काठमाडौं– मन्त्रिपरिषद्ले निर्वाचन नजिकिएसँगै चिकित्सा शिक्षा आयोगसहितका निकायमा ठूलो मात्रामा कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्ले गरेका निणर्यहरु मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निणर्यबारे जानकारी दिएका हुन्।
मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका परियोजना, कार्यक्रम र समितिहरुका लागि राजपत्रांकित श्रेणीका १०५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जनाएका छन्।
मन्त्री कार्कीका अनुसार २०७९/०८० का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका आयोजनाहरुका लागि राजपत्राङ्कित स्तरका ८ र सातौं तहका गरी जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
यस्तै सोही आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतका आयोजनाका लागि पनि विभिन्न श्रेणीका राजपत्राङ्कित अधिकृत तहका ४३१ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताएका छन्। २०७९/८० कै लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरुको लागि ५० राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी पनि स्वीकृत गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए।
मन्त्री कार्कीका अनुसार बैठकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरूका लागि राजपत्राङ्कित श्रेणीको ४७ अस्थायी दरबन्दी पनि स्वीकृत गर्ने निर्णय गरेको छ।