काठमाडौँ- दुई वर्षको उमेरमा सृष्टि छन्त्याललाई एक्कासी आँखा सुन्निए जस्तो भयो। आमा बिमा छन्त्यालले उनलाई कहिले त्रिपुरेश्वरको आँखा अस्पताल पुर्याइन् भने कहिले तिलगंगा।
तिलगंगा आँखा अस्पतालले उनलाई क्यान्सरको अनुमान गरेर कान्ति बाल अस्पताल लैजान सल्लाह दियो। कान्ति बाल परीक्षणका क्रममा सृष्टिलाई आँखाको क्यान्सर भएको पत्ता लाग्यो। दुई वर्षको उपचारपछि अहिले सृष्टिको क्यान्सर निको भएको छ। सुरुमा निको हुँदैन की भन्ने डर लागे पनि निरन्तर उपचारपछि छोरी निको भएकोमा बिमा निकै खुसी छिन्।
त्यस्तै आठ वर्षको उमेरमा रगत क्यान्सरको पहिचान भएर उपचारपश्चात सामान्य जीवन बिताइरहेकी रोजी सिलवाल २६ वर्षको भइन्। भर्खरै ब्याच्लर सकेर मास्टर्स पढ्ने तयारीमा रहेकी उनी बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै नआत्तिई उपचार गर्न सल्लाह दिन्छिन्।
सृष्टि र रोजी जस्तै गोरखाका कुशल श्रेष्ठलाई पनि आठ वर्षको उमेरमै ब्लड क्यान्सर भएको पत्ता लाग्यो। क्यान्सरलाई जितेर अहिले उनी हेल्थ असिस्टेन्ट पढिरहेका छन्।
काठमाडौँको कान्ती बाल अस्पतालले शुक्रबार क्यान्सरलाई जित्न सफल भएका बालबालिकाको भेला गरेको थियो।
कुशल, सृष्टि र रोजी जस्तै विभिन्न उमेर समूहका करिब २० जना बालबालिकाहरू उक्त कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा कान्ति बाल अस्पतालमा उपचार गरेर निको भएका धेरै बालबालिकाले आफूलाई भएको क्यान्सरको विषयमा खुलेर कुरा गरेका थिए।
सेप्टेम्बर बालबालिकामा हुने क्यान्सरको जनचेतना जगाउने महिना हो। क्यान्सर जितेका बालबालिकाको यो भेलाले बाल क्यान्सर समयमै उपचार गरेमा निको हुन्छ भन्ने सन्देश आममानिसमा पुग्छ भन्ने विश्वास अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णुरथ गिरिको छ। ‘उपचारपश्चात सामान्य जीवनयापन गरिरहेका बालबालिकालाई देखेर अहिले उपचार गरीरहेका बालबालिका र तिनका परिवारलाई पनि एक किसिमको हिम्मत मिल्छ भन्ने विश्वास लिएको छु। साथै क्यान्सरको उपचार सम्भव छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ,’ उनले भने।
कार्यक्रममा डा कैलाश प्रसाद साहले पनि छिटो पहिचान गर्न सके क्यान्सरको उपचार ९० प्रतिशतसम्म निको हुने बताए।
कान्ति बाल अस्पतालमै क्यान्सरको उपचार गराइरहेका बालबालिकाका अभिभावक पनि क्यान्सर जितेर सामान्य जीवनयापन गरिरहेका बालबालिका देखेर आफूहरुमा थप हिम्मत आएको बताउँछन्।
अहिले सरकारले क्यान्सरको उपचारमा सहुलियत होस् भनेर प्रत्येक बिरामीलाई एक लाख रुपैयाँ दिने गरेको छ। साथै बागमती प्रदेशले थप सहयोग होस् भनेर थपेको ५० हजार रुपैयाँ कान्ति बाल अस्पतालले बिरामीलाई दिन सुरु गरेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले बताए।