काठमाडौं- बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अबको साता दिनमा कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा हुने बताएका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिलवालले अबको साता दिनमा कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा हुने बताए।
अध्यक्ष सिलवालले भने, ‘कोरोना बीमा बापतको दाबी भुक्तानी हुन्छ, अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ। एक हप्ता भित्र एक अर्ब निकासा हुन्छ।’
तर, कोरोना बीमा बापत बीमितहरुलाई करिब ७ अर्ब रुपैयाँ सरकारले भुक्तानी दिन बाँकी छ। पुनर्बीमा बापत करिब तीन अर्ब रुपैयाँ विदेशी कम्पनीबाट लिन बाकी रहेको र सरकारले स्रोतको व्यवस्थापन गरिरहेकाले बाकी भुक्तानी समेत छिट्टै हुने अध्यक्ष सिलवालले बताए।
खासगरी लघु बीमाको लाइसेन्स वितरण सम्बन्धी यथार्थ जानकारी दिन पत्रकारहरुसँग अन्तरक्रिया गरेका सिलवालले अनावश्यक हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे।
लघु बीमा थप नयाँ लाइसेन्स वितरणका लागि नभएर दुर दराजका ग्रामीण स-सानो पुँजीलाई संकलन गर्दै बीमाको सुविधा प्रदान गर्न ल्याइएको उनले बताए। यस्तो सेवा ठूला भनिएका बीमा कम्पनीहरूबाट नभएपछि बाध्य भएर लघु बीमाको नीति अघि सार्नु परेको उनले बताए।