काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफ्नो माग पुरा नभए सत्याग्रहको कार्यक्रम सुरु गर्न बाध्य हुने बताएका छन्।
स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि डा केसीले पाँच बुँदे माग अघि सारेका थिए। आफुले माग अघि सारेको एक साता बित्न लाग्दा पनि सरकारले कुनै कदम नचालेको भन्दै डा केसीले प्रेस विज्ञप्ति जारी सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि पाँच बुँदे माग राखेर भदौ १२ गतेदेखि सत्याग्रहको घोषणा गरेका थियौँ। तर अल्टिमेटमको झण्डै एक साता बित्न लाग्दा सरकारले माग पुरा गर्न कुनै कदम चालेको छैन।’
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुके स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा केसीको माग छ।
चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न र विद्युतबाट सञ्चालन हुने गाडीहरुको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकताका साथ कानूनी व्यवस्था गर्न पनि डा केसीले माग गरेका छन्।