काठमाडौं- काठमाडौं महानगरपालिकाले स्वयम्भुस्थित प्रस्तावित मनमोहन मेमोरियल कलेजको शिक्षण अस्पताल, सिविक अस्पताल र डेन्टल कलेज सामाखुसी, काठमाडौंलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ।
महानगरपालिका राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएता पनि अहिलेसम्म नबुझाएको भन्दै पत्र नै काट्नु परेको बताए।
मंगलबारदेखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने उनले बताए।
‘पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गइ नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु हुन अनुरोध छ,’ उक्त पत्रमा थप भनिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने छ।’