सीतापाइला बस्ने सुशीला न्यौपाने महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा ओपिडीको टोकन लिएर बसेकी थिइन्। साथमा उनका ११ वर्षीय पनि छोरा थिए। पाँच कक्षा पढ्ने छोराले केही दिनदेखि पेट दुख्यो भनेर हैरान पारेपछि अस्पताल आएको उनी सुनाउँदै थिइन्।
घरको खाना नखाएर सधैं बजारमा पाइने चाउचाउ, बिस्कुट लगायतका खानेकुरा खाएर छोराको पेट दुखेको हुनसक्ने अनुमान पनि लगाउँदै थिइन् उनी।
सुशीला मात्र होइन, यस्ता समस्या लिएर दैनिक धेरै आमाबाबु अस्पताल आउने कान्ति बाल अस्पतालमा कार्यरत डा रामहरि चापागाईं बताउँछन्।
द स्टेट अफ वल्र्ड चिल्ड्रेनले सन् १०१९ मा गरेको एक अनुसन्धान अनुसार विश्वका तीनमध्ये दुई जना बालबालिकालाई आवश्यकता अनुसार उनीहरूको शरीर र मस्तिष्कलाई विकास गर्ने खाना खुवाइँदैन। सोही अनुसन्धानबाट पाँच वर्ष मुनिका तीनमध्ये कम्तीमा एक बालबालिका कुपोषित वा बढी तौल भएको पत्ता लागेको थियो।
सन् २०१५–१६ मा भएको एउटा अर्कोे अनुसन्धानले विश्वका ३६.३ प्रतिशतभन्दा बढी बालबालिका तथा किशोर–किशोरीले प्रतिदिन जंक फुड खान्छन्।
सन् २०१५ देखि २०१८ को अवधिमा बालबालिका र किशोर–किशोरीले आफ्नो दैनिक क्यालोरीको औसत १३.८ प्रतिशत फास्ट फुडबाट प्राप्त गर्ने गरेको तथ्यांकले देखाएका छन्। जसले गर्दा उनीहरूमा कुपोषण र तौल बढी हुने समस्या आइरहेको छ।
नेपालमा जंक फुड खाएर बिरामी भएका बच्चाहरूको कुनै तथ्यांक नभए पनि जंक फुड र फास्ट फुडको प्रयोगले बालबालिकाहरू कुपोषणसँगै अन्य थुप्रै रोगको सिकार भइरहेको डा चापागाईंको भनाइ छ।
केही समयअघि जर्नल अफ न्युट्रेसनमा प्रकाशित एउटा सर्वेक्षणले काठमाडौं उपत्यकामा बस्ने एकदेखि दुई वर्षका बालबालिका पोषक तत्वको कमी हुने उच्च जोखिममा रहेको देखाएको थियो। सो सर्वेक्षण काठमाडौंका सात सयभन्दा बढी बालबालिकामा गरिएको थियो। उक्त अनुसन्धानमा जंक फुड या फास्ट फुड खानेहरूमा ८ पोषक तत्वहरू क्याल्सियम, जिङ्क, भिटामिन ए, थायामिन, रिबोफ्लेभिन, भिटामिन बी–६, भिटामिन बी–१२ र फोलेटको निकै कमी भएको पाइएको थियो। सर्वेक्षणले जंक फुड खानेमा अन्य दीर्घकालीन असर पर्ने निष्कर्ष निकालेको थियो।
किन बढ्दैछ जंक फुड र फास्ट फुडको कल्चर?
व्यस्तताको कारण आफ्नो भान्सामा पकाएर खाने चलन घट्दै गर्दा फास्ट फुड या जंक फुड खाने चलन विश्वभर नै बढिरहेको अध्ययनहरूले देखाएका छन्।
नेपालको सन्दर्भमा पनि अभिभावकहरू अफिस जाने या आफ्नो काममा व्यस्त हुने हुनाले जंक फुड खाने बालबालिकाको संख्या बढिरहेको पोषणविद् डा जया प्रधान बताउँछिन्।
‘बजारमा पाइने रेडिमेड खाना बनाउन सजिलो हुने, कम समय लाग्ने र स्वादिलो पनि हुने हुनाले प्रायः अभिभावक आफ्ना बच्चालाई खाजाको रुपमा चाउचाउ, बिस्कुट या चाउमिन पठाउने गर्छन्,’ डा प्रधानले भनिन्, ‘तर आमाबाबुलाई यस्ता खानाले आफ्ना बच्चामा परिरहेको असरबारे ख्याल नै हुँदैन। अचेल बच्चा हुन् या किशोर–किशोरी, घरमा बनेको खाना खानै खोज्दैनन्।’
जंक फुड कहिल्यै खानै नहुने होइन तर कहिले खाने भन्ने कुरामा ध्यान दिनुपर्ने प्रधान बताउँछिन्। ‘कुनै प्राकृतिक विपत्ति, जस्तो भूकम्पको समयमा घरमा पकाएर खाने वातावरण नहुँदा पेट भर्नलाई जे भेटिन्छ त्यही खानुपर्ने स्थिति थियो। बच्नलाई पेट भर्नुपर्ने स्थितिमा मात्र यस्ता चिज खानुपर्छ,’ उनले थपिन्।
डा चापागाईं भने जताततै जंक फुड सहजै पाइने हुनाले पनि यो कल्चर बढिरहेको बताउँछन्। ‘सार्वजनिक स्थल, पार्क, अस्पताल या विद्यालयको आसपास जहाँ पनि जंक फुड मात्रै बेच्न राखिएको हुन्छ। टिभी, मोबाइल या विज्ञापनमा समेत जंक फुडहरु देखाइन्छ। बच्चाको हात–हातमा फोन छ। त्यसले पनि बच्चालाई जंक फुडतिर आकर्षित गरिरहेको छ,’ उनले भने।
बच्चाहरुलाई जबरजस्ती खाना खुवाउँदा जंक फुड खाने ह्याबिट बढ्ने मनोविद् नन्दिता शर्मा बताउँछिन्। ‘जबरजस्ती खाना खुवाउँदा बच्चाले खान मान्दैन, त्यसपछि आमाबाबुले मेरो बच्चाले खाना खाँदैन भनेर पिज्जा, बर्गर, चाउचाउ, चिजबल दिन्छन्। बच्चा पनि खाना नखाएपछि मलाई मनपर्ने खानेकुरा पाउँदो रहेछु भनेर घरको खाना देख्ना साथ तर्किने हुन्छन्,’ उनले भनिन्।
जंक फुडबाट होम मेड फुडतिर
‘बालबालिकालाई सानो उमेरदेखि नै घरमै बनाएको खानेकुरा खाने बानी पार्न आमाबाबुको ठूलो हात हुन्छ। उमेर अनुसार बालबालिकालाई खाना पकाउने प्रक्रियामा सामेल गराउने, खानेकुराको नाम चिनाउने, कुन खानेकुराबाट के भिटामिन पाइन्छ भनेर भनिरहने गर्दा सानो उमेरदेखि खानेकुराप्रतिको चासो बढ्छ,’ प्रधानले भनिन्, ‘उमेर बढ्दै जाँदा उनीहरूमा खाना पकाउन कोसिस गर्ने या पकाउने तरिकाबारे बुझ्ने बानीको विकास पनि हुन्छ।’
‘नेपाली समाजमा साग खायो भने आँखा देखिन्छ भन्ने चलन छ। सायद कुनै आमाले आफ्नो बच्चालाई खाना खुवाउने क्रममा नै यो भाषाको प्रयोग गरेकी थिइन् होला। त्यसपछि यो चिज कति लामो समयदेखि हामी सुन्दै आइरहेका छौं अनि त्यही सुनेर नै हामीमध्ये कतिले मन नपरे पनि साग खाएका हुन सक्छौं। यस्ता सामान्य चिजले भान्सामा भएका हरेक खानेकुराप्रति बालबालिकाको रुचि सुरु हुन थाल्छ,’ चापागाईं भन्छन्।
पोषणविद् प्रधान बच्चाहरूलाई आकर्षक लाग्ने प्लेटमा खाना पस्किने, खानालाई आकर्षक देखिने गरी डेकोरेट गर्ने, समय दिएर खान दिने जस्ता बानी सानो उमेरदेखि नै लगाउने हो भने पछिसम्म घरकै खानामा चासो देखाउने बानीको विकास हुने बताउँछिन्। ‘उनीहरूलाई सानो उमेरमा खाना चिनाउँदा पनि एक पटकमा एउटा मात्रै खाना चिनाउने, उक्त खानाको स्वाद महसुस गर्ने समय दिनुपर्छ,’ उनले भनिन्।
मनोविद् शर्मा पनि खाना खाने समयमा बच्चालाई सँगै राख्दा खानाप्रति चासो बढ्ने बताउँछिन्। उनी भन्छिन्, ‘हामीले खाना खाने समयमा बच्चालाई पनि सँगै राख्नुपर्छ। बच्चाले ठूलाले जति त खान सक्दैनन् तर आफूसँगै खाने समयमा सामेल गरायो भने ठूलाले जे खायो त्यही खान्छन्, त्यही खानुपर्छ भन्ने सिक्छन्।’
बच्चालाई खाना खुवाउन दिइने समय
केही अन्तर्राष्ट्रिय सर्वेक्षणहरूले उमेर र खाना अनुसार कम्तीमा बच्चालाई २० मिनेट समय दिनैपर्ने देखाएका छन्। फोहोर गर्छन् र समय लगाउँछन् भनेर बच्चा आफैंलाई खान दिने अभिभावक कम रहेको प्रधान बताउँछिन्।
‘बच्चालाई समय दिएर खान लगाउनुपर्छ। आमाबाबुले सधैं आफैंले खुवाइदिने हो भने बच्चा अल्छी हुन्छन्। मलाई त बुबाआमाले खुवाउनुहुन्छ भन्ने हुन्छ। उनीहरूको सक्रियता कम हुन्छ। तर बच्चालाई उमेर अनुसार आफैं खान दिने हो भने स्वाद लिएर खान्छन्। सुरुसुरुमा फोहोर गर्लान् तर फोहोर गर्नुहुँदैन भन्ने कुरा सिकाउने हो भने सिक्छन्,’ उनले भनिन्।
डिमान्ड फिडिङ
बच्चाले खाना खान नमान्नुको एउटा कारण अभिभावक नै भएको मनोविद् शर्मा बताउँछिन्। ‘केही अभिभावकले घडी हेरेर खुवाउँछन्। दुई घण्टा भयो अब मेरो बच्चालाई खुवाउनुपर्छ भन्ने मान्यता छ। तर हामी भन्छौं, बच्चालाई भोक लागेपछि रुन्छ अनि मात्र खुवाउनूस्, त्यतिबेला मजाले खान्छ। अभिभावकलाई भोक लागेको बेला बच्चालाई भोक नलागेको पनि हुन सक्छ। अनि खान मान्दैन। ‘डिमान्ड फिडिङ’ गराउनुपर्छ न कि ‘टाइम फिडिङ,’ उनले भनिन्।
बिहान उठेपछि बच्चालाई दूध र चोको खान दिइन्छ। एक घण्टापछि अण्डा खुवाइन्छ। त्यसको एक घण्टापछि भात खुवाइन्छ। तर पाँच वर्षको बच्चाको पेट कत्रो हुन्छ, उनीहरुको पेटले कति माग्छ, त्यसको ख्याल अभिभावकले नगर्ने उनको भनाइ छ। जति बेला पनि कोच्याएको कोच्याई गर्दा बच्चाले खान नमान्ने भएकोले खान खोजेको समयमा मात्र दिनुपर्ने उनको सुझाव छ।
बच्चा, खाना र कार्टुन
विश्वका ७० प्रतिशतभन्दा बढी बालबालिकाले खाना खाने समयमा टिभी, मोबाइल हेर्ने गर्छन्। नेपालमा पनि बालबालिकाहरू मोबाइल, टिभीमा कार्टुन या अन्य चिज नहेरी खानै नखाने गरेको अभिभावकहरू बताउँछन्।
भक्तपुर बस्ने सुरज पराजुलीकी तीन वर्षकी छोरीलाई खान खाने समयमा फोन नभई हुँदैन। कार्टुन नहेरी छोरीले खाना नखाने भएकाले खानासँगै कार्टुन पनि पस्किन्छन्। कार्टुनको तालमा बेलाबेला मात्रै खानातिर ध्यान जान्छ छोरीको।
‘कार्टुन नदेखाउने हो भने रोएर खानै खाँदैन, जसरी भए पनि खाना त खुवाउनै पर्यो,’ सुरज चिन्तित हुँदै भन्छन्, ‘खाना खाने समयमा खानातिर ध्यान जाने भए, खानासँगै खेलीखेली खाने भए तौल पनि बढ्थ्यो कि ?’
यो समस्या सुरजको मात्रै होइन, लगभग मोबाइल र टिभी घरमा भएका आम आमाबुबाको हो। एकछिन खेल्छन्, भुल्छन्, आफूलाई काम गर्न सजिलो हुन्छ भन्ने सोचेर हरेक अभिभावकले छोराछोरीलाई मोबाइल र टिभीमा कार्टुनको लत लगाइदिँदा पनि जंक फुड खाने बानीको विकास भएको चिकित्सकहरू बताउँछन्।
‘आजकल आमाबाबुसँग बच्चाबच्ची फकाउने दुई उपाय छन्। एउटा मोबाइल, अर्कोे जंक फुड,’ डा चापागाईं भन्छन्, ‘जंक फुड खाँदै मोबाइल हेरिरहेको बच्चाले हेर्ने कार्टुनका क्यारेटरहरूले पनि चपाइरहेको, खाइरहेको देख्छ। त्यसपछि उसलाई झन् अन्य खानेकुरा खाने चाह बढ्छ। जस्तो, चर्चित कार्टुन मोटु–पत्लुमा मोटुले जति बेला पनि समोसा खाइरहेको हुन्छ। यस्ता चिजहरू हेरेर हुर्किरहेका बच्चालाई देखेका सबै खानेकुरा ठिक हुन् भन्ने लाग्छ,’ उनले भने।
अन्तर्राष्ट्रिय स्तरमा गरिएका केही अनुसन्धानका अनुसार खाना खाँदै टिभी हेर्दा बच्चाले खानेकुरा राम्रोसँग चपाउँदैनन्। चपाउने दर कम हुँदा खाना ढिलो पच्ने हुन्छ। जसले पेटमा समस्या हुने चापागाईं बताउँछन्।
‘टिभी या मोबाइल हेर्दै खाना खाने बच्चा शारीरिक रूपमा सक्रिय नहुने र उसको मेटाबोलिज्म कम हुने सम्भावना हुन्छ। खाना खाँदै मोबाइल, टिभी हेर्ने बच्चाले खानेकुरामा ध्यान नदिँदा आवश्यकताभन्दा बढी खाएर मोटोपन हुने र नखाएर तौल कम हुने समस्या पनि आउन सक्छ,’ उनले भने।
बच्चाले खाना खाएन भनेर टिभी, मोबाइल र आइप्याडको लत लगाउन नहुने मनोविद् शर्मा बताउँछिन्। उनी भन्छिन्, ‘बच्चाले खाना खाएन भनेर टेलिभिजन खोलिन्छ, मोबाइल दिइन्छ, आइप्याड अगाडि सारिन्छ। अनि मात्रै खाना मुखमा हालिन्छ। यसो गर्दा बच्चाले खाना त निल्ला तर त्यसले दिनुपर्ने पोषक तत्व शरीरमा पर्दैन। बच्चाको ध्यान कार्टुनतिर लगाइदिएर खाना मात्र कोच्याइरहँदा उसको पाचन प्रणाली कमजोर हुन सक्छ। किनभने, खाना चपाउँदादेखि नै शरीरले पौष्टिक तत्व प्राप्त गर्नुपर्छ।’
बच्चालाई खुवाइरहेको खानेकुरा पोषणयुक्त छ?
नेपालमा विगत दुई दशकयता बालबालिकामा पोषणको दर घटेको छ। तर पनि पोषणयुक्त खानेकुरा मिलाएर खुवाउने वातावरण नबनेको चापागाईं बताउँछन्।
‘नेपालमा अझै पनि माछा, मासु र अण्डा मात्रै पौष्टिक तत्व भएको खानेकुरा हो भन्ने बुझाइ छ। माछा–मासु खायो भने मात्रै बच्चा स्वस्थ हुने बुझाइले घरका अन्य खानेकुरा राम्रोसँग नखाने, नबनाउने गरिन्छ। तर पूर्ण साकाहारी बच्चा पनि निकै स्वस्थ हुने अनुसन्धानहरूले देखाएका छन्,’ उनले भने।
पछिल्लो समय सुनौला हजार दिन, दिवा खाजा जस्ता कार्यक्रमको अवधारणाले कुपोषणको रोकथाम गर्न धेरै सहयोग गरेको छ। राम्रो पोषण पाएका बालबालिका भविष्यमा हृदय रोग, मधुमेह र क्यान्सर जस्ता नसर्ने रोगबाट बच्न सक्छन्। तर उमेर र आवश्यकता अनुसार पोषण पाउन सकेनन् भने बच्चालाई कुपोषण हुने चिकित्सकहरू बताउँछन्।
नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेको तथ्यांक अनुसार कुपोषणका कारण बच्चाहरू पुड्का हुन्छन्, जसको उपचार सम्भव नै छैन।
नेपालमा सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपनको संख्या सन् २०१६ मा घटेर ३६ प्रतिशत पुगेको छ। सोही समयावधिमा न्यून वजन ४२ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ र ख्याउटेपन १५ प्रतिशतबाट घटेर १० प्रतिशत पुगेको युनिसेफको तथ्यांकमा उल्लेख छ।
संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ (एसडिजी) को दोस्रो बुँदामा ‘शून्य भोकमरी’ को लक्ष्य रहेको छ। जहाँ सबै प्रकारका कुपोषणको अन्त्य गर्ने र किशोरी, गर्भवती तथा सुत्केरी र अन्य व्यक्तिका पोषणसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने भनिएको छ।
दिगो विकास लक्ष्यको उद्देश्य सन् २०३० सम्ममा गरिबी अन्त्य गर्नु हो। २०३० सम्ममा भोकमरीको अन्त्य गर्ने तथा सबै मानिस खासगरी शिशु लगायत गरिब र कमजोर व्यक्तिहरूलाई वर्षभरि नै सुरक्षित र पर्याप्त पौष्टिक खानामाथिको पहुँच सुनिश्चित गर्ने, सबै खाले कुपोषण अन्त्य गर्ने र सन् २०२५ सम्ममा पाँच वर्ष मुनिका बच्चाहरूमा हुने वृद्धि रोकिने र दुब्लो–पातलो हुने जस्ता रोगसम्बन्धी अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्ने रहेको छ।
साथै, किशोर–किशोरी, गर्भवती र दूध आउने महिला र वृद्ध व्यक्तिहरूको पोषणसम्बन्धी आवश्यकता पहिचान गर्ने भनिएको छ।
केही दिनअघि मात्रै कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण पुष्टि भएको समाचार आएको थियो। कर्णालीमा पछिल्लो तीन वर्षमा २ हजार ७ सय ८४ बालबालिका कुपोषण लागेर स्वास्थ्य चौकी भर्ना भएको तथ्यांक छ।
कर्णालीमा मात्रै होइन, देशका धेरै ठाउँमा कुपोषण भएका बालबालिका थुप्रै छन्। नेपालको संविधानको धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने उल्लेख छ। प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने पनि सोही धारामा उल्लेख छ।
नेपालका अधिकांश अभिभावकलाई पोषण सम्बन्धी ज्ञान छैन। हरेक आमाबाबुलाई पोषण सम्बन्धी ज्ञान हुने हो भने जंक फुडको प्रयोग कम हुने र कुपोषण पनि घट्ने पोषणविद् प्रधानको भनाइ छ।
दिवा खाजा कार्यक्रमः १५ रुपैयाँमा बन्छ त पोषणयुक्त खाजा?
सरकारले सामुदायिक विद्यालयमा पोषणयुक्त दिवा खाजाको सुरुवात गरेको छ। देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको हो।
सरकारले प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँका दरले बजेट छुट्याएको छ। जसमा पोषणयुक्त खाजाको मापदण्ड बनाइएको छ। हरेक विद्यालयले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी उक्त मापदण्ड अनुसार क्यालोरी, प्रोटिन, फ्याट, आयोडिन, आइरन, जिंक र भिटामिन ए मिलाएर खाजा तयार पार्नुपर्ने व्यवस्था छ।
स्कुलले मापदण्ड अनुसार दिवा खाजा कार्यक्रम सञ्चालन गरेमा बालबालिकाहरू नियमित स्कुल जाने र कुपोषण पनि केही हदसम्म नियन्त्रण हुन सहयोग पुग्ने आकलन गर्न सकिन्छ।
तर, १५ रुपैयाँमा पोषणयुक्त खाजा खुवाउन निकै मुस्किल परेको गोरखाको धारापानी माध्यमिक विद्यालयकी प्रधानाध्यापक शान्ता सापकोटा बताउँछिन्। ‘अहिले यस्तो महँगी बढेको छ, १५ रुपैयाँले खाजा त खुवाउन सकिएला तर पोषणयुक्त खाजा भने खुवाउन नसकिने स्थिति आएको छ। यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भनिन्।
सामुदायिक विद्यालयले मात्रै होइन, प्राइभेट विद्यालय र प्रि–स्कुलहरूले समेत स्कुलमा जंक फुड निषेध गर्ने हो भने शारीरिक र मानसिक समस्याबाट बालबालिकालाई बचाउन सकिने डा चापागाईं बताउँछन्।
कस्ता खानेकुरा खुवाउने त?
पोषणविद् प्रधानका अनुसार बालबालिकालाई हुर्किने समयमा प्रोटिनयुक्त खानेकुराको धेरै आवश्यकता पर्छ। तर एक वर्षसम्मका बालबालिकाको मिर्गौला परिपक्क नहुने हुनाले धेरै प्रोटिनयुक्त खाना मात्रै पनि पचाउन अप्ठेरो हुने उनी बताउँछिन्।
प्रोटिनसँगै खानामा फाइबर र हरियो सागपातको मात्रा बढाउनुका साथै बालबालिकालाई फलफूलको लत लगाउनुपर्ने उनको भनाइ छ। प्रधान भन्छिन्, ‘माछा–मासु खाने बच्चाहरूलाई थोरै–थोरै गरेर खुवाउने, उमेर अनुसार उनीहरूलाई मनपर्ने फलफूल दिने, खानेकुरा बेलाबेलामा खुवाइरहने गर्नुपर्छ।’
बजारमा पाइने चोकोज, बिस्कुट, कर्नफ्लेक्स, चाउचाउ जस्ता धेरै क्यालोरी र फ्याट भएका खानेकुरा कम गरेर घरमै रोटी, तरकारी, हलुवा जस्ता खानेकुरामा जोड दिनुपर्ने प्रधान बताउँछिन्। साथै, बच्चाको उमेर अनुसार खुवाउनुपर्ने पोषणको ज्ञान पनि हरेक अभिभावकले राख्नुपर्ने उनको सुझाव छ।
विस्तारै बालबालिकालाई स्वस्थ खानेकुराको लत लगाएमा जंक फुडबाट छुटकारा मिल्नुका साथै बच्चाको शारीरिक र मानसिक विकासमा पनि मद्दत मिल्ने डा चापागाईं बताउँछन्।