अर्थोग्नेथिक सर्जरी अनुहारको विकृति मिलाउने एउटा विशिष्ट प्रकारको शल्यक्रिया हो। अर्थोग्नेथिकको शाब्दिक अर्थ हो जब्डा सिधा गर्नु (अर्थोस - सिधा गर्नु , ग्नाथोस – जब्डा)। यो एउटा कस्मेटिक वा एस्थेटिक शल्यक्रिया पद्धती हो, जसले अनुहार त राम्रो बनाउछ नै, साथै चपाउने शक्ति र स्वासप्रस्वास प्रणालीलाई पनि राम्रो गर्छ। पहिलो अर्थोग्नेथिक शल्यक्रिया अमेरिकामा सन् १८४९ मा हुल्लिहनद्वारा गरिएको थियो। जुन सामान्यरुपले तल्लो जब्डामा मात्र सिमित थियो। पछि विज्ञान र शल्यचिकित्साको विकाशसंगै तल्लो, माथिल्लो र चिउडोकासाथै पुरै अनुहार नै ठिक पार्ने शल्यक्रियामा परिणत भयो। धेरै नै संवेदनसिल शल्यक्रिया भएकोले एकदम धेरै विशेषज्ञता र दक्षता चाहिनुको साथै उत्कृष्ट योजना चाहिन्छ। अदक्षताले मान्छेको पुरै अनुहारकै स्वरुपलाई कुरुप बनाउन सक्छ।
के फाइदा हुन्छ?
१ ) अर्थोग्नेथिक सल्यक्रियाले अनुहारको बनावट र रुपलाई राम्रो बनाउँछ।
२ ) टोक्ने क्षमता वृद्धि गर्नुको साथै बोलिलाई पनि राम्रो बनाउँछ।
३ ) एयर वे भोलुम (स्वासनलीको आयतन) वृद्धि हुनुको साथै स्वासप्रस्वास प्रणालीलाई पनि राम्रो बनाउँछ।
४ ) अनुहार सुन्दर बनाए संगै आत्मविश्वास पनि वृद्धि गराउँछ।
५ ) जब्डा दुख्ने समस्यालाई पनि समाधान गर्छ।
६ ) नाक र ओठको अनुपात पनि ठिक गर्छ।
किन गर्नु पर्छ यो सर्जरी ?
१ ) कर्रेक्टिव ज सर्जरी - तल्लो वा माथिल्लो जब्डा वा दुइटै जब्डा ठूलो वा सानो भएमा, मुख बन्द गर्न अप्ठेरो भएमा वा ओपन बाइट, मुख धेरै बन्द भएमा वा डिप बाइट, तालु सानो भएमा, क्रस बाइट भएमा, चिउड़ो ठूलो वा सानो भएमा, अनुहार बाङ्गो वा असमान भएमा, अनुहारको बिग्रेको आकृति मिलाउनु परेमा
२ ) हाँस्दा तल्लो र माथिल्लो गिजा देखिएमा वा गम्मी स्माइल
३ ) जब्डाको विकृतिले गर्दा खाना चपाउन वा स्वास फेर्न वा बोल्न वा निल्न समस्या भएमा
४ ) अनुहार वा अनुहारको जोर्नी दुख्ने समस्या भएमा
५ ) अब्स्ट्रक्टिव स्लिप एप्निया वा घुर्ने बिमारी भएमा
६ ) सिण्ड्रोमिक अनुहार भएमा
७ ) ओठ काटिएको वा क्लेफ़्ट भएमा
८ ) टोटल फेसियल करेक्सन (सम्पूर्ण अनुहारको आकृति मिलाउने वा पुनर्निर्माण सर्जरी गर्नु परेमा
सर्जरीको पुर्व तयारी ?
१ ) अर्थोडनटिक्स उपचार - शल्यक्रिया गर्नुभन्दा पहिला दाँतमा तार बाँधेर तल-माथीको दाँतको अनुपात र टोकाई मिलाउनु पर्छ। यो उपचार लगभग ६ देखि १२ महिना जति चल्छ। त्यसपछि मात्र शल्यक्रियाको तयारी सुरु हुन्छ। कुनै कुनै केसमा पहिला सल्यक्रिया गर्ने र त्यसपछि मात्र तार बाँधेर दाँत मिलाउने काम गरिन्छ।
२ ) एक्स-रे र सिटी स्क्यान – ओपीजी र लेटेरल सेफ़ालोमेट्रि भन्ने सुरुवाती एक्स-रे गरिन्छ। त्यसपछि वृहत प्लानिङ्गको लागि अनुहारको सिटी स्क्यान गर्नुपर्छ। एक्स-रे र सिटी स्क्यानलाई कम्प्युटरको सफ्टवेयरमा हालेर भर्चुअल प्लानिङ्ग गरिन्छ। सिएएसएस प्रोटोकल अपनाएर अनुहारको बनावट, यसमा देखिएको समस्या, नमिलेको अनुहारको अनुपात, अनुहार ठूलो -सानो हुने आदि अनुपातको विश्लेषण गरिन्छ। डिजिटल र कम्प्युटर प्रविधि अपनाएर अवास्तविक (भर्चुअल) शल्यक्रिया गरेर शल्यक्रिया पछिको परिणाम हेर्ने र त्यसैको आधारमा शल्यक्रिया गरिन्छ। नयाँ र एकदम अत्याधुनिक सफ्टवेयरहरुको प्रयोग गरेर सुक्ष्म तरिकाले अनुहारको अनुपात मिलाइ सही शल्यक्रिया गरिन्छ।
३ ) मोडेल सर्जरी - शल्यक्रियाको पूर्व तयारी अन्तर्गत मोडेल सर्जरी गरिन्छ। जसमा तल-माथीको दाँतको नाप लिएर मोडेल बनाइन्छ र त्यही मोडेलमा भर्चुअल शल्यक्रियागरी अनुहारको अनुपातको आधारमा डेण्टल स्प्लिण्ट बनाइन्छ। मोडेल सर्जरीले शल्यक्रियाको परिणामको बारेमा पूर्व जानकारी गराउनुको साथै प्लानिंग र विश्लेष्णमा पनि सहयोग गर्छ। पूर्व तयारी, ठिक योजना र विश्लेषणपछि शल्यक्रियाको लागि बिरामी लायक हुन्छ।
कति प्रकारले सर्जरी गरिन्छ?
१ ) मेग्जिलरी ओस्टिओटोमी - यो माथिको जब्डाको शल्यक्रिया हो। जसमा प्लानिंगको आधारमा अनुहारको हड्डी, पुरै माथिल्लो जब्डालाई नै काटेर अगाडि वा पछाडि लगिन्छ र प्लेट -स्क्रुको मद्दतले जोडिन्छ।
२ ) मेण्डिबुलर ओस्टिओटोमी - यो तलको जब्डाको सर्जरी हो जसमा प्लानिंगको आधारमा पुरै तल्लो जब्डा काटेर अगाडि वा पछाडि लगिन्छ र प्लेट - स्क्रुको मद्दतले जोडिन्छ।
३ ) जेनिओप्लास्टी - यो चिउँडोको शल्यक्रिया हो। जसमा चिउँडोलाइ अगाडि-पछाडि वा तल-माथी वा दायाँ-बायाँ लगिन्छ र प्लेट - स्क्रुले जोडिन्छ। यो शल्यक्रिया अर्थोग्नेथिक सर्जरीसंगै वा ६ महिनापछि छुट्टै पनि गर्न सकिन्छ। यो शल्यक्रियाले सानो वा ठूलो देखिने चिउडोलाई सुन्दर र अनुहारको अनुपातको बनाउन मद्दत गर्छ।
४ ) टोटल फेसियल करेक्सन- यो शल्यक्रिया एकदम जटिल र सुक्ष्म हुनुका साथै ठिक योजना र विज्ञता चाहिने खर्चिलो खालको हुन्छ। यसमा पुरै अनुहारको नमिलेको आकृतिलाई सुन्दर र आकर्षक बनाइन्छ। यो शल्यक्रियामा माथिलो-तल्लो जब्डा र चीउडोको साथ साथै अनुहारको जोर्नी र नाकको पनि शल्यक्रिया गरिन्छ। नमिलेको विकृत अनुहारलाई आकर्षक र समानुपातिक बनाउन कृत्रिम जोर्नी हालेर पुरै अनुहारको हड्डीलाई नै शल्यक्रिया गरि मिलाइन्छ।
यो शल्यक्रियामा कुनै केसमा एउटै तल्लो वा माथिल्लो जब्डा, कुनै केसमा दुइटै जब्डाको एकै चोटी र कुनै केसमा तल्लो-माथिल्लो र चिउडोको सम्पूर्ण शल्यक्रिया एकै चोटी गर्नु पर्ने पनि हुनसक्छ। यो शल्यक्रिया मेजर हुने भएकोले पुरा बेहोस गरेर अर्थात जेनेरल एनेस्थेसियामा गरिन्छ। त्यसको लागि बिरामीलाई भर्ना गरेर अप्रेसनको लागि तयारि गरिन्छ।
सामान्यतया ५-६ घन्टाको शल्यक्रिया हुने र कस्मेटिक चासो धेरै हुने भएकोले यो शल्यक्रिया मुखभित्र बाट गरिन्छ। जसमा अनुहारमा कुनैपनि प्रकारको शल्यक्रियाको दाग देखिँदैन। यसमा बिरामीको अनुहार अचानक शल्यक्रिया हुने बितिकै परिवर्तन हुने भएकोले बिरामी मानसिक रुपले पनि पूर्णतयार हुनु एकदम जरुरी हुन्छ। अत्यन्त संवेदनशील यो शल्यक्रिया पूर्ण रुपले सुरक्षित र एकदम न्यून जटिलता भएको शल्यक्रिया मानिन्छ ।
ठिक योजना, सुक्ष्म विशेषज्ञता, शल्यक्रियाको सहि कार्यान्वयन र शल्यक्रियापछिको उचित देखभाल संगै राम्रो अर्थोडोण्टिक उपचार भएमा यो शल्यक्रियाले अतिनै उत्तम परिणाम दिन्छ। तसर्थ, बिना कुनै संकोच र डर अर्थोग्नेथिक सर्जरी गराउन सकिन्छ।
धेरै पुरानो इतिहास बोकेको यो शल्यक्रिया नेपालमा भने शिशु अवस्थामै छ। नेपालका केहि ठूला अस्पताल सरकारी र निजी लगायतले यो शल्यक्रिया गरिराखेको अवस्थाछ। धेरै मात्रामा यो शल्यक्रिया नभएपनि केहि राम्रा अस्पतालका एकदम जुझारु र उत्सुक शल्यचिकित्सकहरुद्वारा नेपालमै पनि सफलताका साथ यो शल्यक्रिया गरिन्छ।
-(मुख तथा अनुहार शल्यचिकित्सक डा गणेश चौधरी भरतपुर अस्पतालमा कार्यरत छन्)