धनगढी- त्रिपालभित्र काठको खटिया छ। खटियाका भित्र केही थान लत्ताकपडा, छेउछाउमा घरभित्र पाल्न राखेका कुखुरा, बाख्रा छन। दिउँसोको समयमा केटाकेटीहरुलाई कापी समात्न लगाएर पढ्न अर्याईरहेकी थिइन् भजनी नगरपालिका वडा नम्बर ५ की रीतादेवी कामी।
वर्षातको समयमा पानी जम्ने भएका कारण कालाजार, मलेरिया, डेंगु लगायतका किटजन्य रोगको संक्रमणको जोखिम रहन्छ। लामखुट्टेबाट सर्ने यी किटजन्य रोगबाट बच्न झुलको प्रयोग गर्नुपर्ने भएपनि त्रिपालमा बस्दै आएकी रीताका बालबच्चा भने झुल प्रयोग नगरि सुत्न बाध्य छन्। ‘त्रिपालभित्र सुत्दा राती लामखुट्टेले सताउने गरेको छ,’ उनले भनिन,‘सडकमा बस्दा खानाको व्यवस्था गर्न त समस्या रहेको छ। झुल कहाँबाट ल्याउने होला।’
भजनी नगरपालिका वडा नम्बर ९ सिर्जना बम तीन दिनसम्म खुल्ला आकासमा सामुदायिक बनभित्र बालबच्चासहित बसिन्। असोज ५ गते नेपाल रेडक्रस सोसाईटी कैलालीले उनलाई त्रिपाल वितरण गरेपछि वनभित्र सोही त्रिपाल लगाएर बसेकी छिन्। ‘घरभित्र नदि पसेको छ। खुल्ला आकासमा बस्नुभन्दा त्रिपाल शिर छोप्न सहारा बनेको छ,’ उनले भनिन,‘किरा, लामखुट्टे, वन्यजन्तुबाट कसरी सुरक्षित रहने भन्ने त्रास मनमा अझै छ।’
रीतादेवी र सिर्जनाजस्तै भजनी नगरपालिकामा बाढीबाट प्रभावित परिवारहरु जंगल, विद्यालय र सडकमा त्रिपालको सहारामा बसिरहेका छन। खुल्ला आकाशमा बस्नुभन्दा त्रिपालमा बसिरहेका उनीहरु स्वच्छ खानेपानी, सरसफाई किट लगायतका सेवा पाउन सकिरहेका छैनन। जसका कारण किटजन्य संक्रमणको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बाढी प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै कार्यालयमा मौज्दात रहेका झुल लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको बताए। उनले अझै अभाव रहेका कारण प्रदेश सरकारसँग माग गरिएको बताए। उनले भने–‘हामीले कुनै पनि रोगको संक्रमण बाढी प्रभावित क्षेत्रमा फैलन नदिने गरि काम गरिरहेका छौं।’
भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए। चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन। बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन्। घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल्ने गरेको छ। भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ। शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ। उनको अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन्। विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ।
त्रिपालमै बित्छ चार महिना
कैलालीको भजनी नगरपालिका ५ पुलियापुरकी रीतादेवी कामी तीन महिनादेखि बालबच्चासहित त्रिपालमुनि सडकमा बसीरहेकी छिन। हरेक वर्ष सामान्य वर्षा हुँदा समेत घरभित्र पानी पस्ने गर्दा उनको हुलाकी सडकमा बास बन्छ। बस्तीमा पानी जम्दा सुरक्षित बसोबासका लागि उनी वर्षा नसकिएसम्म हुलाकी सडकमै बस्ने गरेको बताउँछिन। ‘सडक उच्च छ। पारीबाट कान्द्रा नदि वस्तीमा पस्छ’ उनले भनिन –‘सामान्य वर्षाले पनि बस्तीमा बसोबास गरिरहेका मानिसको उठिवास गराउँछ। अनि यहि सडक सारथी बन्छ।’
असार १ गतेदेखि सडकमै बसिरहेकी उनी असोज महिना नसकिए घरभित्र बस्न सक्ने अवस्था नरहेको बताउँछिन। डोटीको बर्छेनबाट उनका बाजेहरु बाढीबाट विस्थापित भई उक्त स्थानमा आएर बसोबास गर्दै आएका थिए। उनले भनिन्, ‘बाजेहरु डोटीमा वर्षातकै कारण आएको पहिरोले विस्थापित भएपछि यहाँ आएर बसोबास गरेका हुन्। यहाँ पनि वर्षातमा घरभित्र बस्न सक्ने अवस्था भएन।’ उनले हरेक वर्ष सरकारका प्रतिनिधि, संघ÷संस्थाहरु गुनासो सुन्नका लागि मात्र आउने गरेको बताइन्। उनले भनिन्, ‘झण्डै सात वर्षदेखि हामीले वर्षातमा यही त्रिपालमा बस्नुपर्ने बाध्यता छ। सरकारका निकायहरु अनुगमन गर्न आउँछन्। गुनासो सुन्छन्। तर, समस्याको समाधानतर्फ पहल कसैले गर्दैनन्।’
भदौ ३० देखि असोज १ गतेसम्म परेको अविरल वर्षाले उनको घर डुवानमा परेको थियो। शुक्रबारसम्म सो घरभित्र गएर बस्न सक्ने अवस्था थिएन। उनले भनिन–‘तीन महिना अघि देखि आफूहरु त सडकमा भएर सुरक्षित बसोबास गरिरहेका छौं। तर, त्यहाँ भएका अन्नपात भने वर्षाले खतम गरेको छ।’
हरेक वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ। यो वर्ष पनि बस्ती पूर्णरुपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेको लालबहादुर विक भन्छन्, ‘त्रिपाल लगाएर सडकमा कसलाई मन हुन्छ र? सामान्य वर्षा हुँदा पनि घर डुबान पर्छ। बालबच्चाको हेरचाह गर्न पनि समस्या हुन्छ।’
बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको उनले दुखेसो पोखे। उनले सडकमा बस्दा स्वच्छ खानेपानी, खाद्यान्नलगायतको अभाव झेल्नु परेको बताए। उनले भने, ‘खुल्ला सडक छेउमा वन्यजन्तुको त्रास छ। बत्ती नहुँदा स्कुले बालबालिकालाई पढ्न समस्या भईरहेको छ। हामीलाई सुरक्षित स्थानमा बसोबास गराउन कसैले ध्यान दिएका छैन।’
‘असार १ गतेदेखि नै बस्तीमा पानी बसेर डुबान भएपछि हाम्रो सडकमा बास भएको हो,’ रतन कामीले भने, ‘हरेक वर्ष यस्तै समस्या हुन्छ। तर, कसैले पुनःस्थापनका बारेमा सोचेको छैन।’ डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएको स्थानीय रीतादेवी कामीले बताइन्। बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन सडकमा आएर बसेको उनको भनाइ छ।
सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रिएका मानिसले सताउने गरेको परुली कामीले दुखेसो पोखिन्। १२ वर्षदेखि डोटी र दैलेख जिल्लाबाट बसाई सरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ। आफूहरू १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको स्थानीय बताउँछन्। बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परे पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ।