काठमाडौं- भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।
भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार चार सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक सय ५७ जनाको मृत्यु भएको छ।
भारतमा हाल ८६ हजार पाँच सय ९१ जना सक्रिय संक्रमित छन्। संक्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख आठ हजार एक सय ३२ पुगेको छ।
यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ। शनिबार त्यहाँ दुई सय ९० जना नयाँ संक्रमित थपिएका थिए।
पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७४ पुगेको छ। सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन्। एकसय १८ जना बिरामीको अवस्था गम्भीर छ।
यसैबीच, मलेसियामा कारोना लागेर पाँच जनाको मृत्यु भएको तथा दुई हजार चार सय ९१ जना नयाँ बिरामी थपिएका छन्। शनिबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३४ हजार पाँच सय आठ जना सक्रिय संक्रमित रहेका बताएका छन्।