रुकुम (पूर्व)- रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै वडा सचिवविहीन छन्। सुरुदेखि नै सचिवविहीन बनेका वडामा स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम गर्दै आएका छन्।
वडा सचिव नभएपछि गाउँपालिकाले नै सबै वडामा वडा सहायक खटाएको छ। वडा सहायकले वडाबाट हुने सबै कामकाजको कागजपत्र मिलाउने, सिफारिस तयार पार्ने गर्दछन्। वडाबाट नजिक पर्ने स्वास्थ्यचौकीका इञ्चार्जले हस्ताक्षर गरेर अहिलेसम्म कामकाज चल्दै आएको पुथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष एवं गाउँ कार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले बताए।
घर्तीका अनुसार गाउँपालिकाको १, २, ३, ४, ९ र १२ नं वडामा वडा सचिवको काम गाउँपालिकाका स्वास्थ्य संयोजक एवं मैकोट स्वास्थ्यचौकीका इञ्चार्ज समीर गिरीले गर्दै आएका छन्। वडा नं १, २, ३, ४ र ९ नं का नागरिक वडाबाट सिफारिसलगायत अन्य कागजातमा हस्ताक्षर गराउनुप¥र्यो भने फाइल बोकेर तकसेरा आउने गर्दछन्। मैकोट गएको खण्डमा मैकोटबाट झर्ने बेलासम्म १२ नं वडाका नागरिकले कागजातमा हस्ताक्षरको लागि गिरीलाई पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता घर्तीले बताए।
प्रवक्ता घर्तीका अनुसार गाउँपालिकाको ५ र ६ नं वडामा स्वास्थ्यचौकी हुकामका इन्चार्ज हेमन्त बुढाथोकीले पञ्जीकरणको काम गर्दै आएका छन्। ७ र ८ नं वडामा स्वास्थ्य चौकी रिबाङचौर जाङका इन्चार्ज, १०, ११ र १३ नं वडामा स्वास्थ्यचौकी तकसेराका इञ्चार्ज कलिभान विष्ट र १४ नं वडामा स्वास्थ्यचौकी राङ्सीका इञ्चार्ज सरोज यादवले पञ्जीकरणको जिम्मेवारी सम्हाल्दै आएका छन्।
भौगोलिक विकटता भएको यस क्षेत्रका नागरिक दुईतीन दिन लगाएर एउटा सिफारिस बोकेर रुकुमकोट पुग्ने र त्यही सिफारिस नमिल्दा सिफारिस बनाउन तीन दिन लगाएर मैकोट÷पेल्मा फर्कनुपर्ने अवस्था रहेको छ ।
यता गाउँपालिका स्वास्थ्य संयोजक समीर गिरीले स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम सम्हाल्दा स्वास्थ्य क्षेत्रको काम प्रभावित हुने गरेको बताए। वडा सचिवविहीन हुँदा पञ्जीकरणको सबै काम अस्तव्यस्त हुने गरेको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताए। रासस