काठमाडौं– चितवनकी १० वर्षीया निशा कक्षा ६ मा अध्ययन गर्दै थिइन्। खेल्न–कुद्न निकै रुचाउने उनी त्यस दिन पनि विद्यालय छुट्टी भएपछि साथीहरुसँग खेल्दै थिइन्।
खेल्दाखेल्दै साथीहरु एकाएक रोकिए। र, निशालाई हेर्न थाले। साथीहरु एकापसमा कानेखुसी गर्न थाले। कारण, उनको कपडामा रगत लागेछ। एक जना साथीले कपडामा रगत लागेको बताएपछि निशा आत्तिएर घर पुगिन् र आमालाई कपडामा लागेको रगत देखाइन्। देख्ने बित्तिकै आमाले छोरी महिनावारी भएको थाहा पाइहालिन्।
निशा भन्छिन्, ‘मेरो कपडामा लागेको रगत देखेपछि आमा एकछिन हतास हुनुभयो। हतार–हतार प्याड दिनुभयो। घरमा कहिले पनि महिनावारीबारे खुलेर कुरा हुन्थेन। पहिलो पटक महिनावारी हुँदा के भएको भन्ने आफैंलाई थाहा भएन। म त एकछिन के भएको होला भनेर सोचेर बसेँ।’
निशाका तीन दिदी–बहिनी। उनी सबैभन्दा कान्छी। दिदीहरु महिनावारी भएको बेला उनले देखेकी त थिइन्। तर घरमा कसैले पनि खुलेर कुरा गर्दैनथे। महिनावारीबारे सुने पनि व्यवस्थापन कसरी गर्ने भनेर अन्जान नै थिइन्।
केही महिनासम्म उनको स्याहार दिदीले नै गरिन्। प्याड किनेर ल्याइदिने, लगाइदिनेदेखि सबै काम दिदीले नै गर्ने गरेको निशा बताउँछिन्।
‘५/६ महिनासम्म मेरो हेरविचार दिदीले नै गर्नुभयो,’ उनले भनिन्, ‘प्याड लगाइदिनेदेखि फेरिदिनेसम्म उहाँले गरिदिनुहुन्थ्यो।’
महिनावारी हुँदा निशाको पढाइ सधैं छुट्थ्यो। साथीले के भन्लान्, स्कुलमा जाँदा कपडामा रगत लाग्यो भने के गर्ने भन्ने डरका कारण उनी विद्यालयमा अनुपस्थित हुन्थिन्। एक प्रकारको लाज अनि डर उनको मनमा थियो।
भन्छिन्, ‘यदि घरमा ममी या दिदीले महिनावारीबारे मलाई भन्नुभएको भए सायद म केही हदसम्म तयार हुन्थें होला। मलाई जति अप्ठ्यारो भयो त्यो हुँदैनथ्यो कि।’
०००
भक्तपुरकी एक बालिका कक्षा पाँचमा पढ्दै गर्दा पहिलो पटक महिनावारी भइन्। उनको उमेर ९ वर्ष मात्र थियो।
खेल्ने–कुद्ने उमेरमा महिनावारी भएको उनले चाल नै पाइनन्। न साथीलाई भन्न सकिन् न आमालाई नै। पहिलो पटकको महिनावारीलाई व्यवस्थापन गर्नु उनको लागि पनि सहज भएन। महिनावारी व्यवस्थापनको त परको कुरा आफू महिनावारी भएको भनेर ठम्याउन नै गाह्रो पर्यो।
महिनावारीबारे ती बालिकालाई थाहा नै नभएको पनि होइन। तर महिनावारी कसरी हुन्छ ? हुँदा कसरी व्यवस्थापन गर्ने? भन्ने विषयमा भने उनी अनभिज्ञ थिइन्। परिवारमा पनि उनलाई कसैले महिनावारीबारे खुलेर जानकारी दिएका थिएनन्।
उनले भनिन्, ‘सानै उमेरमा महिनावारी भएँ। मलाई त सम्हाल्नै गाह्रो भयो। सुरुमा त के भयो भन्ने कुरा म आफंैले बुझ्न सकिनँ।’
महिनावारी हुँदा उनलाई विद्यालय जान निकै समस्या हुन्थ्यो। त्यो बेला विद्यालयमा सधैं अनुपस्थित हुन थालिन्। कसैले थाहा पाउँछ कि, देख्छ कि भन्ने डरले उनलाई सताइरहन्थ्यो।
‘प्याड लगाउन निकै समस्या हुन्थ्यो। कपडामा रगत लाग्छ कि, कसैले देख्छ कि भन्ने डरले स्कुल नै जाँदैनथें। खेल्न पनि गइनँ म त,’ ती बालिकाले भनिन्।
०००
छिटो महिनावारी हुने समस्यालाई उनीहरु जस्ता अधिकांश किशोरीले झेलिरहेका छन्। महिनावारी समस्या होइन। तर परिवर्तन भएको महिनावारीको समय र चक्र भने समस्या हो।
महिनावारी महिलामा हुने नियमित मासिक अनि प्राकृतिक प्रक्रिया हो। अर्को शब्दमा भन्नुपर्दा उनीहरु यौवन अवस्थामा प्रवेश गरेको संकेत हो महिनावारी।
महिलाका लागि महिनावारी सामान्य हुनुपर्ने हो। तर मानसिक र शारीरिक रुपमा तयार नहुँदै महिनावारी हुँदा अधिकांशको लागि जटिल बनिदिन्छ। सहज रुपले व्यवस्थापन गर्न उनीहरु तयार नै हुँदैनन्।
न त अभिभावकले महिनावारीबारे जानकारी दिएका थिए न त उनीहरु मानसिक र शारीरिक रुपमा तयार नै थिए।
अस्वस्थकर खानपान र जीवनशैली मुख्य कारण
१२ वर्षको उमेरपछि हुने महिनावारी सामान्य हो। तर अहिले बालिकाहरु छिट्टै महिनावारी हुन थालेका छन्। १० वर्ष वा ९ वर्षकै उमेरमा पनि महिनावारी भइरहेका छन्। १२ वर्षदेखि ५०/५५ वर्षसम्म महिनावारी हुने उमेर हो।
महिनावारी छिटो हुने मात्र होइन, रोकिने समयमा पनि परिवर्तन आएको छ। पहिले ४५/४६ वर्षको उमेरमा रोकिने महिनावारीको उमेर अहिले ५०/५५ वर्षसम्म लम्बिएको छ।
महिनावारी हुने उमेर नेपालमा मात्र नभई विश्वमै घट्दै गएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन्।
उनी भन्छन्, ‘महिनावारी हुने समय ठ्याक्कै यत्ति नै हो भनेर भन्न सकिँदैन। महिला अनुसार फरक पर्छ। तर सामान्यतया १२ वर्षपछि र ५० देखि ५५ वर्षसम्मको उमेर महिनावारी हुने समय हो। त्यो भन्दा धेरै अघि र पछिसम्म पनि भयो भने केही कारण छ कि भनेर जाँच गराउनुपर्छ।’
उनका अनुसार महिनावारी हुने उमेर घट्दै जानुको यकिन कारण छैन। तर वातावरणीय प्रभाव, अस्वस्थकर खानपान र निष्क्रिय जीवनशैलीलाई यसको मुख्य जिम्मेवार मानिएको छ।
अत्यधिक प्रशोधित र तयारी खानाका कारण बालबालिकामा मोटोपनाको समस्या बढ्दो छ। अनावश्यक मोटोपनाले पनि महिनावारी हुने समयलाई असर पार्ने गरेको डा सुवेदी बताउँछन्। परिवारका अन्य सदस्य छिटो महिनावारी हुने गरेका छन् भने पनि यसले प्रभाव पार्ने उनले बताए।
‘अस्थकर जीवनशैली र खानपानले यसरी नै प्रभाव पार्छ भन्ने छैन। चिनी भएको र तयारी प्रशोधित खानाले मोटोपना बढाउँछ,’ उनले भने, ‘मोटोपनाले शरीरमा स्ट्रोजोन हर्मोन बढाइदिन्छ। हर्मोन बढेपछि शरीरमा वृद्धि विकास छिटो हुन्छ र महिनावारी पनि चाँडो हुन्छ।’
कुनै स्वास्थ्य समस्या भएमा पनि छिटो महिनावारी हुने डा सुवेदीले बताए। ओभरीको क्यान्सर र पाठेघरको भित्ताको क्यान्सरका कारण पनि छिटो महिनावारी हुन सक्ने उनले बताए।
कतिपयमा ओभरीको ट्युमरका कारण पनि छिटो महिनावारी हुने गरेको उनले बताए। डा सुवेदीले भने, ‘छिटो महिनावारी हुने महिलामा ओभरीको क्यान्सर र पाठेघरको भित्ताको क्यान्सरको जोखिम रहन्छ। सबैमा हुन्छ भन्ने छैन तर केहीमा जोखिम हुन्छ।’
महिनावारी छिटो हुने कारणमा वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा अचला वैद्य पनि डा सुवेदीकै कुरामा सहमत छिन्। बदलिएको खानपान र वातावरणीय प्रभावका कारण किशोरीहरु छिटो महिनावारी हुन थालेको उनले बताइन्।
‘मुख्य कुरा खानपान नै हो। खानपान नै पहिलेभन्दा अहिले फरक छ। वातावरणीय परिवर्तन पनि हुन सक्छ। त्यसैले किशोरीहरु छिटो परिपक्क हुने अनि महिनावारी हुन थालेका छन्,’ उनले भनिन्।
असन्तुलित खानपान अनि व्यायाम नगर्ने बानीले मोटोपनाको समस्या निम्त्याउँछ। डा. वैद्यका अनुसार मोटोपना भए शरीरमा रहेको फ्याट इष्ट्रोजेन हर्मोनमा परिणत हुन्छ। शरीर जति मोटो भयो इष्ट्रोजेन हर्मोन बढ्दै जान्छ। शरीरमा इष्ट्रोजेन हर्मोन बढ्दै जाँदा छिटो महिनावारी हुने उनले बताइन्।
छिटो महिनावारी हुनु समस्या हो ?
चिकित्सकका अनुसार छिटो महिनावारी हुनु भने समस्या होइन। बदलिएको जीवनशैली र खानपानले अधिकांश किशोरीहरु छिटो महिनावारी हुन थालेका हुन्।
छिटो महिनावारी हुनु त्यो बेला समस्या मानिन्छ, जब उसको शारीरिक विकास राम्रोसँग भएको हुँदैन। स्तनको विकास, यौनांग तथा काखीमा रौं आउने लगायतका परिवर्तनले फरक पार्छ।
महिनावारी हुने सामान्य समय १२ वर्षपछि हो। तर १६ वर्षसम्म पनि महिनावारी नभए पनि त्यो असामान्य हो। महिनावारीसँगै शरीरमा हुने वृद्धि विकासको तालमेल पनि मिल्न जरुरी हुन्छ।
डा सुवेदीका अनुसार किशोरीमा पहिले स्तनको विकास हुन्छ। काखीमुनि र यौनांग वरिपरि रौं आउन थाल्छ। उचाइ बढ्छ। त्यसपछि मात्र महिनावारी हुने हो।
१६ वर्षसम्म यी सबै कुराको विकास भएको छ तर महिनावारी भएको छैन भने परीक्षण गराउनुपर्छ। १४ वर्षसम्म पनि स्तनको विकास भएन र यौनांगमा रौं पनि आउन थालेन भने त्यो बेला नै परीक्षण गराउनुपर्ने उनले बताए।
डा. सुवेदी भन्छन्, ‘यदि उमेर अनुसार स्तन र यौनांगमा पनि विकास भइरहेको छ भने छिटो महिनावारी हुनुलाई सामान्य मान्न सकिन्छ। तर शरीरमा यी विकास भएको छैन तर महिनावारी मात्र भएको छ भने असामान्य मान्नुपर्छ र समस्याको रुपमा लिनुपर्छ।’
धेरै छिटो महिनावारी हुने किशोरीहरुमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन सक्छन्। तर त यो सम्भावना भने कम हुन्छ। छिटो महिनावारी हुँदा शरीरमा हर्मोनको एक्स्पोज बढी हुन्छ। १२ वर्ष र १४ वर्षमा हुने महिनावारीमा धेरै फरक पर्ने डा सुवेदी बताउँछन्। छिटो महिनावारी हुनेमा पाठेघरको मुख र भित्ताको क्यान्सरको सम्भावना बढी हुन्छ।
योसँगै मधुमेह र रक्तचापको समस्या हुने सम्भावना पनि हुन्छ। उनले भने, ‘यो फेरि के कारणले चाँडो महिनावारी भयो भन्नेमै जोडिन्छ। प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा मोटोपनासँगै जोडिन्छ। जुन हर्मोनले छिटो महिनावारी गरायो, त्यही हर्मोनले पछि मधुमेह र रक्तचापको समस्या गराउने सम्भावना हुन्छ।’
छिटो महिनावारी हुँदा प्रजनन् स्वास्थ्यमा असर गर्ने भन्ने चाहिँ नहुने उनले बताए।
छिटो र बीचमा केही वर्षको अन्तरालमा महिनावारी हुने गर्छ। अधिकांश अभिभावकहरु पहिलो पटकको महिनावारी भएपछि रगत धेरै बगेको, महिनावारी अनियमिता भएको गुनासो लिएर अस्पताल पुग्ने गरेको डा सुवेदी बताउँछन्।
पहिलो पटक महिनावारी हुँदा धेरै र लामो समयसम्म पनि रगत बगे चिकित्सकसँग तत्काल परामर्श गर्नुपर्ने डा वैद्यले बताइन्। पहिलो पटक महिनावारी भएको ३/४ महिनादेखि वर्षसम्म पनि अन्तर रहने गरेको डा. वैद्यले बताइन्।
उनका अनुसार छिटो महिनावारी हुँदा मस्तिष्क तयार भइसकेको हुँदैन। मस्तिष्कबाट सञ्चालन हुने हाइपोथालामिक पिट्युटरी ओभरियन एक्सेस हर्मोनल सन्तुलन नमिल्दा ३/४ महिनासम्म अन्तर रहन सक्छ।
ओभरी गर्भासयमा र हाइपोथालामिक पिट्युटरी हर्मोन मस्तिष्कमा हुन्छ। तर छिटो महिनावारी हुँदा यो दुई हर्मोनबीच तालमेल मिल्दैन। जसका कारण महिनावारी गडबड हुने समस्या हुन्छ। १६ वर्षदेखि मात्र महिनावारी नियमित रुपमा हुने उनले जानकारी दिइन्।
आत्तिने होइन, अभ्यस्त बनाऔं
छिटो महिनावारी हुँदा किशोरीहरु शारीरिक रुपमा परिपक्क भइसकेका हुँदैनन् भने मानसिक रुपमा पनि तयार भएका हुँदैनन्। शरीरमा आएको परिवर्तनलाई उनीहरुले सहज रुपमा स्वीकार गर्न सक्ने अवस्थामा पनि हुँदैनन्। त्यसैले पहिलो पटक महिनावारी हुँदा आत्तिने, डराउने हुन्छन्।
डा सुवेदी भन्छन्, ‘यो अवस्थामा किशोरीहरु धेरै आत्तिएको देख्छु। उनीहरुले महिनावारीलाई व्यवस्थापन गर्न सिकेकै हुँदैनन्। बुझेकै हुँदैनन्। मानसिक रुपमा तयार भएकै हुँदैनन्। अघि–पछि हुनेहरुले कक्षामा अरु साथी महिनावारी भएको देखेर बुझ्छन्। तर छिटो हुनेहरुमा के भयो ?, कसलाई भन्ने ? जस्ता अन्योल देखिन्छ।’
९/१० वर्षको उमेरदेखि नै अभिभावकले छोरीहरुलाई महिनावारीबारे जानकारी दिनुपर्ने उनी बताउँछन्। योसँगै खानपान र जीवनशैलीमा पनि अभिभावकले ध्यान दिनुपर्ने उनले बताए।
१२ वर्षमै महिनावारी हुँदा आत्तिइहाल्नु नपर्ने भन्दै उनी अधिकांश किशोरीहरु १२ वर्षमै महिनावारी हुने भएकाले बरु यसलाई कसरी अभ्यस्त बनाउने, व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने सुझाव दिन्छन्।
यता डा अचला वैद्य आमाको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै भन्छिन्, ‘आमाको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। किशोरीहरु महिनावारीका लागि शारीरिक र मानसिक रुपमा तयार भइसकेका हुँदैनन्। यो बेलामा अभिभावकले साथीको भूमिका निभाउनुपर्छ।’
महिनावारी भनेको के हो ?, महिनावारी हुँदा कसरी व्यवस्थापन गर्ने, सरसफाइमा कसरी ध्यान दिने जस्ता कुरा आमाले नै बताउनुपर्ने भए पनि अधिकांश अभिभावकले खासी चासो दिने नगरेको उनको भनाइ छ।
डा वैद्य भन्छिन्, ‘हामीकहाँ आउँदा आमा नै छक्क पर्छन्। हामी त १५ वर्षमा महिनावारी भएका थियौं। मेरो छोरी कसरी छिटो भई भन्ने प्रश्न धेरै अभिभावकले गर्छन्।’
महिनावारी भएपछि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्नेमा उनको जोड छ। सरसफाइमा ध्यान नदिए विभिन्न संक्रमणदेखि रोगको खतरा हुन्छ।
अभिभावकले उनीहरुको खानपानमा विशेष ध्यान दिनुपर्ने उनले बताइन्। उनी भन्छिन्, ‘तौल नियन्त्रणमा राख्न सन्तुलित खाना खानुपर्छ। साथै, यौन शिक्षा अभिभावक र बालबालिका सबैका लागि महत्वपूर्ण हुन्छ।’