पोखरा– 'तेल यतिमा किन्छौँ, यतिमा बेच भन्छौँ। कालोबजारी भन्छौँ। राज्यले ट्युसन फि तोक्ने तर डाक्टरको फि नतोक्ने, डाक्टरको तलब नतोक्ने यो अजीव व्यापार छ। यो व्यापार कहिलेसम्म सहने?' डा अनिलकुमार कार्कीले प्रश्न उठाए।
उनी पोखरामा आइतबार कांग्रेस निकट प्रजातन्त्रवादी चिकित्सक संघको गण्डकी प्रदेश अधिवेशनमा बोल्दै थिए। संघका केन्द्रीय अध्यक्ष डा कार्कीले प्रश्नमात्र उठाएनन्, ४६ सालपछि सरकारमा कांग्रेस रहँदा पनि राज्यको हेर्ने नीति फरक नभएको आरोपसमेत लगाए।
‘डाक्टर पढ्न ६० लाख खर्च लाग्छ, ६६ महिना पढ्नुपर्छ तर राज्यले कति तलब दिन्छ? ४२ हजार रुपैयाँ! नेपाल सरकारको आजको तलब, कराउँदा कराउँदा हाम्रै उमेर बुढेसकाल तिर ढल्कदैँछ, हाम्रा अग्रज बुढा भइसके तर हामीलाई राज्यको हेर्ने नीति फरक भएन,’ अध्यक्ष कार्कीले भने, ‘दुःखका साथ भन्नुपर्छ यहीक्रम रहिरहने हो भने अरु विषय पढ्दा जुन बेरोजगारी हुने थियो, अब मेडिकल साइन्समा पनि त्यस्तै अवस्था आउँदैछ।’
मुलुकले डाक्टरलाई पिट्नबाहेक नजानेको अध्यक्ष कार्कीले दुखेसो पोखे। ‘कुनै पनि राजनीतिक आन्दोलनमा सेतो कोट ननिस्किकन त्यो राजनीतिक आन्दोलन सफल भएको छैन,’ उनले भने, ‘तर २००७ सालदेखि ०७९ सम्म यो मञ्चमा बसिरहँदा एउटा डाक्टरलाई नेपाली कांग्रेस होस् या अन्य राजनीतिक दलले, राष्ट्रियसभामा यो डाक्टरले मुलुकको सेवा गर्यो भनेर पठाएको छैन। यो मुलुकले पिट्नबाहेक जानेन, पेटमा पिट्ने कि टाउकोमा पिट्ने कि, जसरी नि पिट्नेमात्रै, कसरी पिट्ने जसरी पिट्ने पिट्ने !’
सधैँ डाक्टरलाई मुखले विशिष्ट बनाएको कार्कीको गुनासो छ। ‘हामीले २४ घण्टा फोन उठाउनुपर्छ कसैको पनि, तर हामीलाई पर्यो भने उनीहरुको दोस्रोचोटी फोन उठ्दैन,’ उनले भने, ‘हामीले व्यवहारमा पनि डाक्टरलाई विशिष्ट हो है भन्ने कहिल्यै महसुस गराएनौँ।’
नीति निर्माण तहमा प्रतिनिधित्व
कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चिकित्सकहरुले दलको झण्डा बोकेर नभइ नरम व्यवहारबाट पहिचान स्थापित गर्न सक्नुपर्ने बताए। नीति निर्माण तहमा सबै वर्ग, समुदाय र पेसागत क्षेत्रको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै उनले डाक्टरहरुलाई पनि पार्टीले यस्ता विषयमा समेट्दै लैजाने प्रतिबद्धता जनाए। कार्यथलोमा डाक्टरहरुमाथि हुने दुर्व्यवहार, न्यून वेतनको समस्या, चिकित्सा विज्ञान अध्ययन महँगो बन्दै गएकोप्रति आफू जानकार रहेको भन्दै यी समस्या निराकरणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले शिक्षा र स्वास्थ्य निःशुल्क गराउन पार्टी प्रतिबद्ध रहेको बताए। पार्टीको शीर उच्च बनाउने गरी काम गर्न आग्रह गर्दै डाक्टरहरुले खेप्दै आएका समस्या समाधानका लागि आफूहरु चिन्तित रहेको भनाइ राखे। चिकित्सा विज्ञान आफैँमा भौतिकवादी भए पनि त्यसलाई व्यवहारमा उतार्न आध्यात्मिक शक्ति प्रयोग गर्न उनले आग्रह गरे।
संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। २०६८ स्थापित संस्थाको संस्थापक सभापति डा केदारनरसिंह केसी हुन्। यो संस्थाबाट ५ जना महाधिवेशन प्रतिनिधि र ३ जना महासमिति सदस्य नेपाली कांग्रेसका लागि चयन हुने प्रावधान छ।
डा श्रेष्ठ सर्वसम्मत
संघको गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनबाट अध्यक्षमा डा सूर्यज्योति श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष डा ईश्वर कँडेल, महासचिव डा प्रेम पंगेनी र सचिव आनन्द भट्टराई चयन भएका छन्। डा दीपेश कार्की संघको कोषाध्यक्ष बनेका छन्।
सदस्यमा डाक्टरहरु शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल र हिमलाल भण्डारी छन् । डाक्टरहरु निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य चयन भएका छन्।
अधिवेशनले गण्डकी प्रदेशका जिल्ला संयोजक पनि चयन गरेको छ। कास्की जिल्ला संयोजक डा रामजी बराल, स्याङ्जा संयोजक डा सुदीप रेग्मी, बागलुङ संयोजक डा शैलेन्द्र पोखरेल विक, मनाङ संयोजक डा मंगल हिराचन, तनहुँ संयोजक डा रामकुमार श्रेष्ठ तोकिएका छन्। गोर्खा जिल्ला संयोजक डा विनोद दवाडी, नवलपुर संयोजक डा गंगा सापकोटा, लमजुङ संयोजक डा तिलक घिमिरे र मुस्ताङ संयोजक डा अनु शेरचन चयन भएका छन्। म्याग्दी र पर्वत संयोजक भने तोक्न बाँकी छ।