काठमाडौं - चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) गर्ने भएको छ।
संघले आगामी असोज २ र ३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको हो। संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ। संघले यो वर्ष पोस्ट प्यान्डेमिक एचिभ्मेन्टस्, च्यालेन्जेज एन्ड अपर्चुनिटी अर्थात महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो। संघका अनुसार सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुनेछ।
सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने छ। यो पटक सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर, संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरु खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा मेडिकल टुरिजमु र चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुने छ।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रुपमा पेस गरिने छ। 'यो सम्मेलनमा विभिन्न विषयहरुमा गहन छलफल हुनेछ' उनले भने, 'छलफलबाट आएका सुझावहरुलाई हामीले स्वास्थ्य मन्त्रालयलाई नीतिहरु बनाउन र अन्य सुधारका लागि दिने छौं ।'
दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम अगाडि बढाइसकेको छ। संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की छन्। डा चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष हुन्।
डा कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला छन्। सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह हुन्।
सम्मेलनका लागि डा बद्री रिजालको अध्यक्षतामा रिसेप्सन र रजिष्ट्रेसन समिति, डा अनिलविक्रम कार्कीको अध्यक्षतामा फन्ड रेजिङ समिति र डा प्रकाश बुढाथोकीको अध्यक्षतामा प्रचारप्रसार समिति गठन भएको छ।सम्मेलनमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजिराव पाण्डवले पनि विशेष धारणा राख्नेछन्।
सम्मेलनका लागि आवेदन खुला
संघले सम्मेलनमा सहभागी हुनका लागि आवेदन समेत खुला गरेको छ। संघले अनलाइन र संघको कार्यालयबाट आवेदन दिन सक्ने गरी आवेदन खुला गरेको हो। सम्मेलनमा सहभागी हुनका लागि ५००, १००० र १५०० शुल्क तोकिएको छ।
संघले यसअघि गत वर्ष असोजमा गरेको पहिलो राष्ट्रिय सम्मेलन कोभिड महामारीका कारण हाइब्रिड भर्चुअल र भौतिक उपस्थिति दुवै भएको थियो। गत वर्षको सम्मेलनमा विभिन्न १२ बुँदे घोषणा सार्वजनिक भएको थियो। पहिलो सम्मेलनमा संघीयतामा महामारीको पूर्वतयारी र व्यवस्थापनको अवस्था, महामारीमा जनशक्ति तथा सेवा प्रवाहको अवस्था, कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारको रणनीति, महामारीमा बहुक्षेत्रीय प्रतिक्रिया अवसर, चुनौती र महामारीबाट सिक्नुपर्ने पाठ, महामारीको पूर्वतयारीमा आउने नयाँ अवसर लगायत मुख्य ५ विषयवस्तुमा आधारित रहेर छलफल भएको थियो।
अन्य सम्मेलनभन्दा फरक
संघका अनुसार यो सम्मेलनमा अन्य सम्मेलनभन्दा धेरै कुरामा फरक र पृथक छ। अन्य सम्मेलनहरु निश्चित विषय र अनुसन्धानमा केन्द्रित हुन्छन्। तर संघको सम्मेलन भनेको स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि सरकारलाई नीतिगत सुधार र कार्यक्रम बनाउन सुझाव दिने विषयमा केन्द्रित हुन्छ।
‘नेपाल चिकित्सक संघको सम्मेलन भनेको सरकारलाई नीतिगत विषयमा सुधार दिने थिंक ट्यांकका रुपमा रहनेछ,’ अध्यक्ष डा कार्कीले भने, ‘अन्य सम्मेलनहरु वैज्ञानिक विषयहरुमा केन्द्रित रहनेछन् । तर हाम्रो सम्मेलन भनेको सरकारका नीति, योजना, कार्यक्रम, रणनीति तथा कानुन बनाउन सुझाव दिने महत्वपूर्ण मञ्चका रुपमा हुनेछ।’
उनका अनुसार चिकित्सक संघको सम्मेलनमा आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई सुझाव दिएपछि चिकित्सक संघले उक्त विषयमा के भयो भनेर निरन्तर फलोअप पनि गर्नेछ। त्यसकारण सरकार तथा सरोकारवालाहरुलाई हरेक वर्ष संघको सम्मेलनबाट के कस्ता नयाँ सुझावहरु आउनेछ भनेर सबैले प्रतिक्षा गर्ने आवस्था रहने छ।
संघले गर्ने सम्मेलन हरेक वर्ष निरन्तर रहनेछ। पहिलो वर्षमा भएको सम्मेलनको निरन्तरता स्वरुप नै मुख्य विषयमा केन्द्रित रहेर नै यो वर्षको विषय तय भएको हो। यस्तै आगामी वर्ष हुने सम्मेलन पनि यही वर्षको थिम विषय अनुसार नै निरन्तर हुनेछ।
यसैबीच, संघले गत वर्षको सम्मेलनमा सहयोग गर्नेहरु सबैलाई सम्मान समेत गरेको छ। संघको पहिलो स्वास्थ्य शिखर सम्मेलनमा अतुलनिय योगदान पुर्याउने सम्पूर्ण सल्लाहकार, आयोजक समितिमा रही विभिन्न जिम्मेवारी निर्वाह गर्नु भएका सम्पूर्ण व्यक्तित्वज्यूहरु, विश्व स्वास्थ्य संगठन, सम्पूर्ण सहयोगी संघ संस्थाहरु, विभिन्न सञ्चार माध्यम, सह आयोजक ब्राण्डवर्थ प्रा।ली लगायतलाई प्रशंशा पत्र उपलब्ध गराइएको छ।
पहिलो सम्मेलनमा जारी भएको १२ बुँदे घोषणा
१. नेपाल चिकित्सक संघको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन २०७८ मा हामी सम्पूर्ण पदाधिकारी र विज्ञ समुहको उपस्थितिमा कोभिड–१९ को तयारी र प्रतिकार्यका विषयमा गहन छलफलगरी यस घोषणा पत्रमा सबैको सहमति व्यक्त गर्दछौं।
२. नेपालमा कोभिड–१९ को जोखिम कायमै छ। यसको असर स्वास्थ्य र गैर स्वास्थ्य क्षेत्रमा गम्भीर रुपमा परिरहेको छ । यसले जेष्ठ नागरिक, बालबालिका, गर्भवति र अग्रमोर्चामा रहेर कार्य गरिरहेकाहरुमा विशेष असर पारेको छ भन्ने नेपाल चिकित्सक संघको निष्कर्ष छ।
३. कोभिड–१९ को महामारीका कारण ज्यान गुमाउन बाध्य भएका सम्पूर्णमा हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं । साथै, यस विषम परिस्थितिमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत यस कार्यमा महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दर्छौं।
४. स्वास्थ्य क्षेत्रमा जनशक्ति सबल, सक्षम र चुस्त स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकाले, यसको व्यवस्थापन र वृतिविकासको लागि स्वस्थ्यसेवा ऐनलाई परिमार्जन गर्दै र चिकित्सक ऐनको विकास गर्नुपर्दछ ।
५. महामारी लगायत अन्य जनस्वास्थ विपत्को स्थितिको पूर्वतयारी र प्रतिकार्यको लागि सबल र सक्षम जनशक्तिको आवश्यकता छ। स्वास्थ्य क्षेत्रमा जनशक्तिको यथोचित प्रक्षेपण, वृतिविकास, सुविधा र सुरक्षाको व्यवस्था हुनजरुरी छ।
६. कोभिड–१९ महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षिय सहकार्य अपरिहार्य छ। तसर्थ हामीले वर्तमान अवस्थालाई पार लगाउन र भविष्यमा आइपर्ने महामारीमा स्वतः परिचालन हुनेगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै नेतृत्वमा बहुपक्षीय संयन्त्रको निर्माण हुनुपर्छ। माहामारी प्रक्षेपण तथा निगरानीको निकाय बनाउन जरुरी छ। स्वास्थ्य प्रणाली तथा समग्र स्वास्थ्य क्षेत्रलाई नै मजबुत बनाउन आजकै दिनबाट नेपाल चिकित्कस संघले अझ बढी संवेदनशिल र जागरुक भइ अन्य सहयोगी संस्था, व्यक्ति र सरकारलाई साथमा लिएर नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
७. कोभिड–१९ जस्तो विश्व महामारीको समयमा आफ्नो क्षमता विकास नभएका कारणले गर्दा नै सामान्यभन्दा सामान्य चिकित्सकीय वस्तु तथा सामाग्रीको प्राप्तीका लागि नेपालले कति संघर्ष गर्नुपरेको छ भन्ने हामी सबैलाई थाह भएकै विषय हो। तसर्थ, भविष्यमा आइपर्ने अन्य महामारीको तयारी गर्दा हामीलाई आवश्यक पर्ने सामाग्रीमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुनुपर्छ भन्ने नेपाल चिकित्सक संघको ठहर छ। त्यसैले स्वास्थ्यसँग सम्बन्धीत सामाग्रीहरुको स्वदेशमै उत्पादन गर्नका लागि संघको तर्फबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाई छ।
८. महामारीको समयमा सम्पूर्ण नागरिकलाई न्ययोचित रुपमा निशुल्क खोप उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो यसका साथसाथै अन्य देशले सहयोग गरेको र खरिद गरिएको खोपको उचित भण्डारण र समतामुलक पहुँचको सुनिश्चितता गरिनु पर्छ। साथै सरकारले नेपालमा नै खोप उत्पादन गर्न सक्ने विषयमा सम्भाव्यता अध्ययन लगायत थप पहल गर्नुपर्ने देखिन्छ।
९. भविष्यमा खोप वा अन्य औषधिको आपतकालिन प्रयोगका लागि आवश्यक पर्ने कानुनको निर्माण आजकै दिनबाट सुरु गर्नुपर्छ भन्ने पनि हाम्रो ठहर छ। ताकी भोलीका दिनमा कुनैपनि कानुन महामारीविरुद्ध लड्नका लागि बाधक नहुन् बरु सहयोगी बनुन्। तसर्थ यो अवस्थामा सुधार गर्नुपर्ने धेरै कार्यमा हामी सहयोगी भूमिका निर्वाह गर्नेछौं।
१०. संघीय संरचनामा स्वास्थ्य प्रणालीलाई सुदृढगर्दै जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न तीनै तहका सरकारबिच पर्याप्त समन्वय र सहकार्यलाई अझै बलियो बनाउँदै अघि लानु पर्ने हाम्रो ठहर छ। यसकालागि कुशल नेतृत्वको विकास लगायत हरेक तहका सरकारको भूमिकाको स्पष्टता र यसकालागि चाहिने स्रोत र साधनको सुनिश्चितता गरिनु पर्दछ।
११. नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ र सबल बनाउनकालगि अन्वेषण र अविष्कारलाई हामीसबै मिलेर प्रवर्धन गर्नपर्छ।
१२. महामारीमा सूचना प्रणालीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउँदै तथ्य र प्रमाणमा आधारित नीतिको विकाश गरिनुपर्छ।