काठमाडौं- निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा आइतबारदेखि नयाँ कार्यसमिति आएको छ। शनिबार राती भएको निर्वाचनले डा पदम खड्काको अध्यक्षातामा नयाँ कार्यसमिति चयन गरेको हो।
तर नवनिर्वाचित कार्यसमिति आउनुभन्दा अघिको कार्यसमितिको कार्यकालमा मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ जना मन्त्री फेरिएका छन्। अफिनको कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ। तर यसअघिको कार्यकाल भने कोभिड महामारीका कारण शनिबार मात्र भएको हो। जसका कारण अघिल्लो कार्यसमितिको कार्यकाल ५ वर्षभन्दा बढी समयको हुन पुग्यो।
तर साढे पाँच वर्षको उक्त अवधिमा १२ जना स्वास्थ्यमन्त्री परिवर्तन भएको विषयलाई अफिनले स्वास्थ्य क्षेत्रकै लागि दु:खद पक्ष भएको जनाएको छ।
अफिनका महासचिव हेमराज दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा 'यो कार्यकालमा १२ जना मन्त्री परिवर्तन हुनु सिंगो स्वास्थ्य क्षेत्रकै दु:खद पक्ष' भनेर उल्लेख गरिएको छ। अफिनको यसअघिको कार्यसमिति २०७३ मंसिरमा चयन भएको थियो। नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीको अध्यक्षतामा उक्त कार्यसमिति चयन भएको थियो।
कार्यसमिति चयन भएको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा गगन थापा थिए। त्यसपछि गिरिरराजमणि पोखरेल, दिपक बोहरा, पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, उमेश श्रेष्ठ, विरोध खतिवडा र भवानीप्रसाद खापुङले मन्त्रालयले नेतृत्व गरेको प्रतिवेदनमा उल्लेख छ।
'यो कार्यसमिति निर्वाचित भएपश्चात निजी स्वास्थ्य क्षेत्रका समस्याहरुको विषयमा सबै स्वास्थ्य मन्त्रीसँग नियमित भेटघाट, ज्ञापनपत्र पेश गर्दै आइरहेका छौं,' प्रतिवेदनमा भनिएको छ, 'स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्नुहुने दुई राज्यमन्त्रीसहित १० जना मन्त्रीको कार्यकाल लामो समयको नहुनु हामी सबैको लागि बिडम्बना नै रहन पुग्यो।'
अफिनले छोटो समयमा धेरै मन्त्री परिवर्तन हुँदा निजी क्षेत्रका समस्याहरुको बारेमा अवगत गराउन र यथेष्ट बुझाउन पनि नपाइ मन्त्रीहरुको परिवर्तन हुनु समग्र नेपाली स्वास्थ्य जगतका लागि सुखद पक्ष नरहेको निर्षकर्ष निकालेको छ।
'स्वास्थ्यका विषयवस्तुका बारेमा बुझाउँदा बुझाउदै र उहाँहरुबाट समेत विषगत कुराहरुमा जानकारी लिएर समाधानार्थ इच्छा प्रकट हुँदाहुँदै सरकार र मन्त्री परिवर्तन हुनु हामी सबैका लागि दुर्भाग्य हुन पुग्यो,' अफिनका महासचिव दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।
अफिनले आगामी निर्वाचनपछि स्थायी सरकार बन्ने र स्वास्थ्यले पनि पुरै कार्यकाल काम गर्न सक्ने मन्त्री पाउने आशा लिएको विषय पनि प्रतिवेदनमा उल्लेख छ।