जन्मँदै बिग्रेर आउने वा पछि कुनै उमेरमा देखिने तर गर्भावस्थामै हुँदा जिनमा खराबी भएर हुने बिमारहरुलाई जन्मजात स्केलेटल डिफरर्मिटीमा राखिन्छ। हात, खुट्टा वा मेरुदण्डको हड्डीमाथि समस्याहरु हुने गर्दछन्।
पुरै अङ्ग नै प्रभावित हुनसक्छ। वंशानुगत वा अनुवांशिक कारण र गर्भावस्थामा हुँदा हुने केही बिमार वा चोटपटकले गर्दा यी समस्याहरु निम्तिन सक्दछन्। गर्भावस्थामा आमाले चिकित्सकसँग परामर्श नगरी औषधि खानाले पनि यस्ता विकृतिहरु शिशुमा देखिन जान्छन्।
हाडहरु छोटा वा बाङ्गो हुन सक्दछन् वा हाड वरिपरीको मांसपेशी र जोर्नीमा खराबी भएर सो अङ्ग नै बाङ्गो देखिन सक्छ। डिस्प्लासियामा हातखुट्टा वा ढाड नै बाङ्गो हुन्छ भने जन्मजात सबै हड्डीहरु छोटा हुने पुड्के मान्छेहरु एकोन्ड्रोप्लासिया भएका हुन्। बच्चा जन्माउने क्रममा चोटपटक वा बल प्रयोग भएर कलरबोन वा हातखुट्टाका साना हड्डीहरु भाँचिन सक्छन्।
यसलाई तुरुजत ब्यान्डेज, प्लास्टर गरेमा पूर्ण रुपमा ठिक हुन जान्छन्। अर्थोपेडिक भन्ने विषय वा विधा नै बच्चाहरुका बाङ्गा– टिङ्गा भएका हात–खुट्टाहरु सोझ्याउने उपचार प्रक्रियाबाट सुरु भएको हो जसको सुरुवात निकोलस एन्ड्री भन्ने फ्रान्सेली फिजिसियनले सन् १७४३ मा नै गरेका थिए। हात वा खुट्टाको हड्डीहरुलाई इलिजारोभ भन्ने अपरेसन पद्धतिबाट लामो बनाउन सकिन्छ र थप खुट्टाको हड्डी छोटो भएर लङ्गडो भएमा २ इन्चसम्म जुत्तको उचाइ बढाएर पनि लङ्गडोपनबाट जोगाउन सकिन्छ।
हाडजोर्नीका जन्मजात समस्याहरु धेरै थरिका छन्।
केही मुख्य रुपहरुलाई यहाँ व्याख्या गरिएको छ।
क्लब फुट
जन्मजात गोलीगाँठा र पैताला बाङ्गो हुने समस्या धेरै भेटिने र बच्चाअवस्थाबाटै धेरैलाई दुःख दिने समस्या हो। प्रत्येक एक हजार नवजात बच्चामध्ये एकजनालाई यो समस्या हुन्छ भन्ने संसारभरिकै तथ्यांक छ। धेरैजसोमा दुवैवटा खुट्टामा र केहीमा एकवटा खुट्टामा मात्र पनि यो समस्या हुन्छ। यो किन हुन्छ भन्ने पक्का कारण थाहा छैन। कहिलेकाहीँ तल्लो खुट्टामा मात्र यो समस्या नभएर पुठ्ठाको हड्डीमा वा शरीरको अन्य भागमा पनि विकृतिहरु हुनसक्छन्। त्यो पनि जाँच गर्नुपर्ने हुन्छ। शिशु पाठेघरभित्र रहँदा र खुम्चिएर बस्दा खुट्टाहरु दोब्रिएर मात्र पनि सुरुमा यस्तो देखिन सक्छ। यसरी बाङ्गो भएकाहरु साधारण मालिस गर्दागर्दै र पछि दुई–तीनवटा प्लास्टर लगाएपछि नै ठिक हुन्छन्। सबै मानिसले बुझ्न र गर्नसक्ने एउटा तरिका भनेको नवजात शिशुमा गोलीगाँठाको जोर्नीलाई खुम्चाई पैताला माथि धकेल्दा खुट्टाको अघिल्लो भागले नलीखुट्टा छुनुपर्दछ। यसो हुन गाह्रो भयो भने क्लब फुटको शङ्का हुन्छ। धेरैजसो अपरेसन नगरिकन १,२ हप्ताको फरकमा प्लास्टर लगाउँदै फेर्दै गरेर ७–८ पटकजति लगाएपछि ठिक हुन्छ भने केहीलाई प्लास्टर गरिसकेपछि अपरेसन पनि आवश्यक पर्छ। प्लास्टर लगाउने काम बच्चा जन्मेको एक महिनामा सुरु गर्नुपर्दछ।
क्लब फुटमा हड्डीको मात्र समस्या नभएर मांसपेशी, लिगामेंन्ट, टेन्डन सबै तन्तुहरु खुम्चिएका हुन्छन्। त्यसैले कडा खालको क्लब फुटमा अपरेसन गरेर कडा तन्तुहरुलई ढिला गराउनुपर्ने हुन्छ। ३ वर्षभन्दा पछि मात्र बच्चा लिएर चिकित्सककोमा आएको खण्डमा हड्डीको पनि अपरेसन गर्नुपर्ने हुन्छ। अपरेसन र प्लास्टरपछि खुट्टा सामान्य बनावट र साइजमा फर्केपछि पनि १,२ वर्ष कलब फुटका लागि बनाइएको जुत्ता लगाउनुपर्दछ।
दिउँसो जुत्ता लगाएजस्तै गरी राति सुतेको बेलामा भित्रपट्टि फर्किएका क्लब फुटका पैतालाहरुलाई बाहिरपट्टि धकेल्ने डेनिस ब्रोन स्पिलिन्ट लगाउनुपर्ने हुन्छ।
स्कोलियोसिस (मेरुदण्ड बाङ्गो हुने रोग)
टाउकाको फेददेखि कम्मरको पुच्छरसम्म बिच भागमा ३३ वटा हड्डीहरु मिलेर मेरुदण्ड पछाडिबाट हेर्दा पुरै सिधा आकारमा रहेको हुन्छ।
यो सिधा आकारको मेरुदण्ड दायाँ वा बायाँतिर बाङगियो भने त्यसलाई स्कोलियोसिस भनिन्छ। बिरामी अगाडि झुक्दा बाङ्गोपन हराउँदछ भने यसलाई सामान्य भनिन्छ र ठूलो समस्इा पैदा गर्दैन। तर हड्डीको बनावटमा स्थायी संरचना परिवर्तन भई बाङ्गिएको रहेछ भने स्थायी स्कोलियोसिस भनिन्छ। वा स्ट्रक्चरल स्कोलियोसिस भनिन्छ।
स्कोलियोसिस माथिल्लो मेरुदण्ड वा छाती पछाडिको मेरुदण्डमा बढी हुन्छ। किरशोरावस्थामा हुने यस्ता स्कोलियोसिस केटीहरुमा बढी हुन्छ र यिनीहरु खतरनाक हुन्छन्। किनभने हड्डी बढ्ने क्रमसँगै यिनीहरु छिटो–छिटो बढ्दछन्।
यस्ता बाङ्गोपनले फोक्सो वा मुटुमा समेत असर पुर्याउन सक्दछन् र मान्छेलाई अपाङ्ग नै बनाइदिने खालका हुन्छन्।
यी प्रोगेसिब किशोरावस्थामा हुने मेरुदण्डलाई समयमै अपरेसन गरिहाल्नुपर्ने हुन्छ। अन्य पोजिसनल वा पोस्चुरल बाङ्गोपनलाई अपरेसन गर्नुपर्दैन।
स्कोलियोसिस हुने कारण पनि जन्मजात वा अनुवांपशिक नै हो। वंशाणुगत पनि हुनसक्छ। हाम्रो देशमा भन्दा पश्चिमा देशमा र ओरियन्टलहरुलाई यो समस्या बढी देखिन्छ।
१० वर्षभन्दा पहिला खासै नदेखिने र त्यसपछि छिटो बढ्दै जाने हुँदा कपडाभित्र छोपिएर यो नदेखिएको पनि हुनसक्छ। त्यसैले किशोरीहरुको यो बाङ्गोपन अलिक बुढी रहेछ भने दुख्ने पनि हुनसक्छ। अन्यथा पछाडिबाट कपडा पुरै खोलेर हेरेपछि मात्रै यो समस्या थाहा हुन्छ। कब भन्ने तरिकाले बाङ्गोपनको कोण नापिन्छ र यसैबाट उपचारको योजना बनाइन्छ।
कबकोण ३० डिग्रीभन्दा कम रहेछ भने र सन्तुलित खालको बाङ्गोपन भएमा यसलाई बिनाअपरेसन नै उपचार गरिन्छ। सबै खालको बाङ्गोपनलाई ढाडको व्यायाम नियमित गर्नुपर्दछ। ३० डिग्रीभन्दा कमको बाङ्गोपनलाई विशेष खालको पेटीको प्रयोग गरिन्छ।
कोणअनुसार बनाइएको पेटी वा ब्रेसलाई परिवर्तन गर्दै लगेर थोरै कोणका बाङ्गोपनलाई क मगर्न सकिन्छ।
मांसपेशीहरु व्यायाम र अभ्यासपछि बलिया र ठूला हुन्छन्। जसले मेरुदण्डलाई सपोर्ट गर्छन्। अपरेसन गर्दा बाङ्गोपनलाई सकेसम्म सिधा गराइन्छ।
बढ्न नदिनलाई फ्युज गरिन्छ। यसको प्रकोप धेरै भएको ठाउँमा वा देशमा विद्यालय स्क्रिनिङ कार्यक्रमहरु पनि सञ्चालन गरिन्छ। जसले छिट्टै किशोर–किशोरीको यो समस्या पत्ता लाग्दछ र समयमै उपचा गर्न सकिन्छ। हाम्रो देशमा यस्तो गर्न सकिएको छैन। जन्मजात हुने हाडजोर्नीका विकृतिहरु केही रोकथाम वा न्यूनीकरण गर्न सकिने हुन्छन् भने केही हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन्। न्यूनीकरणको उपाय भनेको गर्भावस्थामा आमाको सन्तुलित स्वस्थ्य नै हो।
सन्तुलित खानपिन र नियमित शारीरिक व्यायाम जरुरी हुन्छ। गर्भावस्थामा धुम्रपान र मध्यपानले प्रतिकुल असर गर्दछ।
गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्नुपर्दछ र विकलाङ्ग परीक्षण निकै महत्वपूर्ण मानिन्छ।
सही समयमा गरिएको परीक्षणले पनि केही शारीरिक विकृति पहिचान गर्न सकिन्छ। तदनुसार चिकित्सकहरुसँग परामर्श गरी कुनै निक्र्यौल गर्न सकिन्छ।
प्रविधिको विकाससँगै जन्मजात हुने हाडजोर्नीको विकृतिको पनि विभिन्न पुनस्र्थापनाका उपकरण आविष्कार गरिएका छन्। यसको उचित प्रयोग गरी जीवनयापनमा सहजता ल्याउन गरिएका छन्। यसको उचित प्रयोग गरी जीवनयापनमा सहजता ल्याउन सकिन्छ र मनोबल पनि बढान सकिन्छ।