काठमाडौं- काठमाडौं महानगरले विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ। रोगको रोकथामको प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै रहेको भन्दै महानगरले लक्षण, उपचार र यसबाट बच्न अपनाउनुपर्ने उपायहरुका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउन सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
महानगरपालिका शिक्षा तथा स्वास्थ्य समितिको भदौ २१ मा बसेको बैठकले काठमाडौं महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।
महानगरले डेंगुको प्रकोप रोक्नका लागि वडाको आकार अनुसार ठुला वडाहरुमा १ लाख, मध्यमका लागि ७५ हजार तथा साना वडाहरुमा ५० हजारका दरले बजेट छुट्याएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले जानकारी दिए।
सबै विद्यालयहरुले वडास्थित शहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गरी विद्यालयका स्वास्थ्य शिक्षक वा सम्बन्धित स्वास्थ्य कार्यकर्ताबाट हरेक दिन बिहान प्रार्थनाको समयमा डेंग रोगको लक्षण, यसको रोकथाम तथा उपचार पद्दतिका बारे सचेतना कार्यक्रम सञ्चालन गर्न महानगरले आग्रह गरेको छ।