काठमाडौं- बाजुराका दुई गर्भवतीको एकै दिन हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुरामा विशेषज्ञ डाक्टर नहुँदा सुरक्षित प्रसूतिका लागि उद्धार गर्नुपरेको हो।
हवाइ उद्धार गरिएकामा ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनी राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको हो।
राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् अछामको साँफेबगरबाट उद्धार गरिएको हो भने मनुको कोल्टीबाट समिट एयरको जहाजबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। दुबै जनालाई नेपाली सेनाको हेलिकप्टरले सँगै उद्धार गर्न खोजेपनि पोरखे लेकमा खराब मौसमले हेलिकोप्टर कोल्टी जान सकेन् ।
राई हेलिकोप्टरको पर्खाइमा दुई दिनसम्म जिल्ला अस्पताल बाजुरामा तड्पिएकी थिइन्। खराब मौसमले हेलिकोप्टर आउन नसकेपछि बुधवार बिहान एम्बुलेन्सबाट पठाइएको थियो। बुधवार दिउसो अछामको साँफेबाट उनकको उद्धार गरिएको हो।
जेनीलाई आफन्तले आइतबार साँझ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर ल्याएका थिए। केन्द्रले रिफर गरेपछि आइतबार कोल्टीमा जहाजमा नेपालगञ्ज लिने तयारी थियो। खराब मौसले कोल्टीमा जहाज नआएपछि बोकेरै जिल्ला अस्पताल बाजुरामा पुर्याइएको थियो। बाजुरा जिल्ला अस्पतालमा पनि प्रसूति गराउन सम्भव नभएपछि सोमबार राति विशेषज्ञ चिकित्सक रहेका अस्पतालतर्फ रिफर गरिएको थियो।
जिल्ला अस्पताल बाजुरामा नवौं तहका विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर स्वास्थ्य मन्त्रालयले अस्पतालाई प्राथमिकतामा नपार्दा लामो समयदेखि विशेषज्ञ चिकित्सक उपलब्ध छैनन्।
जान खोजेका चिकित्समाथि राजनीति
दुर्गम जिल्ला भएकाले हतपती विशेषज्ञ चिकित्सक जान मान्दैनन्। तर त्यहाँ जान चाहने चिकित्सकमाथि पनि 'हाकिम' बनाउने राजनीतिले रोक्ने गरेको पाइएको छ।
स्वास्थ्यमन्त्री हाल एकीकृत समाजवादीका तर्फबाट भवानी खापुङ छन्। यसअघि सोही पार्टीकै विरोध खतिवडा थिए। उनीहरुले बाजुरामा विशेषज्ञ अभाव भएको जानकारी पाएका थिए। तर दुर्गम जिल्लामा काम गर्न तयार रहेका एमडीजीपी डाक्टर पार्टीका नेताको लबिङमा पहिले नै दुईटा विशेषज्ञ डाक्टर रहेको बझाङ पठाएका थिए।
स्रोतका अनुसार बझाङ जिल्लाबाट राजनीतिक गर्ने एकीकृत समाजवादीका नेता भानुभक्त जोशीका आफन्त बाजुरामा एमबीबीएस डाक्टर छन्। नवौं तह अथवा विशेषज्ञ डाक्टर नभएको अवस्थामा उनी निमित्त मेडिकल सुपरिटेन्डेन्ट पनि छन्। विशेषज्ञ डाक्टर आउँदा स्वत: उनको जिम्मेवारी खोसिने भएकाले स्वास्थ्यमा समेत राजनीति भएको हो।
बझाङ पठाइएका एमडीजीपी डाक्टर अन्वेष कोइराला जिल्ला अस्पताल बाजुरामा जान तयार छन्। यसका लागि उनले मन्त्रालयमा निवेदन समेत दिएका छन्। उनले निवेदनमा लेखेका छन्, 'बझाङ जिल्ला अस्पतालमा दुईजना एमडी (विशेषज्ञ) डाक्टर रहेकाले अभाव भएको बाजुरामा सेवा गर्न अनुमति दिन अनुरोध गर्दछु।'
अस्पताल व्यवस्थापन समितिले उनलाई जिल्ला अस्पताल बाजुरा सरुवा गरिदिन मन्त्रालयलाई अनुरोध समेत गरेको छ। तर त्यसलाई समेत एकीकृत समाजवादीका सुदूरपश्चिमका तिनै नेताले रोकेका छन्। डा अन्वेश वा विशेषज्ञ डाक्टर जोकोही बाजुरा जाँदा एमबीबीएस मात्रै पढेका उनका आफन्तको निमित्त मेसुको पद नरहने भएकाले मन्त्री खापुङलाई प्रभावित पारेर रोकेको बुझिएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की जिल्ला अस्पताल बाजुराले कहिल्यै दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको बताउँछन्। आफूले पटक-पटक माग गर्दा पनि मन्त्रालयले वास्ता नगरेको बताए।
उनले भने, 'हामी आफैंले पहल गरेर बझाङमा रहेका छात्रवृत्तिका एमडीजीपी डाक्टर बाजुरा पठाउन मन्त्रालयलाई पत्र लेखेका थियौं। तर मन्त्रालयले त्यसबारे चासो देखाएको छैन। उहाँ नभए अरु नै पठाउन भन्दा पनि सुनुवाइ भएको छैन।'
बाजुरामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य अप्रेसनका लागि समेत रिफर गर्नुपर्ने अवस्था छ। अहिले सडकमार्ग समेत अवरुद्ध हुँदा उद्धारका लागि हेलिकोप्टरको विकल्प नभएको उनी बताउँछन्।