबाट सेवा लिन आउनेको संख्या बढ्छ।’ उनले अस्पताल संचालनका लागि पहिलो चरणमा ओपीडि सेवा, ल्याव सेवा, औषधि वितरण र योग परामर्श सेवा सञ्चालनमा ल्याइने बताए।
उनले भने –‘यी सेवा शुरु भएपछि अस्पतालमा बिरामीको आकर्षण बढ्ने अपेक्षा गरेका छौं।’ उनले बिरामी नआई भवनको समुदघाटन गर्न पनि अनुचित लागेकाले पहिले केही सेवाहरु शुभारम्भ गर्ने सोचका साथ चिकित्सालय अघि बढेको बताए।
उनका अनुसार सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा समुदघाटन गर्ने तयारी रहेको छ। उनले भने ‘सम्भवत दशै अगाडिनै भवनको प्रधानमन्त्रीबाट समुदघाटन गराउने गरि हामी लागिरहेका छौं। नभए दशैंपश्चात भव्य समारोहकाबीच भवन समुदघाटन हुन्छ।’
अस्पतालका निमित्त निर्देशक डा खगेन्द्रबहादुर बमले प्राविधिका कारणले अस्पतालले प्रदान गर्नु पर्ने सेवा सञ्चालनमा ढिलाई भएको बताए। उनले भवन, उपकरण लगायतका तयारी पुरा भईसकेको बताए। उनले कर्मचारी संगठन तथा व्यवस्थापन सर्भे भई स्वीकृत भईसकेको बताए।
अन्तरंग सहितको सेवा उपलब्ध गराउने गरि सञ्चालनमा ल्याइन लागेको चिकित्सालयमा पाँच जना चिकित्सक, प्राकृतिक चिकित्सक र होमियोप्याथिक एक÷एक, कविराज चार, स्टाफ नर्स दुई, ल्याब, रेडियोग्राफर एक÷एक र अन्य गरि ३५ जना कर्मचारीको दरबन्दी रहने जनाइएको छ।
चिकित्सालयले छिट्टै आवश्यक कर्मचारीको पदपूर्ति गर्न विज्ञापन खोल्ने निमित्त निर्देशक बमले बताए। संघिय सरकारले २०६८ सालमा सुदूरपश्चिम प्रदेशमा आयुर्वेद अस्पताल सञ्चालन ल्याउने उद्देश्यसहित क्षेत्रीय आयुर्वेद अस्पताल नामाकरण गरेको थियो। २०७७ सालको प्रदेश मन्त्रीपरिषदको बैठकले प्रादेशिक आयुर्वेद चिकित्सालय नामाकरण गरि सञ्चालनको तयारी गरिएको थियो।
सो भवनको ठेक्का २०६८ सालमै अघि बढेपनि निर्माण कार्य २०७४ सालमा अघि बढाइएको थियो। वनले स्वीकृति नदिँदा भवन निर्माणको कार्य छ वर्षसम्म अघि बढ्न सकेको थिएन। १८ लाख बढी लागतमा निर्माण भएको चिकित्सालय भवनबाट अन्तरंग, बहिरंग, योग, आयुर्वेद औषधि वितरण लगायतका सेवा प्रदान गरिने छ।