धनगढी- कैलालीमा डेंगुका कारण एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको हो।
निसर्ग अस्पतालमा उपचाररत शाहीको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो।
साउन महिनायता कैलालीसहित देशभर ७० जिल्लामा डेंगुका बिरामी धमाधम फेला परिरहेका छन्। चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही पहिलो व्यक्ति हुन्। हालसम्म देशभरमा पुसदेखि यतासम्ममा दुई हजार पाँच सय ३९ जनामा डेंगु पुष्टी भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गते यता कैलालीको लम्की चुहा नगरपालिकामामात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार गत वर्ष पनि कैलालीको लम्की चुहामा एक सय ३३ जना डेंगुका बिरामी देखापरेका थिए। खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए।
डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य धामीले भने, ‘परीक्षण गर्न किट महंगो छ, हामीसँग किटको अभाव भएकाले परीक्षणको दायरा बढाउन सकेका छैनौं, यस विषयमा माथिल्लो निकायमा पत्राचार गरेका छौं।’