धनगढी- डडेल्धुरा परशुरामका गणेश डडाल दुई हप्ताअघि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगे। हात भाँचिएका कारण सेतीमा पुगेका उनलाई चिकित्सकले सिटी स्क्यान गराउन सुझाव दिए।
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन नभएपछि उनी धनगढीमै सञ्चालित निजी अस्पताल निसर्गमा पुगे। उनले छ हजार रकम तिरेर सिटी स्क्यान गराए। सेती प्रादेशिक अस्पतालमा रहेको सिटी स्क्यान मेसिन सञ्चालन नहुँदा उनले महँगो रकम तिरेर उपचार गराउनु परेको हो।
सेती प्रादेशिक अस्पतालले २०७७ मा मेसिन खरिद प्रक्रिया अघि बढाई अस्पतालमा ल्याएपनि यत्तिकै थन्काईएको छ। दुई हप्ताअघि सेती प्रादेशिक अस्पतालले निर्माणाधिन अवस्थामा रहेको नवनिर्मित भवनको एक कक्षमा मेसिन जडान गरी परीक्षण गरेको थियो। मेसिन जडान भएपनि अझै अस्पतालले कक्ष अभाव देखाउँदै सञ्चालनमा ल्याउन सकेको छैन।
धनगढीमा सञ्चालनमा रहेको नीजि अस्पताल माया मेट्रो र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान मेसिन रहेको छ। धनगढी डाइगोष्टिमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएर थन्किएको छ। अस्पताल सञ्चालन गरिरहेका एक सञ्चालकले भने –‘दुई निजी अस्पताललाई फाइदा दिलाउन सेतीमा रहेको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याउन आनाकानी भईरहेको हो।’ उनले मन्त्रालयकै दबाबमा पनि सेतीमा सो मेसिन सञ्चालनमा आउन नसकेको बताए।
निजी अस्पतालमा नर्मल सिटी स्क्यान गर्दा चार हजारदेखि चार हजार पाँच सयसम्म पर्छ, कन्टास सिटी स्क्यान गर्दा ११ हजारसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेको छ।
मेसिन जडान गरी परीक्षण गर्दा सञ्चालनका लागि उचित रहेको रिपोर्ट आएपनि पुनः अहिले कार्यकक्ष अभावका लागि सञ्चालनमा ल्याउन नसकेको अस्पतालको प्रतिक्रिया रहेको छ। यसअघि भवन अभाव देखाउँदै सञ्चालन हुन नसकेको प्रतिक्रिया दिँदै आएको अस्पतालले अहिले कार्यकक्ष अभाव रहेकाले सञ्चालनमा ल्याउन नसकेको प्रतिक्रिया दिँदै आएको छ।
सिटी स्क्यान मेसिन जडान गरिएको भवनमा चिकित्सक कक्ष, बिरामी कुरुवा कक्ष नहुँदा मेसिन सञ्चालनमा ल्याउन ढिलाई भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए।
प्रदेशका नौ जिल्लाका बिरामी उपचारका लागि आउने गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा चर्को मूल्य तिरेर बिरामी निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ।
खासगरी मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपयोगी हुने सिटी स्क्यान मेसिन प्रादेशिक अस्पतालमा सञ्चालनमा नआउदा बिरामीहरु धनगढीकै निजी अस्पतालमा चेकजाँचका लागि पुग्ने गरेका छन्।
आर्थिक वर्ष ०७७/०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड बजेट विनियोजन गरेको थियो। सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो।
पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो। पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि हालसम्म सञ्चालनमा आएको छैन।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सिटी स्क्यान सञ्चालनको अन्तिम तयारीमा रहेको बताए। ‘यो महिनाको अन्तिमसम्म सञ्चालनको तयारी थियो। प्राविधिक कारण केही समय ढिलो भयो’ सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘भवन निर्माण एक वर्ष ढिलो भएकोले समयमै सञ्चालन हुन सकेन, अब छिट्टै सञ्चालन हुन्छ।’
सूचना अधिकारी श्रेष्ठले भने, ‘अन्य केही कारण होइन्, भवन निर्माणमा ढिलाई भएकाले सिटी स्क्यान मेसिन सञ्चालनमा ढिलाई भएको हो।’
सिटी स्क्यान मेसिनको भवन निर्माणका लागि २०७७ असारमा अस्पताल प्रशासन र टीकापुरको इन्द्र धनु अछाम निर्माण सेवासँग सम्झैता भएको थियो। करसहित एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको थियो। तर, समयमा निर्माण कम्पनीले भवन निर्माण गर्न नसक्दा सेवा सूचारुमा ढिलाई भएको उनले बताए।
सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान मेसिन सञ्चालनमा ढिलाई गर्दा अस्पतालमा आउने विरामीहरुले धनगढीभित्रका निजी तथा धनगढी बाहिरका कोहलपुर, काठमाडौं एवं भारतका विभिन्न स्थानमा गई महँगो शूल्कमा सेवा लिनुपर्ने बाँध्यता रहेको छ। अस्पतालका केही व्यक्ति आर्थिक प्रलोभनमा परि मेसिन सञ्चालनमा ढिलाई गरिरहेको आरोप लागिरहेको छ।
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले निजी अस्पतालको दबाबमा नभई अस्पतालको आन्तरिक व्यवस्थापनमा कमजोरी भएका कारण मेसिन सञ्चालनमा ढिलाई भएको प्रतिक्रिया दिए। ‘सिटी स्क्यान मेसिन हामी छिट्टै सञ्चालनमा ल्याउँछौं। अहिले भवनको मर्मत कार्य भइरहेकाले समस्या भएको हो’ अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले भने –‘मेसिन जडान गरिएको नवनिर्मित भवनमा चिकित्सक बस्ने कक्ष नभएकाले सञ्चालन हुन सकेको छैन।’ उनले चिकित्सक बस्ने कक्ष, विरामीलाई सहज आवतजावत गर्न मिल्ने अवस्था भएपछि मेसिनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याईने बताए।
उनले मेसिनको परिक्षण गरेपछि सञ्चालनका लागि उपयूक्त भएको रिपोर्ट आइसकेको बताए।
उनले भने–‘अहिले पनि हामी दैनिक एक÷दुई वटा अतिआवश्यक भएका व्यक्तिहरुको मेसिनबाट परिक्षण गरिरहेका छौं।’
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन भएमा विरामीहरुले दुई हजार पाँच सयदेखि चार हजारसम्ममा सेवा सुविधा पाउने बताए। ‘अस्पताल सेवामुखी भएकाले यहाँ सेवा लिन आउने व्यक्तिले सर्वशुलभ र सहज रुपमा सेवा पाउने छन’ उनले भने। प्रादेशिक अस्पतालमा तीन जना रेडियोलोजी रहेको अस्पतालले जनाएको छ।