काठमाडौं- नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुर्जी ७२ घण्टा भित्र खारेज गर्न माग गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दे संघले प्रतिष्ठानमै कार्यरत कर्मचारीद्धारा कुटपिटमा परेका डा साहलाई बाल हिंसा विरुद्धको झुटा मुद्दा बनाई पक्राउ पुर्जी जारी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ७२ घण्टा भित्र खारेज गर्न माग गरेको छ।
'अस्पताल वा कार्यस्थलमा कुनै चिकित्सकद्वारा बाल हिंसाको घटना भएको भन्ने शंका लागेमा मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७५ को दफा ७४ को १८९ को उपदफा ३ र ४ बमोजिम अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसुरको अनुसन्धान नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा तोकिए बमोजिम अनुसन्धान गरी कसूर गरेको प्रमाण भेटिएमा निजविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई लेखि पठाउने व्यवस्था छ,' पत्रकार सम्मेलनमा संघका महासचिव बद्री रिजालले भने, 'उक्त व्यवस्थालाई नजर अन्दाज गरी सिधै थुनाको लागि पुर्जी काटेकोमा यसलाई तुरुन्त बदर गरी कानून बमोजिम अगाडी बढ्न सम्पूर्ण सम्बन्धित निकायमा अनुरोध गर्दछौं।'
साथै उनले बिना कुनै कसूर कानुन अनुसार अनुसन्धान नै नभई पूर्वाग्रह राखी थुना पुर्जी जारी भएकोमा सो गैरकानूनी काममा संलग्न व्यक्तिहरुलाई नै कानुनी दायरामा ल्याई कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरेका छन्। उनले चिकित्सक माथि भएको अन्यायलाई ७२ घण्टा भित्र सम्बोधन नभए नेपाल चिकित्सक सघले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने समेत चेतावनी दिए।
गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।
जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।