काठमाडौं- काठमाडौं उपत्यकामा डेंगुका बिरामी दैनिक थपिँदै गएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार काठमाडौं उपत्याकामा तीन दिनमा एक हजार दुई सय चार जना डेंगुका बिरामी फेला परेका छन्।
महाशाखाका अनुसार उपचारका लागि अस्पतालमा आइपुगेका बिरामीहरुको रिपोर्टेड संख्या अनुसार पछिल्लो तीन दिनमा सबैभन्दा धेरै ललितपुरमा ६४७, काठमाडौंमा ५२२ र भकत्पुरमा ३५ जना नयाँ बिरामी थपिएका हुन्। तीन दिनमा थपिएका डेंगुका बिरामीसहित काठमाडौंका तीनवटै जिल्लामा डेंगुका बिरामी चार हजार २३ जना पुगेका छन्।
उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै ललितपुरमा दुई हजार चार सय ७९, काठमाडौंमा एक हजार चार सय १० र भक्तपुरमा एक सय ३४ डेंगुका बिरामी छन्।
महाशाखाका अनुसार जेठयता देशभर डेंगुका बिरामी देखिने क्रम बढेको हो। जेठयता देशभर ६ हजार ६ सय ३५ डेंगुका बिरामी भेटिएका छन्। डेंगुका बिरामी सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ५ हजार ६६ जनामा डेंगु फेला परिसकेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ९३३, प्रदेश १ मा २५६, सुदूरपश्चिम प्रदेशमा १६१, गण्डकी प्रदेशमा १२८, मधेश प्रदेशमा ११९ र कर्णाली प्रदेशमा ४४ जना डेंगुका बिरामी भेटिएका छन्।
के हो डेंगु?, कसरी बच्ने?
डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्छ। यो लामखुट्टेले प्राय: दिउँसोको समयमा टोक्छ। यो लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि सक्रिय हुने गर्छ।
डेंगुको लक्षण
- एक्कासी उच्च ज्वरो आउने
- ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने
- अत्यधिक टाउको दुख्ने
- आँखाको गेडी दुख्ने
- हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने
- शरीरमा बिमिरा आउने
- रिंगटा लाग्ने
- वाकवाकी लाग्ने, बान्ता हुने।
डेंगुका गम्भीर लक्षण
- लगातार बान्ता हुने
- बान्तामा रगत देखा पर्ने
- धेरै पेट दुख्ने
- श्वासप्रश्वासमा समस्या आउने
- नाक वा गिजाबाट रगत बग्ने
- रक्तश्राव हुने
- बेहोस हुने।
बच्ने उपाय
- पूरा शरीर ढाकिने गरी कपडा लगाउने
- लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने
- सुत्दा झुलको प्रयोग गर्ने
- झ्याल-ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने
- लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने।
डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फूल पार्छ। पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ।
डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन्।