हालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत डा करण शाहमाथि कार्यस्थलमै प्रशासनका कर्मचारीद्वारा भएको साङ्घातिक आक्रमणको दुखद अनि आपत्तिजनक घटनाले फेरि पनि हाम्रो समाजमा स्वास्थ्यकर्मीहरुप्रती गरिने बैरभावपुर्ण व्यवहार अनि बराम्बारको गम्भीर दुर्व्यवहार बारे सबैको ध्यानाकर्षण गराएको छ।
इमर्जेन्सीका चिकित्सकलाई अस्पतालकै कर्मचारीद्वारा आक्रमण हुनु आफैमा निन्दनीय अनि भत्सर्नायोग्य दुखद घटना हो। बिगतको चरिकोट, एनएमसी, जोरपाटी लगाएतका अस्पतालमा र अहिले दुर्गम कर्णालीमा भएका दुर्व्यवहारका घटनाहरु बराम्बार घटिरहँदा चिकित्सकहरु असुरक्षित मह्सुस गर्ने, निराशा बढ्ने अनि अन्यत्र पलायन हुन बाध्य भएर नेपालको समग्र स्वास्थ क्षेत्रमा नकारात्मक असर पर्न सक्छ।
शरीरिक अनि मानसिकरुपमा घाइते पारिएका डा करण साहको तस्बिर अनि भिडियो सामाजिक संजाल अनि समाचारहरुमा देखेर अहिलेका युवा चिकित्सकहरुमा निरासा, आक्रोश, चिन्ता र मनोबल घट्ने देखिन्छ।
इमर्जेन्सी विभाग आफैमा एउटा जोखिमपुर्ण विभाग हो, किनकी यहाँ सिकिस्त घाइते अनि जीवनमरणको दोसाँधको अवस्थामा रहेका बिरामीहरु आईपुग्ने गर्छन। यस्तो अवस्थामा जोखिमको आधारमा बिरामीको वर्गीकरण स्वास्थकर्मीले गर्नेकुरा सबैले बुझ्नुपर्छ। बिरामीको नातेदारहरु डर चिन्तामा हुनु स्वाभाविक भएता पनि कुनै स्वास्थ्यकर्मी चिकित्सकहरुमाथि गालीगलौज र कुटपिट गर्न कसैलाई छुट छैन। राजनीतिक सम्बन्धका आधारमा कसैलै सजायबाट छुट पनि पाउनु हुँदैन।
साथै चिकित्सक स्वास्थकर्मीहरुले पनि आफ्नो सुरक्षाको ख्याल राख्दै बिरामीलाई सकेसम्म राम्ररी सुझाव, जानकारी र इमानदारीपूर्वक स्वास्थ सेवा दिनुपर्दछ। कोही बिरामी कुरुवालाई आफ्नो बिरामीप्रति लापरबाही भएको लागेमा आफैले आक्रोशमा आएर दुव्र्यवहार र आक्रमण गर्नुभन्दा बरु सम्बन्धित निकाय जस्तैः अस्पताल प्रशासन, एनएमसी आदिमा उजुरी गर्ने गर्नुपर्छ। सरकारले हालै ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संसोधन ऐन २०७९ का विषयमा रहेको व्यवस्थालाई पुर्णरूपमा कार्यान्वयन गर्ने विषयमा समबन्धित निकायको ध्यानाकर्षण हुन पनि जरुरी देखिन्छ।
यस्ता प्रकृतिका घटनाहरुको दोषीलाई कारबाही र सजाय नगरेसम्म यस्ता नकारात्मक मानसिकता भएका व्यक्तिहरु निरुत्साहित नहुने नै देखिन्छ। आशा गरौं, सरकार अनि सरोकारवाला सबैको संयुक्त प्रयासमा नेपालको स्वास्थ क्षेत्र मर्यादित, संयमित, सुरक्षित अनि सेवामुखि हुनेछ। अनि यस्ता खालका समाचारहरु आगामी दिनमा आउने छैनन्।
(डा साह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन्। )