काठमाडौं- सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेंगु रोगको समस्या बढ्दै गएको भन्दै यसको रोकथामका लागि पहल गर्न सरकारसँग माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेंगु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका हुन्।
बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेंगु संक्रमण बढ्दै गएको देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरे।
उनले डेंगु संक्रमण नियन्त्रणमा ध्यान नदिए ठुलो संकट आउन सक्ने बताए।
बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर – कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए। सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित रहेको बताइन्।