काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी दिएको हो।
मन्त्रालयले खोप नलगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकताअनुसार कोरोनाबिरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। त्यस्तै हालसम्म ६१ जना आईसीयू र ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। मन्त्रालयका अनुसार कोभिड–१९ अझै निर्मूल भई नसकेको र विश्वका ७।९ अर्ब मानिसहरू अझै पनि यसको जोखिममा रहेको बताएको छ।
कोभिड–१९ बाट सङ्क्रमित लगभग ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन। तर खोप नलगाएका मानिसमा गम्भीर रूपमा बिरामी पर्ने वा मृत्यु हुनसक्ने सम्भावना खोप लगाएकाको तुलनामा १० गुणा बढी हुने मन्त्रालयको जिकिर छ।
बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ। साथै जनस्वास्थ्यका मापदण्ड पालना गर्नपनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।