कतिपय यस्ता रोग छन् जुन महिलालाई लाग्छ, पुरुषलाई लाग्दैन। प्रजनन् अंगदेखि शारीरिक बनावटले ती समस्या महिलामा देखिन्छन्। कतिले समयमै उपचारको बाटो रोज्छन् त कतिले रोग लुकाएर बस्छन्। त्यसले समयमै उपचार गरे निको हुने समस्या पनि जटिल बनिदिन्छ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीका अनुसार मुख्य ६ समस्या छन्, जसले महिलालाई प्रायः सताइरहन्छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ओपिडीमा आउने कुल बिरामीमध्ये ५० देखि ६० प्रतिशत यही समस्याका हुन्छन्। समयमै उपचार गराउँदा निको हुने ती समस्या यस प्रकार छन्:
अनियमित महिनावारी
सामान्यतया महिलाको उमेर किशोरावस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ।
महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुन्छ जुन नियमित महिनावारी हो। तर विभिन्न कारण महिलामा यो चक्रमा गडबडी हुन्छ। २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या पनि हुन सक्छ। यो समस्यालाई महिनावारी गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ।
डा सुवेदी भन्छन्, ‘महिनावारी व्यक्तिको शारीरिक बनावट अनुसार फरक हुन्छ। ५/७ दिन अगाडि र पछाडि हुन सक्छ। तर अहिले ३० दिनमा भयो, अर्को पटक ५० दिनको फरकमा हुन्छ भने अनियमित महिनावारी हो।’
अनियमित रुपमा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग, महिनावारी सार्ने औषधिको अत्यधिक प्रयोगले पनि महिनावारी अनियमित हुन सक्छ। थाइरोइडको समस्याले पनि महिनावारीको चक्र बिगार्छ। पाठेघरमा ट्युमर पलाउँदा पनि महिनावारी नियमित नहुन सक्छ।
कारण पत्ता लगाएर उपचार गरे अनियमित महिनावारीलाई नियमित बनाउन सकिने डा सुवेदी बताउँछन्। थाइरोइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको सही प्रयोग नहुनु, रगत सम्बन्धी रोग, अण्डासय, पाठेघर सम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ। मोटोपन भएका, एकै पटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलामा पनि महिनावारी अनियमित हुन सक्छ।
गर्भवती जाँच, हर्मोन, थाइरोइड, अल्ट्रा साउण्ड सबै गरेपछि मात्र समस्या अनुसार उपचार हुन्छ। अस्वस्थकर जीवनशैली, तनाव र कामको बोझले महिनावारी गडबड हुन्छ भने प्रशोधित तथा जंकफुड बढी खाँदा शरीरमा तौल बढ्छ र बढी तौलले महिनावारी अनियमित गराउँछ।
महिनावारीलाई नियमित बनाउन स्वस्थकर जीवनशैली अपनाउनु अति आवश्यक छ। शरीरको तौल नियन्त्रणमा राख्ने, दैनिक शारीरिक व्यायाम गर्ने र चिकित्सकको सल्लाह बिना परिवार नियोजनको साधन जथाभावी प्रयोग नगर्दा पनि महिनावारी गडबडी हुनबाट बच्न सकिन्छ। केही समस्या देखिने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ।
तल्लो पेट दुख्ने
महिलालाई सताइरहने स्वास्थ्य समस्यामध्ये एक हो, तल्लो पेट दुख्नु। महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन। त्यो पीडा कसैलाई असह्य किसिमको पनि हुन्छ।
तल्लो पेट दुख्ने सबै पाठेघरको कारणले मात्र हुन्छ भन्ने हुँदैन। तल्लो पेट दुख्ने समस्या ढाडको कारणले पनि हुन सक्छ। यो दुखाइ महिनावारीको समयमा हुने दुखाइ मात्र होइन। महिनावारी नहुँदा पनि तल्लो पेटको दुखाइ हुन्छ। यो दुखाइलाई कम गर्न नियमित औषधि नै सेवन गर्नुपर्ने अवस्था आउँछ।
पाठेघरमा हुने संक्रमण, पाठेघरको भित्ताको संक्रमण, पिसाबको संक्रमण, अण्डाको संक्रमण भइरह्यो तल्लो पेट दुख्ने डा सुवेदी बताउँछन्। असुरक्षित यौन सम्पर्क, असुरक्षित गर्भपर्तन पनि तल्लो पेट दुख्नुको मुख्य कारणमध्ये एक हो।
‘कहिलेकाहीँ महिनावारीको बीचमा र महिनावारी हुनुभन्दा अगाडि पेट दुख्नु सामान्य प्रक्रिया हो’, डा सुवेदी भन्छन्, ‘तर तल्लो पेट दुखेर नियमित औषधि सेवन गर्नुपर्ने भयो वा दैनिकीमा बाधा पुग्यो भने चिकित्सकलाई देखाउनुपर्छ।’
यो समस्याले ३५ देखि ४५ वर्ष उमेरका महिलालाई बढी सताउँछ। महिनावारी हुँदा धेरै पेट दुखेमा, महिनावारी अनियमित भएमा र धेरै ढाड दुखेमा तत्काल चिकित्सकको परामर्शमा जान उनी सुझाव दिन्छन्। यौनाङ्गको सरसफाइमा ध्यान दिने, असुरक्षित यौन सम्पर्क नगर्ने र स्वस्थ जीवनशैली अपनाए तल्लो पेटबाट बच्न सकिने उनले बताए।
सेतो पानी बग्ने समस्या
महिलालाई सताइरहने अर्को समस्या हो, सेतो पानी बग्नु। पाठेघरको मुखको र योनीको संक्रमणका कारण यो समस्या हुने हो। यो संक्रमण ब्याक्टेरिया र फंगस दुवैको कारणले हुन सक्छ।
मुख्यगरी नियमित सरसफाइ नगर्दा यो समस्या हुने बताउँदै उनी भन्छन्, ‘यौन सम्पर्कपछि पनि यौनाङ्गको सरसफाइ नगर्ने, भित्री बस्नको सफाइ लगायत सफाइमा ध्यान नदिने महिलामा यो समस्या देखिन्छ।’
महिनावारी हुनुभन्दा केही दिन अगाडि र कहिलेकाहीँ सेतो पानी बग्नु सामान्य हो। तर बाक्लो, गन्हाउने, दही जस्तो चोक्टा पानी बग्ने र यौनाङ्ग चिलाए समस्याको रुपमा लिनुपर्छ। यी सब लक्षण संक्रमणका कारण नै देखापर्ने हुन्। यसलाई औषधि खाएर नै निको पार्नुपर्ने हुन्छ।
सेतो पानी बगिरहने समस्यालाई बेवास्ता गर्नु हुँदैन। नियमित रुपमा संक्रमण भइरहे यौनाङ्ग र पाठेघरको मुखको क्यान्सर हुन सक्ने उनले बताए। यो समस्याले पनि यौन सम्पर्कमा बढी सक्रिय रहने महिलालाई नै सताउने गरेको उनले बताए।
पाठेघरको मुखको घाउ
पाठेघर बच्चा बस्ने ठाउँ हो। पाठेघरको तीन भाग हुन्छ। जसमध्ये सबैभन्दा तल्लो भागलाई पाठेघरको मुख भनिन्छ।
पाठेघरको मुखको क्यान्सर नेपालमा अझै पनि मुख्य समस्याको रुपमा रहेको छ। यो क्यान्सर ह्युमन पापिलोमा भाइरस संक्रमणको कारणले हुने गर्छ। पाठेघर मुखमा घाउ हुनु भनेको क्यान्सरमा परिणत हुन सक्ने सम्भावना हो। तर घाउ हुँदैमा क्यान्सर हुन्छ भन्ने होइन।
सामान्यतया ह्युमन पापिलोमा भाइरसको संक्रमण सबैजसो महिलालाई हुन्छ। तर भाइरस विरुद्ध लड्न सक्ने प्रतिरोधी क्षमता कम भएका महिलामा भने क्यान्सर हुने सम्भावना रहन्छ। धेरै जनासँग यौन सम्बन्ध राख्ने, धूमपान तथा मद्यपान गर्ने, धेरै सन्तान जन्माउने महिलामा यो भाइरससँग लड्ने क्षमता कम हुने डा सुवेदीले बताए।
भाइरस संक्रमण हुँदैमा क्यान्सर भइहाल्ने भन्ने हुँदैन। ‘भाइरस संक्रमण भए पनि कुनै लक्षण नहुन पनि सक्छ’, उनले भने, ‘लक्षण देखियो भने गन्हाउने र फोहोर पानी बग्ने, यौनाङ्ग चिलाउने, महिनावारीको बीच–बीचमा पनि रगत देखापर्ने, यौन सम्पर्कपछि पनि रगत देखिने हुन सक्छ।’
धेरैजसोमा पाठेघरको मुखको घाउ कुन चरणमा छ, त्यही अनुसार उपचार हुन्छ। पहिलो र दोस्रो चरणमा भएको घाउ क्यान्सर भयो भन्दैमा पाठेघर निकालिहाल्नुपर्छ भन्ने होइन। तर नियमित फलोअपमा भने रहनुपर्छ।
पाठेघरको मुखको घाउ पत्ता लगाउन सकिन्छ। शरीरमा कुनै समस्या नभए पनि २० देखि ३० वर्ष कटेका महिलाले नियमित रुपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्छ। यो घाउ समयमै पत्ता लगाउन सके क्यान्सरमा परिणत हुनबाट जोगिन सकिन्छ। पाँच वर्षको अन्तरालमा पाठेघरको मुखको पानीको परीक्षण (प्याप स्मेयर) गराउन डा सुवेदीको सुझाव छ।
पाठेघरमा मासु पलाउने
पाठेघरमा मासु पलाउने समस्या पनि महिलामा देखिने आम समस्यामध्ये एक हो। यो समस्यालाई चिकित्सकीय भाषामा फाइब्रोइड भनिन्छ। २५ देखि ५० वर्ष उमेर समूहका महिलाको शरीरमा आउने हर्मोनल परिवर्तनका कारण पाठेघरमा मासु पलाउँछ।
इस्ट्रोजोन हर्मोनले पाठेघरको कोषहरु विकास हुन्छ। तर कुनै बेला एकै ठाउँमा धेरै कोषहरु विकास भइदिन्छ। त्यसलाई नै पाठेघरमा मासु पलाएको भनिने हो।
पाठेघरमा मासु पलाउँदा धेरैमा लक्षण नदेखिन सक्छ। महिनावारी हुँदा धेरै पेट दुख्ने र धेरै रगत जाने, महिनावारीको बीच–बीचमा पनि रगत देखिनु यसका प्रमुख लक्षण हुन्। पाठेघरमा मासु पलाउँदैमा पाठेघर निकालेर फाल्नु पर्दैन। कुनै अवस्थामा पाठेघरमा ठूलो मासु पलाउँदा पनि लक्षण देखाउँदैन। उनीहरुको परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ। तर कहिलेकाहीँ सानो मासु पलाउँदा पनि लक्षण देखिन सक्छ। लक्षण देखिएको अवस्थामा उपचार नै गर्नुपर्ने हुन्छ।
मोटोपना भएका महिलामा इस्ट्रोजोन हर्मोन बढी हुन्छ। त्यसैले तौल बढी भएका महिला यसको जोखिममा पर्छन्। अस्वस्थकर जीवनशैली, मोटोपना भएका र महिनावारी रोक्ने औषधिको प्रयोगले हर्मोनल सन्तुलन बिगार्छ।
‘यसको उपचार भनेको धेरैजसो शल्यक्रिया नै हुन्छ। औषधि प्रभाव अलि कम देखिएको छ। भिडियो एक्सरे गरेर नै यो समस्या थाहा पाउन सकिन्छ,’ उनले भने।
पेटमा छाम्दा गोला भएको जस्तो महसुस भए, महिनावारीको चक्रमा परिवर्तन आए, पेट अत्यधिक दुख्न थालेमा परीक्षण गराउनुपर्छ।
पिसाब सम्बन्धी समस्या
महिलामा हुने विभिन्न आम समस्यामध्ये पिसाब चुहिने समस्या पनि एक हो। महिलामा देखिने पिसाब सम्बन्धी समस्या एकै खालको हुँदैन। डा सुवेदीका अनुसार यस्तो समस्या विशेषगरी चार प्रकारका हुन्छन्।
पहिलो, नियमित रुपमा पिसाब चुहिने समस्या, दोस्रो, खोक्दा, हाँछ्यु गर्दा पिसाब चुहिने, तेस्रो, पिसाब लाग्ने बित्तिकै गर्नुपर्ने अथवा रोक्न नसकिने र चौथो, पटकपटक पिसाबको संक्रमण हुने।
यी चारमध्ये पनि पिसाब फेर्न गइहाल्नुपर्ने, पिसाब पोल्ने, पिसाब गर्दा दुख्ने समस्या संक्रमणका कारण हुन्छन्। शरीरमा पानीको कमी र सरसफाइमा ध्यान दिन नसक्दा हुने समस्या हुन् यी। यी समस्याको मुख्य कारण संक्रमण हो भने औषधि खाएर निको बनाउन सकिन्छ।
तर, खोक्दा, हाँछ्यु गर्दा पिसाब चुहिने समस्या मुख्य हो। किनभने, यो समस्याबारे महिलाहरु खुलेर उपचार गर्न आउँदैनन्। कुनै कारणवस पेटमा बल गर्नुपर्यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। पिसाब चुहिने यो समस्यालाई महिलाले सामान्य ठान्छन्। तर यो समस्या सामान्य भने होइन।
डा सुवेदीले भने, ‘उमेर अनुसार शरीरमा जब हर्मोनको कमी हुँदै जान्छ। पिसाबको थैलीले पनि आफ्नो ठाउँ छाड्न थाल्छ। खोक्दा, हाछ्युँ गर्दा पेटमा बल पर्ने बित्तिकै पिसाब थाम्न सक्ने क्षमता कम हुन्छ। त्यसैले पिसाब चुहिने हो।’
४०/४५ वर्ष माथिका महिलामा यो समस्या बढी देखिने गरेको डा सुवेदी बताउँछन्। बढ्दो उमेरसँगै अण्डादानीले इष्ट्रोजोन हर्मोनहरु उत्पादनहरु गरिरहेको हुन्छ, त्यो कम भएर जान्छ। यसको उत्पादन कम भएपछि पाठेघर र पिसाब थैलीका मांसपेसीहरु पातलो र कमजोर हुँदै जान्छन्। त्यसैले यो समस्या उमेरले पनि निम्त्याउँछ।
शिशुको जन्मपछि पिसाबको नलीलाई बाँधेर राख्ने मांसपेसीहरु खुकुलो हुँदै जान्छन्। कतिपयको त लामो व्यथा लाग्दा ती भाग च्यातिन्छ पनि। तर अधिकांशको भने तन्किन्छ र लाटो भएर बस्छ। लामो व्यथा लाग्दा बच्चाको टाउकोले पिसाबको थैलीलाई दबाउँछ। लामो समय थैलीलाई दबाउँदा ती भागमा रक्तसञ्चार कम हुन्छ। विस्तारै त्यो भागमा प्वाल पर्छ। प्वाल परेपछि पिसाब आफैँ चुहिन थाल्छ।
कतिपय महिलाले यो समस्या वर्षौंदेखि लुकाएर पनि राख्छन्। चिकित्सकले परामर्श गरेको खण्डमा मात्र उनीहरुले यो समस्याबारे बताउने गरेको डा सुवेदीको अनुभव छ। विभिन्न व्यायाम र औषधिको प्रयोगबाट यो समस्या ठिक हुन्छ। औषधि र व्यायामबाट पनि ठिक नभए शल्यक्रिया गर्नुपर्ने हुन्छ।
पाठेघर खसेका महिलामा पनि पिसाबको समस्या देखिएको छ। पिसाब पूरा नगएको जस्तो महसुस उनीहरुले गर्छन्। समयमै निदान गरी उपचार गरे पिसाब चुहिने समस्याबाट छुट्कारा पाउन सकिन्छ।