काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित बनेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन्।
‘म कोरोना भाइरसबाट संक्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ उनले भनेका छन्।
उनले आफू अहिले पहिलो पटक संक्रमित नभएको भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन्। यसअघि उनी सन् २०२० को जुलाईमा पहिलोपटक संक्रमित बनेका थिए।
त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै बसेका थिए। उनी मात्र नभइ त्यसबेला उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि संक्रमित बनेका थिए।