धनगढी- धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेको केजी अस्पताल मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ। अस्पतालले स्वास्थ्य संस्था संचालन मापदण्ड पहिलो संशोधन २०७७ अनुसारका अधिकांश मापदण्ड पूरा गरेको छैन।
मापदण्ड नै पूरा नगरी चलेको अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह हुन नसक्ने विज्ञहरु बताउँछन्। 'अस्पतालले मापदण्ड अनुसार सेवा नै दिन सकेको छैन,' स्वास्थ्य कार्यालय कैलालीका एक कर्मचारीले भने, 'मापदण्ड नै नपुगेको अस्पतालको सेवा कस्तो होला? उक्त अस्पताललाई कारबाही गर्ने विषयमा पनि छलफल चलेको छ।'
अस्पतालमा मापदण्डअनुसार हुनुपर्ने पूर्वाधार, उपकरण र जनशक्ति नै छैनन्। यहाँसम्मकी १५ शय्याका लागि शर्तसहित अस्थीय अनुमति पाएको अस्पतालले अनुमती दिने समयमा पूरा गर्नु भनेका शर्तहरु समेत पूरा गरेको छैन।
अस्पतालले कुनै पनि निकायमा दर्ता नगरी आफूखुशी १५ बाट २५ शय्यामा स्तरोन्नति गरेको समेत पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा १५ शय्यामा सञ्चालन गर्ने भन्दै भौतिक संरचना तयार गरेको अस्पतालले अहिले २५ शय्या चलाइरहेको छ। अस्पतालका लागि बनाइएको पूर्वाधार १५ शय्याका लागि पनि मापदण्ड अनुसार नभएको पाइएको छ।
अस्पताल संचालन गर्नुअघि आवश्यक सामाग्री ल्याउँदा भन्सार छुट तथा आयातमा सहजता ल्याउन सो अस्पतालले संचालन दर्ताका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयमा निवेदन पेश गरेको थियो ।
धनगढी उपमहानगरपालिकामा २०७७ साल साउन २१ गते सो अस्पताललाई उपमहानगरपालिकाले अनुगमन तथा निरिक्षण गर्ने भन्दै १५ शय्याको अस्पतालका रुपमा अस्थायी अनुमति पत्र दिएको थियो। सोही पत्रलाई दर्ता गरिएको भन्दै अस्पतालले स्वास्थ्य कार्यालय कैलालीमा २०७८ साउनमा २५ शय्याको अस्पतालका रुपमा स्तरोन्नति अनुमति लिएको छ। तर २५ शय्या सञ्चालनका लागि अस्पतालले कुनै पनि मापदण्ड पूरा गर्न सकेको छैन।
जनस्वास्थ्य ऐन तयार नगरेको धनगढी उपमहानगरपालिकाले अस्पतालको अनुगमननै नगरी स्थानीय सरकार संचालन ऐनको दफा ११ को उपदफा ‘क’ को ‘ख’ बमोजिम पाँच वर्षका लागि अस्पताल संचालन गर्न स्वीकृति दिएको देखिन्छ। तत्कालिन नगर प्रमुख नृपबहादुर वडद्धारा हस्ताक्षरित सो पत्रमा भनिएको छ ‘अनुगमन तथा निरीक्षणको क्रममा निर्देशिकाको पालना नगरी कुनै किसिमको कमजोरी भएको पाइएमा आवश्यक कारबाही भैजाने व्यहोरा जानकारी गराइन्छ।’
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले उपलब्ध गराएको दर्ता तथा नविकरणका लागि आवेदन पेश गरेको विवरणमा सो अस्पतालको नाम छैन। धनगढी उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुम्भराज शर्माले धनगढीमा आठ अस्पतालको नयाँ तथा नविकरण दर्ताका लागि आवेदन पेश भएको बताए। उनले भने ‘उपमहानगरपालिकामा पेश भएको निवेदनमध्ये तत्कालिन नगर प्रमुख वडको एकल निर्णयबाट धनगढी वडा नम्बर १ मा सञ्चालनमा रहेको सारथी अस्पताललाई सञ्चालन स्वीकृति दिइएको थियो। अन्य अस्पतालको कुनै पनि प्रक्रिया अघि बढेको छैन।’
एक कर्मचारीका अनुसार तत्कालिन समयमा सो अस्पतालले स्थानको पनि टुङ्गो लगाएको थिएन। ‘सामान भन्सारमा अड्किएकाले सहजता ल्याउन उपमहानगरपालिकाले अस्थायी रुपमा कागजपत्र बनाएको थियो’ ती कर्मचारी भन्छन ‘भौतिक संरचना तयार भएपछि अस्पताल दर्ता प्रक्रियामा आएको छैन।’ सो अस्पतालले धनगढी उपमहानगरपालिकाबाट दर्ता नगरी गत वर्ष स्वास्थ्य कार्यालयबाट स्तरोन्नतिका लागि अनुमति लिएको छ।
सो बेला स्वास्थ्य कार्यालयले बिरामी छनौट गर्नुपर्ने कक्ष बनाउनुपर्ने, फोहोरमैला व्यवस्थापनका लागि कलर कोड भएको बाल्टीको प्रयोग व्यवस्थित रुपले गर्नुपर्ने, बाल चिकित्सक क्लिनिक, इएनटी क्लिनिक, डेन्टल क्लिनिक, लाईब्रेरीको अविलम्बन व्यवस्थापन गर्नुपर्ने, बायोकेमिस्ट, प्याथोलोजिस्ट, इएनटी सर्जन, नेफ्रोलोजिस्ट, डेन्टल, काड्रियोलोजिस्ट, न्यूरोलोजिष्ट, अडियोलोजिष्ट, थेरापिष्टको व्यवस्थापन गर्नुपर्ने, नागरिक वडा पत्र बनाउनुपर्ने लगायतको सुझाव दिएको थियो।
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको स्तरोन्नति अनुमति पत्रमा भनिएको छ ‘सुझाव दिइएका क्रियाकलापमा अविलम्ब सुधार गरि सञ्चालनमा ल्याउने शर्तमा तथा प्रत्येक महिना ‘डिएचआईसी २’ प्रगति प्रतिवेदन ‘इन्ट्री’ गर्ने गरी एक वर्षका लागि अनुमति प्रदान गरिएको छ।’
सो अस्पतालको नविकरण अवधि पुरा भएपनि अहिलेसम्म स्वास्थ्य कार्यालय कैलालीमा नविकरणका लागि निवेदन पेश गरेको छैन। स्वास्थ्य संचालन मापदण्ड विपरित स्तरोन्नित अनुमति पाएको सो अस्पतालले सुझाव हुवहु कार्यान्वयन गर्न सकेको छैन।
स्वास्थ संस्था संचालन मापदण्ड अनुसार १५ शय्या अस्पतालले एक जना एमडिजिपी, प्रसूति राेग विशेषज्ञ, बालरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, दुई जना मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, सात जना नर्सिङ स्टाफ, पाँच प्रारमेडिक स्टाफ, एक एनेस्थेटिक सहायक र डेन्टल हाइजेनिष्ट हुनुपर्ने व्यवस्था रहेको छ। तर अस्पतालमा यस अनुसार जनशक्ति नै छैनन्।
केजी हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा दिपककुमार सिंहले जनरल सर्जरी, स्त्री तथा प्रसूती सेवा, हाडजोर्नी, नसा, मनोरोग सम्बन्धी सेवा, जनरल मेडिसीयन लगायतका सेवाहरु प्रदान गरीरहेको दाबी गरे।
सो अस्पतालले स्वास्थ्य कार्यालय कैलालीले एक वर्ष अघि दिएको सुझावको कार्यान्वयन पनि नगरेको पाइएको छ।
अस्पतालको भवननै अपाङगमैत्री छैन। अस्पताल सञ्चालन मापदण्ड अनुसार पार्किङको व्यवस्था गर्नुपर्ने, शब बाहन, एम्बुलेन्स, क्यान्टिन, फोहोरमैला व्यवस्थापन लगायतको पालना गर्नुपर्ने उल्लेख छ। सो मापदण्ड अनुसार अस्पतालले कुल क्षेत्रफलको जग्गाको २५ प्रतिशत सवारी साधनको पार्किङको लागि छुट्याउनुपर्ने मापदण्डमा उल्लेख छ। तर, सो अस्पतालका कर्मचारी तथा सेवाग्राहीहरुले सवारी साधन सडक छेउमै राख्नुपर्ने व्यवस्था रहेको छ। सञ्चालन अनुमति लिँदा अस्पताल भवनको पछाडी पट्टी पार्किङ बनाउने भनेपनि अस्पतालले सेवा थप गर्न सो क्षेत्रमा भवन निर्माण गरिसकेको छ।
अस्पतालले रक्तसञ्चारको व्यवस्था गर्नुपर्ने, तथ्यांक व्यवस्थापन गर्ने इकाई राख्नुपर्ने मापदण्डमा उल्लेख छ। सो अस्पताल मापदण्ड अनुसार पालना नगरी सञ्चालन भएपनि अहिलेसम्म सम्बन्धित निकायले अनुगमन गरेको छैन।
‘हामीले स्तरोन्नति अनुमति दिँदा अस्पतालको अनुगमन गरेका थियौं। सो बेला विशेषज्ञ सेवासहित थुप्रै कमिकमजोरी भेटिएको थियो। अहिले सो अस्पतालले सुझाव कार्यान्वयन गरे नगरेकोबारे हामीलाई थाहा छैन’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने।