काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका पाँच वटा फार्मेसी पसलमा बुधबार डोजर चलायो। अस्पतालको नक्सा विपरित रहेको भन्दै महानगरले ती फार्मेसी पसलमा डोजर चलाएको थियो।
महानगरले अस्पताल बाहिरका फार्मेसीमा डोजर चलाएपछि अहिले अस्पतालभित्र रहेको फार्मेसीमा भिड बढेको छ। अस्पताल अगाडिका फार्मेसी भत्किएपछि अस्पतालले तत्काल बिरामीलाई आवश्यक पर्ने औषधिको अभाव हुन नदिन अस्पताल फार्मेसी विस्तार गरिरहेको छ।
महानगरले २४ घण्टाको समय दिएर अस्पताल बाहिरको फार्मेसी हटाएपछि अस्पताल भित्र रहेको फार्मेसीमा चाप बढेको हो। अस्पतालले सुरुमा आकसम्कि र शल्यक्रियाका लागि आवश्यक पर्ने औषधिको अभाव हुन नदिने गरी फार्मेसीमा औषधिको सूची बनाइरहेको छ।
‘बाहिरका औषधि पसल २४ घण्टाभित्र बन्द हुँदा त्यसको असर केही त पक्कै देखिन्छ नै,’ वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले भने, ‘तर हामीले बिरामीले सहज रुपमा सबै औषधि पाउने गरी फार्मेसी विस्तार गरिरहेका छौं।’
स्वास्थ्यखबरसँगको कुराकानीमा उनले नयाँ सर्जिकल भवनमा रहेको फार्मेसीदेखि अप्रेसन थियटर अगाडि पनि फार्मेसी खोल्ने तयारी भएको जानकारी दिए। उनले मानगरले फार्मेसी भत्काएपछि अस्पताल फार्मेसी नै सबैको भरोसा बनेको पनि बताए।
अस्पताल बाहिरको फार्मेसी पसल अस्पतालल प्रशासन आफैंले पनि हटाउन खोजेको उनले जानकारी दिए। ‘हामीले आफैं पनि निश्चित समय दिएर हटाउन खोजेका थियौं,’ उनले भने, ‘तर महानगरले छिट्टै हटाइदियो। यसले हामीलाई अस्पताल भित्र फार्मेसी विस्तार गर्न अवसरसँगै चुनौती थपिएको छ।’
अस्पताला बाहिर रहेको फार्मेसी हटेपछि अस्पतालमा बिरामीमा के कस्तो असर पर्न सक्छ ? अस्पतालले कसरी औषधिको व्यवस्थापन गर्दैछ र फार्मेसीको स्तरोन्नतिका लागि योजना के छन् ? लगायत विषयमा हामीले वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
काठमाडौं महानगरपालिकाले वीर अस्पतालका फार्मेसीहरु भत्काएको छ। यसले कत्तिको असर गर्छ ?
– वीर अस्पतालको अगाडि हामीले पाँच वटा फार्मेसी पसललाई भाडामा दिएका थियौँ।
– काठमाडौं महानगरले भत्काएका ती फार्मेसी पसलहरु भत्काउने हाम्रो पनि योजना थियो।
– नयाँ भवन बनाउँदा ती पसलहरु हटाएर आफ्नौ फार्मेसी बलियो बनाउने योजना थियो।
– आजको भोलि भएकाले बिरामीलाई केही असुविधा हुने देखिन्छ।
– हामीसँग सबै व्याक अप नभएको र छेउछाउमा पनि फार्मेसी नखुलेकाले केही समयलाई केही कठिनाई हुन्छ होला।
यो अवधिमा फार्मेसीको कसरी व्यवस्थापन गर्नुपर्छ?
– वीर अस्पतालको फार्मेसीमा इमरजेन्सी औषधिलाई प्राथमिकतामा राखेका छौँ।
– रुटिन औषधिहरु बिरामीले टाढाबाट पनि खरिद गर्न सक्छन्। तर इमरजेन्सी र अपरेशनमा चाहिने औषधि खरिद गर्न टाढा जानको लागि भने समस्या पर्छ।
– वीर अस्पतालको फार्मेसीमा झण्डै पाँच हजार किसिमका औषधि खरिदका लागि टेण्डरमा छ। यसलाई अझै बढाउन कोशिस गरेका छौँ।
– इमरजेन्सी र भर्ना भएका बिरामीका लागि चाहिने औषधिहरु सूची बनाएर व्यवस्थापन गर्न हामी अघि बढेका छौँ।
बाहिरका फार्मेसी हट्ने बित्तिकै वीर अस्पतालको फार्मेसीको स्तर वृद्धि गर्न लागिएको हो त्यसो भए?
– हामीले वीर अस्पतालको फार्मेसीको स्तर वृद्धि गर्नैपर्छ।
– वीर अस्पतालको आफ्नै फार्मेसी पसल भएकाले बाहिरका पसल हटेपनि हामी त्यति धेरै जटिल अवस्थामा पुगेनौँ।
– झण्डै पाँच वर्ष अघि तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको निर्णय अनुसार वीर अस्पतालमा फार्मेसी सञ्चालनमा आएको थियो
– अस्पतालको आफ्नै फार्मेसी पसल हुनु पनि धेरै ठूलो कुरा हो।
– तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले त्यतिबेला गरेको निर्णय अनुसार खुलेको फार्मेसी नै अहिले सबैको भरोसा भएको छ।
– बाहिरका फार्मेसी पसल बन्द पनि हुँदा पनि वीर अस्पतालको सेवा रोकिने अवस्था छैन।
अब यो अस्पताल फार्मेसी कसरी सञ्चालन हुन्छ?
– सरकारको नीति अनुसार हामीले अस्पताल फार्मेसी सञ्चालन गरेका थियौँ।
– विभिन्न कारणले अस्पताल फार्मेसी विस्तार गर्न सकेका थिएनौं।
– बाहिरका फार्मेसी हटेपछि हामी अझ व्यवस्थित गर्छौं।
– अब भने हाम्रो ठोस आवश्यकता के हो भनेर पहिचान गर्न सहज हुन्छ।
– अस्पतलाको फार्मेसीमा कुन औषधि पायो/पाएन भन्ने हामीलाई थाहा हुँदैन थियो। अब भने औषधिको अवस्था र अभाव बारे थाहा हुन्छ।
– अभाव रहेका औषधिहरुको सूची तयार पार्छौं र कोही पनि बिरामी नफर्कने गरी व्यवस्था गर्छौ।
– नयाँ भवनमा पनि हामीले फार्मेसी सुरु गरिसकेका छौँ।
– अपरेशन थिएटर अगाडि पनि फार्मेसी सुरु गर्न लागेका छौँ।
– आवश्यक भयो भने फार्मेसीको जनशक्ति, कोठा र सबैलाई बढाएर पनि लैजान्छौं। यो हाम्रो लागि अवसर र चुनौती दुवै हो।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापा अग्रसरतामा फार्मेसी निर्देशिका आयो। त्यही निर्देशिका अनुसारको फार्मेसी हामीले कहिले बनाउँछौँ?
– यो अस्पताल फार्मेसी निर्देशिकाले बिरामीलाई पनि धेरै सुविधा भएको छ। त्यही निर्देशिका अनुसारको फार्मेसी बनाउन हामी केही अघि बढीसकेका छौँ।
– हामी टेण्डर, बल्कमा औषधि खरिद गर्छौं। औषधि पनि सस्तोमा आउँछ। कतिपय एन्टीबायोटिक बाहिरको फार्मेसीमा भन्दा अस्पतालका फार्मेसीमा धेरै सस्तो पाईन्छ।
– सस्तो र गुणस्तरीय औषधि दिने कम्पनीसँग मात्र हामीले टेण्डर प्रक्रियामा समावेश गर्छौ।
– गुणस्तरीयमा हामीले सम्झौता गर्दैनौ। मात्र औषधिको उपलब्धता बढाउनुपर्नेछ।
बिरामी र बिरामीका आफन्तले यहाँ औषधि पाइएन भनेर बाहिर दौडिनुपर्छ की पर्दैन?
– अहिले तत्काल केही औषधिका लागि बाहिर जानुपर्ने हुन सक्छ।
– हामी बहुविशेषज्ञ अस्पताल हौँ। त्यसैले सबै रोगको औषकिो व्यवस्था गर्नुपर्ने भएकाले सोही अनुसारको गृहकार्य गर्दैछौं।