औषधि, आहार र बिहारको प्रयोगद्वारा जवान व्यक्तिहरुमा संभोग वा मैथुन क्रियामा उर्जा थप्ने प्रक्रियालाई बाजिकरण भनिन्छ। आयुर्वेद चिकित्साका आठ अंगमध्ये बाजिकरण चिकित्सा पनि एउटा महत्वपूर्ण अंग हो। आयुर्वेदमा धर्म, अर्थ, काम र मोक्ष प्राप्तिलाई मानव जिवनको मुख्य आधार मानिन्छ। धर्म अर्थात आध्यात्मिक सुख प्राप्तिको लागि सामाजिक कर्म, वैदिक धर्म सस्कृतिमाथि आवद्ध रहँदै पुजाआजा, भजनकृतन र भगवानप्रति आशक्तता व्यक्त गरिन्छ। जसलाइ धर्म भनिन्छ।
आफ्नो दैनिक जिवनका क्रियाकलापलाई नियमित राख्दै ब्यापार व्यवसाय, जागिर जस्ता कामबाट अर्थआर्जन गरिन्छ र यी दुबैको प्राप्तिपछि पनि मानव समाज खुशी र सूखी रहन सक्दैन। त्यसैले मैथुन क्रियाको परिकल्पना गरिएको हो। शारीरिक कमजोरीका कारणले मैथुन क्रियामा आएको असहजपनलाइ हटाउनु नै बाजिकरण हो। जुन विधि र नियमको पालना गर्दा शरीरमा आएको कमजोरीपनलाई हटाएर काम अर्थात मैथुन क्रियामा चरम आनन्दको अनुभुती प्राप्त हुन्छ।
त्यो नै बाजिकरण चिकित्सा हो। धर्म, अर्थ र कामको निपुणतापछि मात्रै मानव जिवनमा मोक्ष प्राप्ति हुन्छ। जसलाई स्वास्थ रक्षाको मेरुदण्ड मानिन्छ। बाजिकरणका विषयमा बर्णन गर्दै आयुर्वेद चिकित्सामा प्रष्ट पारिएको छ कि पुरुष अर्थात सुर्य (ताप) र स्त्री अर्थात चन्द्र्मा (सितलता) हो। त्यसैले तातो र चिसोको सम्यम मिलाउँदै शृष्टिलाई जिवन्त राख्दै आनन्दको प्राप्ति गर्नु नै मानव जिवनको सफलता हो।
आयुर्वेद विज्ञानमा बाजिकरणको महत्वलाई यसरी व्याख्या गरिन्छ।
शारीरिक रुपमा पूर्ण स्वस्थ सन्तान उत्पतिमा प्रभावकारी।
चरम आनन्दको मैथुन क्रियामा उर्जावर्द्धक
प्रजनन प्रणालीका अंंगहरुमा सक्रियता प्रदान गर्दै चुस्त दुरुस्त राख्ने।
श्रीमान श्रीमतीबिच माया र समभाव बढाउने।
पुरुष तथा स्त्रीहरुमा आएको कमजोरीपन हटाउँदै मनोबल उच्च राख्ने।
शारीरिक निष्क्रियता हटाउने।
तनाव व्यवस्थापन गर्दै मानसिक रोगहरु न्युनिकरण गर्ने।
बाजिकरण शब्दको अर्थ शरीरमा आन्तरिक शक्ति र उर्जा बढाउनु हो। त्यसैले जुन उपायद्वारा शरीरको रोग प्रतिरोधात्मक क्षमता वा आन्तरिक उर्जा बढाउदै मैथुन क्रियाका अंगहरुलाई चुस्त दुरुस्त राख्न सकिन्छ त्यो नै बाजिकरण हो।
बाजिकरणमा कमि ल्याउने तत्वहरु
अनिद्रा तथा मानसिक तनाव
शारीरिक निष्क्रियता र मोटोपन
विभिन्न हर्मोनको समस्या
उचित आहारको कमी जस्तैः घिउ ,दुध, बदाम, अस्वगन्धा, सताबरि, मुशलि आदि।
असन्तुलित दिनचर्या र सन्तुलित आहारको कमि।
धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्दै सफल र स्वस्थ जिवनका लागि बाजिकरणको महत्व दिन प्रतिदिन बढ्दै छ। त्यसैले सन्तुलित आहारको प्रयोग गरौ शारीरिक निष्क्रियता र मानसिक तनाव व्यवस्थापन गर्न जिवनशैलि परिवर्तन गर्दै दिनमा केही समय योग तथा ध्यान र प्रणायामलाई छुट्याउँ। स्वस्थ, मस्त र ब्यस्त जिवन जिऔँ।
(लेखक जिल्ला आयुर्वेद स्वास्थ केन्द्र रुकुम पूर्वका कार्यलय प्रमुख तथा योग अभियान्ता हुन।)