काठमाडौं - आजभन्दा दुई वर्ष पहिले कोरोना भाइरस सबैको लागि नयाँ थियो। स्वास्थ्यकर्मी समेत यो भाइरसँग परिचित थिएनन्।
चीनको वुहान सहरमा कोरोना भाइरस भुसको आगोझैँ फैलिँदै थियो। यता नेपालमा कोरोनाको डरले सबैको मनमा ढ्यांग्रो बजाइरहेको थियो।
कुनै पनि बेला संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यहाँ तयारी बढाउन थालियो। चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीलाई तालिम दिन थालियो।
कोरोनासँग लड्ने साहस भए पनि डर सबैको मनमा थियो। तर डरलाई चुनौती दिँदै कोराना विरुद्धको लडाईंमा स्वास्थ्यकर्मीहरु मैदानमा उत्रिए।
तिनै साहसी स्वास्थ्यकर्मीमध्ये एक हुन्, डा नीरा पाठक।
उनै डा निरा पाठकलाई स्वास्थ्यखबरले यस वर्षको युनाइटेड इमेजिङ हेल्थ अवार्ड प्रदान गरेको छ। कोभिड महामारीमा उनले गरेको योगदानको कदर गर्दै प्रयोगशाला विधा तर्फ डा पाठकलाई कोभिड च्याम्पियन प्रदान गरिएको हो।
०००
भर्खरै एमडीको अध्ययन सकेकी थिइन् उनले। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २०७६ सालमा उनले क्लिनिकल प्याथोेजीमा एमडी गरेकी हुन्। एमडी अध्ययनपछि छात्रवृत्ति करारमा उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा खटाइएको थियो।
पर्सा त्यही जिल्ला हो जुन कोरोना महामारीको पहिलो लहरमा ‘हटस्पट’ को रुपमा चिनिन्थ्यो। दैनिक बढ्दो संक्रमितको चाप नारायणी अस्पताललाई थेगिनसक्नु थियो।
२०७६ पुस महिनामा डा नीरा प्रयोगशाला प्रमुखको रुपमा नारायणी अस्पताल पुगिन्। त्यसबेला नेपालमा कोरोना संक्रमण पुष्टि भइसकेको थिएन। तर चीनमा भने फैलिरहेको थियो। उनी पुग्दा अस्पतालको प्रयोगशालाको अवस्था निकै दयनीय थियो। आधारभूत संरचनाहरु समेत थिएनन्। न आवश्यक उपकरण थिए न त राम्रो संरचना नै थियो। प्रयोगशालाको सुधार नै उनका लागि पहिलो चुनौती बन्यो।
डा नीरा भन्छिन्, ‘नारायणी अस्पतालको प्रयोगशालामा १२ वर्षदेखि प्याथलोजिस्ट नभएको स्थिति रहेछ। एउटा कुनामा सानो प्रयोगशाला चलिरहेको रहेछ। अवस्था दयनीय रहेछ।’
...अनि पुगिन् पहिलो स्वाब लिन
डा नीरा प्रयोगशालाको अवस्था उकास्ने योजना बुन्दै थिइन्। यता कोरोनाको डर बढ्दै थियो। देशभरका अस्पतालहरुलाई सरकारले कोरोनासँग जुध्नका लागि तयार बनाउँदै थियो।
कोरोना संक्रमणको तयारी स्वरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंले स्वास्थ्यकर्मीका लागि एक दिने तालिम दिने निर्णय गर्यो। उक्त तालिममा नारायणी अस्पतालबाट पनि एक जना प्रतिनिधि जानुपर्ने। तर तालिममा जान तयार कोही भएनन्।
‘प्रयोगशालाबाट एक प्रतिनिधि तालिममा पठाउन खोज्यौँ। तर सबैले अस्वीकार गर्नुभयो,’ उनले भनिन्, ‘प्रयोगशालाको प्रमुख भएको नाताले म आफैँ त्यो तालिममा गएँ।’
पीपीई कसरी लगाउने, स्वाब कसरी संकलन गर्ने, संकलन गरिएको स्वाबलाई सुरक्षित तरिकाले कसरी भण्डारण गर्ने, प्रयोगशालासम्म कसरी पठाउने भन्ने विषयमा तालिम केन्द्रित थियो।
नेपालमा कोरोना पुष्टि भइसकेको थिएन। तर कोरोना विरुद्धको लडाईंमा होमिन अस्पताल र स्वास्थ्यकर्मीहरु तयार हुँदै थिए। सम्भावित संक्रमितको स्वाब संकलनका लागि भन्दै नारायणी अस्पतालाई पाँच वटा मात्र भिटिएम पठाइएको थियो। स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान नै भिटिएम हो। यसलाई एक प्रकारको किट (बट्टा) भनेर बुझ्न सकिन्छ।
‘स्वाब संकलनका लागि कतैबाट त्यस्ता केसहरु आए भने तपाईं तयार रहनुपर्छ हैँ’ भनेर अस्पताल प्रमुखले उनलाई भनिरहन्थे। त्यो बेला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्याय थिए। जसले कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विभागीय जिम्मेवारीका हिसाबले त उनी पहिले नै तयार थिइन्। तर मानसिक रुपमा पनि कोरोना विरुद्धको लडार्इंमा होमिन तयार हुँदै थिइन्।
नारायणी अस्पताल रक्सौल नाकाको करिब २० मिनेटको दूरीमै पर्छ। खुला सिमानाका कारण नारायणी अस्पतालले कोरोना विरुद्धको तयारी सुरु गर्दै थियो। कयौँ बैठक बसे। छलफल पनि भए। सबै मिलेर काम गर्ने कुरा पनि भयो। तर जब मैदानमा जाने समय आयो, एक प्रकारको अन्योल र डर सबैको मन थियो। अघि बढ्न कोही मानेनन्।
मनमा मडारिएको डर त्यतिबेला देखियो जब सम्भावित लक्षण भएका एक युवा अस्पताल पुगे। ती युवा भारतको बैंगलोरमा इन्जिनियरिङ अध्ययनरत थिए। ज्वरो आउने, शरीर दुख्ने लक्षण उनीमा देखिएको थियो।
उनको स्वाब संकलनका लागि डा नीरा तयार थिइन्। तर उनको साथमा जान भने कोही तयार थिएनन्। ती बिरामी राखिएको कोठासम्म पुग्दा कयौँ प्रश्न मनमा उब्जिन थालिसकेका थिए।
‘जब सम्भावित लक्षण भएका बिरामी आए, अब उनलाई कहाँ राख्ने भन्ने प्रश्न खडा भयो। हुन त, चार वटा कोठा खाली राखिएको थियो,’ उनी सम्झिन्छन्, ‘अब त्यहाँ कसरी जाने भन्ने अर्को प्रश्न खडा भयो। मैले एक जना सहयोगी मागें। तर ल्याबबाट त्यस्तो सहयोग आएन।’
डा नीराले तालिममा सिकाए जसरी नै पीपीई लगाइन्। भिटिएम हातमा लिइन् र अस्पतालको प्रशासन प्रमुख, मेट्रो नर्सिङ प्रमुखको साथमा पुगिन्, पहिलो स्वाब लिन।
स्वाब लिने क्रममा उनलाई केही डर भएन। मात्र तालिममा सिकाए जसरी सही तरिकाले स्वाब संकलन गर्छु÷गर्दिनँ भन्ने कुराको मात्र डर भयो। पहिलो स्वाब भएकाले पनि डा नीराको मनमा डर उब्जनु स्वभाविक नै थियो। तर उनी सही तरिकाले स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन सफल भइन्।
‘म बस्ने ठाउँबाट हिँड्नै छाडे’
त्यतिखेर नारायणी अस्पताल आफैँले कोरोनाको परीक्षण गर्दैनथ्यो। स्वाब संकलन गर्दै परीक्षणका लागि टेकु नै पठाउनुपर्ने बाध्यता थियो। संकलन गरिएका स्वाबहरु कहिले एम्बुलेन्स त कहिले नेपाली सेनाको हेलिकोप्टरमार्फत टेकु लगिन्थ्यो। रिपोर्टको नतिजा आउन १५ दिन लाग्थ्यो।
डा नीरा अस्पतालकै क्वाटरमा बस्थिन्। स्वाब संकलन गरेपछि संक्रमण सर्ने हो कि भन्ने डरले सहकर्मीहरु नै उनीसँग टाढा भाग्न थाले। नजिक पर्ने त परको कुरा, हिँड्ने बाटो नै परिवर्तन भयो।
‘म बस्ने घरभेटी पनि अर्कै बाटो हिँड्थे। उहाँले स्वाब संकलन गरेको हो, संक्रमण जसरी पनि फैलिन्छ भन्ने त्रास भएछ। म त ल्याब नै जान नहुने भयो,’ उनले भनिन्।
सहकर्मीहरु उनी दायाँबाट हिँड्दा बायाँबाट हिँड्थे। सहकर्मीको व्यवहारमा आएको परिवर्तनलाई उनले सहजै बुझिन्। त्यो कोरोनाले निम्त्याएको डर थियो, भेदभाव होइन भन्ने रुपले आफूलाई सम्झाइन्।
दुई महिनासम्म एक्लै स्वाब संकलन
रक्सौल नाकाबाट नेपाल भित्रने क्रम झनै बढ्दै थियो। संक्रमण फैलिने र फैलाउने जोखिम पनि बढ्न थाल्यो। जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र अस्पताल प्रशासनले सबै ठाउँमा स्क्रिनिङ गर्ने निर्णय भयो।
त्यो स्क्रिनिङ पूरा जनमानसमा गर्नुपर्ने थियो। तर अस्पतालबाट स्वाब संकलनमा खटाइएको थियो, डा नीरा मात्र।
सहयोगीका रुपमा कहिले एक जना मेट्रोन त कहिले मेसु उनीसँग जान्थे। तर अस्पतालको प्रयोगशालाबाट भने उनी एक्लै थिइन्। उनले टेकुमा सिकेका कुरा अन्य सहकर्मीलाई नसिकाएकी होइनन्। तर स्वाब संकलन गर्न जाने क्रममा कोही अगाडि आएनन्।
‘टेकुबाट आएको भोलिपल्टै मैले अरुलाई पनि सिकाएको थिएँ। तर फिल्डमा जाने बेलामा आउनूस् न जाऊँ भन्दा कोही पनि अगाडि सर्नुभएन,’ उनले भनिन्।
डा नीरा बिहानदेखि साँझसम्म स्वाब संकलन गर्थिन्। कहिले दुई त कहिले ६ सयसम्मको कोरोना परीक्षण गर्नुपथ्र्यो। खाजाको रुपमा चाउचाउ र पानी दिइन्थ्यो।
यसरी नै उनले दुई महिनासम्म एक्लै स्वाब संकलन गरिन्। जेठबाट दिनको एक हजारसम्म स्वाब संकलन गर्ने नगरपालिकाको उद्देश्य थियो।
वैशाख अघिसम्म उनले संकलन गरेका स्वाबको रिपोर्ट पोजेटिभ आइसकेको थिएन। संकलन गरिएका स्वाबको नतिजा लगातार नेगेटिभ आउँदा कतिले त उनलाई स्वाब संकलन गर्दा नमिलेको समेत भन्न भ्याए। तर स्वाब संकलनको काम आफूले सही गरेकामा उनी विश्वस्त थिइन्।
वैशाखमा भारतबाट आएका ३३ जना भारतीय नागरिकलाई अस्पताल परिसरमै कोरोना परीक्षण गरिएको थियो। ती ३३ जनामध्ये तीन जनामा कोरोना पुष्टि भयो। त्यो बेलासम्म उनले कयौँको कोरोना परीक्षण गरिसकेकी थिइन्। त्यसैले डा नीराले डरलाई जितिसकेकी थिइन्।
कोरोना पोजेटिभ आएपछि अस्पतालमा आतंक नै मच्चियो। को ड्युटीमा बस्ने भन्नेमै अन्योल र डर सिर्जना भएको उनी बताउँछिन्। नारायणी अस्पतालले सम्भावित संक्रमितलाई चैत ६ गतेबाट भर्ना लिन सुरु गरेको थियो। वैशाखबाट मात्र कोरोना संक्रमित भर्ना हुन थालेका हुन्। त्यो समय अस्पतालले कोरोना संक्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड छुट्याएको थियो।
त्यसपछि त वीरगञ्ज कोरोनाको हटस्पट बन्दै गयो। विस्तारै अन्य स्वास्थ्यकर्मी पनि डरमै भए पनि काममा खटिँदै गए। भाषाको असहजता त थियो नै ल्याबका कर्मचारी व्यवस्थापन गर्नु पनि डा नीराको लागि चुनौतीपूर्ण थियो।
१८ घण्टाको खटाइ तर धम्कीपूर्ण फोन
संक्रमितको कन्ट्याक ट्रेसिङ र स्वाब संकलनको काम अस्पताल आफैँले गथ्र्यो। संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन वार्ड पाँचबाट सुरु गरेर ७५ शय्यासम्म पुर्याइएको थियो।
स्वाब संकलनको काम चुनौतीपूर्ण त छँदै थियो, सबैले पिसिआर रिपोर्ट छिटो माग्थे। तर टेकुबाट रिपोर्ट आउनै दुई साता लाग्थ्यो। वीरगञ्जका साथै बारा, रौतहट लगायत छिमेकी जिल्लाबाट पनि स्वाब आउन थाले।
बढ्दो संक्रमितको चापले अस्पताललाई आफ्नै पिसिआर ल्याब स्थापना गर्न बाध्य बनायो। तर आधारभूत संरचना समेत नभएको प्रयोगशालामा पिसिआर ल्याब स्थापना गर्नु चुनौतीपूर्ण थियो। पिसिआर ल्याब स्थापनाका लागि उपकरण थिएनन्। तालिमप्राप्त जनशक्ति थिएन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रशासनको समन्वयमा नारायणी अस्पतालमा पिसिआर मेसिन ल्याइएको डा नीरुाले बताइन्। २०७७ वैशाखमा पिसिआर मेसिन आइसकेको थियो। तर त्यसलाई जडान गरेर सञ्चालनमा ल्याउन जनशक्ति र प्रयोगशालाको संरचना थिएन।
‘जनस्वास्थ्य प्रयोगशालाबाट हामीलाई तालिम दिन दुई जना टेक्निसियन समेत पठाइएको थियो। तर हामीसँग संरचना र अन्य कर्मचारी नभएका कारण उहाँहरु फिर्ता जानुभयो,’ उनले भनिन्।
लकडाउनका कारण पिसिआर ल्याब स्थापना गर्न आफूहरुलाई एक महिना लागेको उनले बताइन्। अस्पतालले ल्याथ ल्याब सञ्चालनका लागि भनेर राखेको ठाउँमा पिसिआर ल्याब स्थापना गरिएको उनले बताइन्। पिसिआर ल्याब स्थापना भएपछि पनि केही समयसम्म गुणस्तरीय परीक्षणका लागि अस्पतालले टेकुमै पठाउने गथ्र्यो।
डा नीरा १८ घण्टासम्म पिसिआर ल्याबमा काम गर्थिन्। बिहान आठ बजे ल्याबमा प्रवेश गरेकी उनी राति १ बजेसम्म काम गरिरहनुपथ्र्यो। ड्युटी सकेर कोठामा फर्कन नपाउँदै फोनको घण्टी तारन्तार बज्न थाल्थ्यो।
सबैको एउटै प्रश्न हुन्थ्यो, ‘मेरो रिपोर्ट अहिलेसम्म किन आएन ?’
कतिले त रिपोर्ट ढिलो भएको भन्दै गालीदेखि धम्कीसम्म दिन्थे। राजनीतिक तहदेखि वडाध्यक्षसम्मले रिपोर्ट ढिलो आएको भन्दै धम्क्याउने गर्थे।
डा नीराले भनिन्, ‘तारन्तार फोन आउँथ्यो। कोही भन्थ्यो, मैले स्याम्पल दिएको छु। कसैले मेरो रिपोर्ट किन आएन ? कसैले भन्थे, यस्तो नहुनुपर्ने थियो।’
वीरगञ्ज महानगरपालिकाले ‘एक घर एक पिसिआर’ अभियान नै सुरु गर्यो। घर–घरमा पुगेर पिसिआर परीक्षण गर्नुपर्दा उनी झन् बढी खटिनु पथ्र्यो। त्यो बेला डिस्चार्ज हुने बेलामा पनि पिसिआर परीक्षण गर्नुपर्ने मापदण्ड थियो। त्यसले पनि आफूहरुले गर्ने कामको बोझ झनै बढ्ने गरेको डा नीरा सम्झिन्छन्।
६ महिना छोरीबाट टाढा रहनुपर्दाको पीडा
एमडी अध्ययन गर्ने क्रममा छोरी उनीसँथै थिइन्। तर पढाइमा असर पुग्ने भएकाले पाँच वर्ष पुग्दै गरेकी छोरीलाई माइती बुटवलमै छाडेर वीरगञ्ज गएकी थिइन्। उनका श्रीमान् पनि चिकित्सक हुन्। काठमाडौंको सिभिल अस्पतालमा कार्यरत छन्।
कोरोना संक्रमितको उपचारमा दिनरात, भोकप्यास नभनी खट्थिन् डा नीरा। त्यसमा कुनै गुनासो थिएन। तर सानी छोरीलाई भेट्न र देख्न नपाउँदाको पीडाले भने उसनलाई असाध्यै पोल्थ्यो।
२०७६ पुस १ गतेबाट उनी नारायणी अस्पतालमा गए पनि छोरी बिरामी भएका कारण बिदा लिएर छोरीलाई भेट्न पुगेकी थिइन्। तर त्यसपछि विस्तारै बढ्दै गएको कोरोना संक्रमणका कारण भने भेट्न पाइनन्।
छोरीलाई नभेटेको सात महिना भइसकेको थियो। फोनमा दुई/तीन दिन छाडेर कुरा हुन पाउँथ्यो। खेल्ने क्रममा छोरी मोटरसाइकलको साइलेन्सरमा परेर खुट्टा पोल्यो। उनी लकडाउनकै बीचमा छोरी भेट्न बुटवल पुगिन्।
विगतका ती दिन सम्झिँदा डा नीराको घाँटी सुक्न थाल्यो। आँखा रसाउँदै गए। सानी छोरीसँग महिनौ टाढा रहनुपर्दाको एक आमाको पीडा उनको आँखामा झल्किन्थ्यो।
फोनमा छोरीको हालखबर सोध्न पनि फुर्सद हुँदैनथ्यो। कहिले रातको एक बजे त कहिले पाँच बजे बेडमा पुगेकी हुन्थिन्। तर अस्पतालबाट फोन आइहाल्थ्यो।
डा नीरा भन्छिन्, ‘माघ–फागुनसम्म छोरीसँग फोन सम्पर्क भइरहन्थ्यो। तर चैत लागेपछि यति व्यस्त भएँ कि, रातको १ बजे रुममा पुग्थें। दिनभरि फिल्डमा हुन्थे। परिवारलाई म ठिक छु भन्न पनि भ्याउँदैनथें।’
तराईको गर्मी अनि असहज महिनावारी
चैत–वैशाखको गर्मी। घन्टौंंदेखिको पीपीई। पसिनाले लुर्थुक्क भिजेको शरीर। त्यहीमाथि महिनावारी। त्यो असहज परिस्थितिलाई डा नीरा शब्दमा बयान गर्न सक्दिनन्। महिनावारी हुँदा उनलाई पेट पनि दुख्थ्यो।
सुरुवाती दिनमा एक्लै खटिँदा उनलाई महिनावारी व्यवस्थापन गर्न निकै असहज हुन्थ्यो। घन्टौँसम्म एउटै प्याड लगाएर बस्नुपर्ने बाध्यता थियो।
‘बिहान ८ बजे प्याड लगाएर जान्थें। लगातार स्वाब लिनुपर्ने। पीपीई सर्लक्कै भिजेको हुन्थ्यो। घर आउँदा त मेरो हालत खराब नै हुन्थ्यो,’ उनले भनिन्।
गर्मी महिनामा लगातार एक्लै खटिरहँदा उनी आफैँ बिरामी पर्न थालेकी थिइन्। पछि अस्पतालबाट टिम बन्दै गएपछि भने काम गर्न उनलाई सहज हुँदै गयो।
नारायणी अस्पतालमा काम गरिरहँदा उनी कोरोना संक्रमित भइनन्। भन्छिन्, ‘सावधानीका सबै उपाय अपनाएको थिएँ। त्यसैले संक्रमित त भइनँ। तर चार÷पाँच महिनापछि केही शरीर दुख्ने लगायत लक्षण देखिन थालेपछि आफैँ आइसोलेसनमा बसें। तर स्वाब परीक्षण गरिनँ।’
अनि बनें कोभिड च्याम्पियन
नारायणी अस्पतालमा एक वर्ष काम गरेपछि २०७८ पुसमै डा नीराको सरुवा काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भयो। पहिलो लहरमा जस्तो दोस्रो लहरमा उनी कोरोना संक्रमितको उपचारमा खटिनु भने परेन। हाल उनी कान्ति बाल अस्पतालमा कन्सल्टेन्ट प्याथलोजिस्टको रुपमा कार्यरत छिन्। २०७७ फागुन २७ गतेबाट उनी कान्तिमा आवद्ध भएकी हुन्।
नारायणी अस्पतालमा रहँदा गरेको काम र साहसको सम्मान स्वरुप डा नीरालाई स्वास्थ्य खबरपत्रिकाले सम्मान गरेको छ। स्वास्थ्य खबरपत्रिकाको १२औँ वार्षिकोत्सवको अवसरमा उनलाई कोभिड च्याम्पियनको अवार्ड प्रदान गरिएको हो।
कोभिड च्याम्पियनको अवार्ड पाउने थाहा पाएपछि डा नीराले आफ्नो कामको उचित मूल्यांकन भएको भन्दै खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘गौरवान्वित महसुस गरिरहेको छु। त्यो समयमा आफैंभित्र साहस बटुलेर अघि बढेको थिएँ। केही नसोची चुनौतीको सामना गरेको थिएँ। आज त्यसकै उपलब्धि प्राप्त गरें जस्तो लागेको छ।’
आफूभित्र साहस बटुल्दै, डरलाई जित्दै र चुनौतीको सामना गर्दै कोरोना महामारीमा महत्वपूर्ण योगदान दिएकी डा नीरा पाठकलाई स्वास्थ्यखबरको सलाम !