एक शिक्षित युवती स्कुटर रोकेर बसिरहेको समयमा नजिकै सडक छाउरा (कुकुर) आइपुग्दछ र हटाउन खोज्दा औंलाको टुप्पामा टोकिदिन्छ। छाउराले टोकेको ठाउँमा सानो घाउ बन्छ। कलेजमा पढ्ने युवतीको परीक्षा चलिरहेको थियो। परीक्षा चलिरहेकोले आफन्तको खोप लगाउन दिएको सुझाव उनको प्राथमिकतामा परेन। आज-भोलि खोप लगाउँछु भन्दै डेढ महिना कटिसकेको हुन्छ।
खोप लगाउनु नजाँदा अचानक उनमा रेबिजका लक्षणहरु देखा पर्यो। त्यसपछि उनी उपचारका लागि आइपुगेकी थिइन्। यो केही दिन अघिको मात्र कुरा हो। उनले लेखकसँग कुराकानीका क्रममा माथिका कुराहरु भनेकी थिइन्। खोप किन नलगाएको भन्ने जिज्ञासामा उनले परीक्षा भएकाले परीक्षाका विषयका केन्द्रित हुँदा खोप लगाउन नपाएको जानकारी दिएकी थिइन्।
समयमा नै खोप नलगाएका कारण रेबिजकै कारण उनको मृत्यु भएको छ। शिक्षित युवतीले नै समयमा खोप नलगाउँदा जीवन गुमाउनु परेको यो घटना निकै दुखद् हो। यो घटनामा युवतीलाई कुकुर सानो हुनु (छाउरो), टोकेको स्थानमा सानो घाउ र उक्त घाउ एक दुई दिनमै निको भएकाले खोप लगाउन पर्दै होला भन्ने धारणाका कारण रेबिज भएको देखिन्छ। यसका साथै परीक्षा चलिरहेको र घाउ पनि निको भएकाले पनि खोप लगाउन समयमा नै नआएको देखिन्छ। खोपको सहज पहुँच हुँदाहुँदै पनि खोप नलगाउन नजानु नै यहाँ ठूलो गल्ती भएको देखिन्छ।
त्यसकारण यो लेखको मुख्य उद्देश्य भनेको खोपको सहज उपलब्धता हुँदाहुँदै पनि प्राणघातक रोग रेबिजविरुद्धको खोप लगाउनबाट किन र कसरी चुकिरहेका छौँ भनेर थाहा पाउनु र त्यस्ता गल्तिहरु आगामी दिनहरुमा नदोहोरियोस् भन्ने नै हो। अनि मात्र रेबिजबाट हुने मृत्युदरलाई घटाउँदै लैजान सक्नेमा हामी विश्वास गर्छौं।
रेबिजको लक्षणहरु देखिए बिरामीको मृत्यु शतप्रतिशत हुने गर्दछ। रेबिज रोग आफैंमा नौलो नाम भने होइन र खोप नेपाल सरकारले बिगतदेखि नै नि:शुल्क दिने गरेको छ। तर पनि रेबिजबाट मानिसको मृत्यु निरन्तर भइरहेको अस्पतालको तथ्यांकले देखाउदछ।
केहि समय अगाडिसम्म रेबिज विशेषत मोफसलका जिल्लाहरुमा देखिने गरेकोमा हाल शहर केन्द्रित हुँदै गइरहेको देखिन्छ। केहि महिना अगाडि लेखकले एक काठमाडौंबासी शिक्षिकालाई सानो पप्पीले (छाउरा) टोकेपछि खोप लगाउन अरुले दिएको सल्लाहलाई बेवास्ता गर्दा रेबिजबाट मृत्युवरण गर्नु परेको लेख प्रकाशित गरेको थियो। (यहाँ क्लिक गरेर पढ्न सकिन्छ - खोप लगाउन धेरै पटक भनें, मान्नु भएन र अन्तमा रेबिज देखियो!)
यी दुवै रेबिज बिरामी काठमाडौं बसोबास गर्दै आएका र उच्च शिक्षा लिएकाहरु हुन्। दुवैलाई सानो पप्पी (छाउरा) ले टोकेका र दुबैमा घाउ साना थिए। दुबैले खोप लगाउन आफन्तले दिएको सल्लाहलाई बेवास्ता गरेका वा आवश्यक ठानेनन्। धेरैलाई अहिले पनि कुकुर ठूलो भए, घाउ धेरै र गहिरो भएमा तथा रगत धेरै बगेमा मात्र रेबिजको जोखिम हुन्छ भने धारणा रहेको पाहिन्छ जुन यी घटनाहरुले गलत साबित गरिरहेका छन्।
बर्षौ पहिले खोपको अभावमा रेबिजबाट मृत्युवरण गर्नुपर्ने अवस्था थियो। हाल खोप सर्वशुलभ र नि:शुल्क हुँदा समेत रेबिजबाट मृत्यु हुनेको संख्यामा कमी हुनु पर्नेमा यसको ठिक विपरित विगतमा भन्दा संख्यात्मक रुपमा वृद्दि नै भएको देखिन्छ। हरेक ठाउँ/देशहरुमा रेबिजबाट मृत्यु हुनेका कारणहरु फरक-फरक हुनसक्दछ। नेपालमा हाल रेबिजबाट भइरहेको मृत्युका मुख्य केहि कारणहरुको पहिचान लेखकले गरि लेख समेत प्रकाशित गरेको थियो। (यहाँ क्लिक गरेर पढौं- यी ८ कुरालाई बेवास्ता गरे रेबिज लाग्नसक्छ)
यी कारणहरु "रेबिज रोकथाम निर्देशिका" मा समावेश गरि नेपालका स्वास्थ चौकीहरुमा उपलब्ध गराउने र बेलाबेलामा स्वास्थकर्मी तथा औषधि विक्रेताहरुलाई रेबिज सम्बन्धी तालिम दिन सके रेबिज मृत्युदरलाई घटाउन धेरै हदसम्म सहयोगी हुनेछ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)