काठमाडौं- भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ। यहाँ २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ।
यससँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। भारतमा एक दिन अगाडि अर्थात बुधबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १० हजार ६ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो।
दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९४ हजार चार सय ४७ जना रहेका छन्। गत २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ।