काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी क्षेत्रीय समितिको ७५ औँ बैठक भुटानमा हुँदैछ। उक्त बैठक आगामी भदौ २० देखि २४ गते दुई चल्नेछ।
डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरुले बैठकमा प्राथमिकता प्राप्त विषयमा छलफल गर्नेछन्। प्राथमिक स्वास्थ्य सेवा तथा सामुदायिक सहभागिता मार्फत मानसिक स्वास्थ्यको सम्बोधन, विद्यमान कोभिड—१९ महामारी तथा उदीयमान खतराहरूको सन्दर्भमा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा हासिल गर्नु बैठकका एजेण्डाहरु हुन्।
आगामी सोमबार शुरु हुने एक हप्ता लामो बैठकमा स्वास्थ्यमन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा स्वास्थ्य क्षेत्रका साझेदारहरूले यी विषय माथि छलफल गर्ने डब्लुएचओ ले जनाएको छ।
बैठकमा दक्षिणपूर्वी एसिया विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक, डा पूनम खेत्रपाल सिंह, विश्व स्वास्थ्य संगठन मुख्यालयका अधिकारी, सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायहरूका प्रतिनिधि, साझेदार, दातृ निकाय, नागरिक सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
यस क्षेत्रमा विश्व स्वास्थ्य संगठनको निर्णय लिने सर्वोच्च निकाय, क्षेत्रीय समितिको बैठक सत्रमा छलफल हुने मुख्य विषयहरूमा नसर्ने रोगहरूप्रति भएको प्रगतिको तथा दु्रत कार्ययोजनाको अनुगमन, क्षयरोग अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि भएको प्रगति, पाठेघरको क्सान्सरको उन्मूलन प्रक्रियालाई गति दिने र स्वास्थ्य क्षेत्रमाकार्यरत जनशक्तिको शिक्षातथातालिमलाई सुदृढीकरण गर्ने आदि रहेका छन्।
‘स्वस्थ जनसङ्ख्याका लागि स्वस्थ वातावरण’ सम्बन्धी क्षेत्रीय योजना सहित यसअघिका क्षेत्रीय समितिका बैठकहरूमा अनुमोदन गरिएका सङ्कल्प प्रस्तावहरू उपर भएका प्रगतिहरूको पनि समीक्षा गरिनेछ। जसमा, कुपोषणको दोहोरो बोझको सम्बोधन गर्नका लागि रणनीतिक योजना, रोकथाम गर्न सकिने मातृ, नवजात शिशु तथा बाल मृत्युको अन्त्य, सन् २०२३ सम्म दादुरा र रुबेलाको उन्मूलन र आपतकालीन चिकित्सकीय टोलीको सुदृढीकरण पनि रहेका छन्।
विश्वको एक चौथाइ जनसंख्या बसोबास गर्नेे यस क्षेत्र सन् २०१४ देखि आठवटा मुख्य कार्यक्रममा केन्द्रित रहेको छ। सन् २०२३ सम्ममा दादुरा र रुबेलाको अन्त्य, बहुक्षेत्रीय नीति तथा योजना मार्फत नसर्ने रोगहरूको सम्बोधन, मातृ, नवजात शिशु तथा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा कमी ल्याउने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई गति दिने, एन्टिमाइक्रोबाइल रेसिस्टेन्सलाई रोक्ने, आपतकालीन जोखिम व्यवस्थापन क्षमतालाई विस्तार गर्ने, उपेक्षित उष्णदेशीय रोगहरूको उन्मूलन गर्ने र क्षयरोगको अन्त्य गर्ने यी क्षेत्रीय प्राथमिकताहरू स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यसँग तादात्म्य रहेका छन्।
विगतका वर्षहरूमा, सदस्य राष्ट्रहरूले यी प्रमुख कार्यक्रममा रहेर स्वास्थ्य तथा आरोग्यको सवालमा उल्लेखनीय उपलब्धि हासिल रहेको डब्लुएचओले जनाएको छ। यो क्षेत्रले सन् २०१४ मा पोलियो रोगको उन्मूलन गरेको थियो भने मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगलाई सन् २०१६ मा उन्मूलन गरेको थियो। मालदिभ्स र श्रीलङ्काले दादुरा र रुबेलादुवै रोगको उन्मूलन गरिसकेका छन् भने भुटान, दक्षिण कोरिया र टिमोर—लेस्टेले दादुरा उन्मूलन गरेका छन्।
मालदिभ्स, श्रीलङ्का र थाइल्याण्डले हात्तीपाइले रोगको उन्मूलन गरेका छन्। नेपाल र म्यानमारले खस्रे रोग (ट्राकोमा) उन्मूलन गरेका छन्। भारत याज रोगमुक्त भएको छ। श्रीलङ्का तथा मालदिभ्सले औलो रोगको उन्मूलन गरेका छन्। थाइल्याण्ड, श्रीलङ्का र मालदिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरिङ्गी रोगको उन्मूलन गरेका छन्। बाङ्लादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बीको नियन्त्रण गरेका छन्।
कोभिड-१९ महामारी शुरु भएयता क्षेत्रीय समितिको बैठक भौतिक रूपमा बस्न लागेको पहिलो पटक हो। सन् २०२१ मा नेपालले आयोजना गरेको र सन् २०२० मा थाइल्याण्डले आयोजना गरेको पछिल्ला दुवै बैठक भर्चुअल रूपमा सञ्चालन गरिएका थिए।