काठमाडौं- गगन थापाको अगुवाईमा काठमाडौं महानगरपालिका वडा नं ३० द्धारा सञ्चालित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले डेंगुको परीक्षण गर्न आउनेलाई निःशुल्क सेवा दिइरहेको छ।
काठमाडौंमा दैनिक रुपमा फैलिरहेको डेंगुको परीक्षण केन्द्रले भदौ २१ गतेदेखि निःशुल्क गरेको हो। डेंगु परीक्षण गर्ने किट सरकारले उपलब्ध गराएकाले आफूहरुले निःशुल्क रुपमा डेंगुको परीक्षण गरिरहेको केन्द्रका कार्यालय प्रमुख डा आरती शाहले बताइन्।
‘डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारले उपलब्ध गराएको छ। त्यसैले हामीले पनि निःशुल्क परीक्षण गरेका हौँ। यसमा सिरिन्ज र भाइलको कुरा जोडेर पैसा लिन सकिने भएपनि यो प्रकोपमा सबैलाई उपचारको पहुँचमा ल्याउनुपर्ने भएकाले सबै निःशुल्क गरेका हौँ,’ उनले भनिन्।
केन्द्रले हालसम्म ९१ जनाको निःशुल्क परीक्षण गरेको डा शाहले जानकारी दिइन्। जसमध्ये ६२ जनाको पोजेटिभ आएको थियो। हाल दैनिक रुपमा ४० देखि ५० जना डेंगुका बिरामी परीक्षणका लागि केन्द्र पुग्ने गरेका छन्। मंगलबार मात्र ३५ जनाको डेंगु परीक्षण गर्दा २५ जनामा पोजेटिभ देखिएको उनले बताइन्।
भदौ २१ गतेअघि केन्द्रले डेंगु परीक्षणको आठ सय रुपैयाँ लिने गर्दथ्यो। काठमाडौंमा अहिले कतिपय संस्थाले डेंगु परीक्षण गरेबापत १५ सय देखि २ हजारसम्म रुपैयाँ लिने गरेका छन्।
काठमाडौंको ज्ञानेश्वर ओरालो छेउमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा छ। साढे पाँच महिनादेखि यो केन्द्रले नियमित रुपमा प्राथमिक स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाको प्रयासबाट यो केन्द्र सञ्चालनमा आएको हो। यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।
यो पनि :
गगन परिकल्पनाको स्वास्थ्य प्रवर्द्धन केन्द्र, देशभरका स्थानीय तहका लागि नमुना बन्नसक्छ