मानव शरीरको विभिन्न अंगहरु मध्ये अनुहार एउटा अतिनै महत्वपुर्ण अंग हो। साथै यो हाम्रो शारीरिक र सामाजिक पहिचानको पनि द्योतक हो। विभिन्न भागहरु मिलेर बनेको हाम्रो अनुहारको एउटा महत्वपुर्ण भाग अनुहारको जोर्नी हो। यो जोर्नी तल्लो र माथिल्लो जबडाको हड्डी मिलेर बनेको अतिनै जटिल प्रकारको हुन्छ। कानको ठ्याकै अगाडि पर्ने यो जोर्नी मुख खोल्न र बन्द गर्न प्रयोग हुन्छ। मुख खोल्दा अगाडि आउने र मुख बन्द गर्दा पछाडि जाने यो जोर्नी मुख खोल्दा कानको अगाडि भागमा दुइतिरै औंलाले छामेर महसुस गर्न सकिन्छ। अतिनै संवेदनशील यो जोर्नीमा अलिकति पनि खराबी आएमा हाम्रो दिनचर्या र दैनिक कामनै प्रभावित हुन जान्छ।
के-के मिलेर बनेको हुन्छ यो जोर्नी ?
-ग्लेनोइड फोस्सा (खप्पडको हड्डी )
- मेण्डिबुलर कोण्डाइल (तल्लो जबडाको हड्डी )
-डिस्क ( जोर्नीको बिचको नरम लेयर)
- लिगामेण्ट
- चपाउन मद्दत गर्ने मांशपेशीहरुको समूह
लगभग ४०-७५ प्रतिशत जनसंख्याले आफ्नो जीवन कालमा कमसे कम एउटा लक्षण आवस्य नै महसुस गरेको हुन्छ। ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष यो बिमारीबाट ग्रसित भएको विभिन्न अध्ययनहरुले देखाएको छ। जसमध्ये २०-३० वर्षको उमेर समूहको ५९ प्रतिशत , ३०-४० वर्षको उमेर समूहको २५ प्रतिशत, ४०-५० वर्षको उमेर समूहको ८ प्रतिशत र ५० वर्षभन्दा माथिको उमेर समूहको ७ प्रतिशतमा यो रोग देखिएकोछ। ६७ प्रतिशत बिरामीहरुमा एउटामात्र जोर्नी प्रभावित हुने हुन्छ भन्ने ३३ प्रतिशत बिरामीमा दुइटै जोर्नी प्रभावित हुने हुन्छ।
जोर्नीको बिमारीको प्रकार?
१ ) आर्थराइटिस
२ ) डिस्कको समस्या (Disc displacement)
३ ) मुख नखुल्ने / कम खुल्ने समस्या
४ ) मुख अधिक खुल्ने समस्या
५ ) जोर्नी खिइने/ठूलो हुने समस्या
६ ) जोर्नीको ट्युमर
जोर्नीको समस्याको कारण र जोखिम
१ ) उमेर : ४० वर्षभन्दा माथि, विशेष गरेर महिला प्रभावित
२ ) हर्मोनको असन्तुलन : २० वर्षभन्दा कमको केटीहरुमा
३ ) हड्डी वा जोर्नीमा चोटपटक
४ ) आर्थराइटिस
५ ) नमिलेको दाँत
६ ) नमिलेको अनुहारको हड्डी
७ ) दारा किटने समस्या
८ ) दातले नंग टोक्नु / पेन -पेन्सिल चपाउनु
९ ) लामो समयको दाँतको उपचार
१० ) नमिलेको कृत्रिम दाँत
११ ) गलत तरिकाले तार बाँधेर गरिएको दाँतको उपचार
१२ ) मानसिक तनाव
१३ ) वंशाणुगत
लक्षणहरु के के हुन्छन्?
१ ) जोर्नी दुख्ने र असहज महसुस हुने
२ ) दुखाई र असहजता घाँटी - पाखुरासम्म हुने
३ ) मुख खोल्दा र बन्द गर्दा कट -कट स्वर निस्किने
४ ) मुख कम खुल्ने वा धेरै नै खुल्ने (सामान्य तया ३५-४० मि मि )
५ ) मुख खोल्दा तल्लो बंगाराको हड्डी बाङ्गिने
६ ) टाउको दुख्ने
७ ) अनुहारको मांशपेशीहरु पनि दुख्ने
८ ) कान दुख्ने
९ ) खाना चपाउन वा निल्न अपठेरो हुने
१० ) बिहान उठ्दा जोर्नी कडा भएको जस्तो महसुस हुने र बिस्तारै कडापना कम हुँदै जाने
११ ) मानसिक तनाव र निद्रा नलाग्ने
कोसँग गराउने उपचार ?
- मुख तथा अनुहार सर्जन, अनुहारको बिमारीहरुको उपचारको विज्ञ
के के परिक्षण गर्ने ?
१ ) अनुहारको फुल एक्सरे (OPG / TMJ X-ray )- सब भन्दा पहिला गरिने यो प्राथमिक एक्स रे हो। यसले दुवै जोर्नीको हड्डीको अवस्था, आकार, स्थान, दाँतहरुको अवस्था आदिको बारेमा जानकारी दिन्छ।
२ ) अनुहारको सिटी स्कान – यो परीक्षणले विशेष गरेर आर्थराइटिसमा जोर्नीको हड्डी खिइएको, पातलो भएको, भाँचिएको, आकार - अवस्था आदिको बारेमा जानकारी गराउँछ।
३ ) जोर्नीको एमआर आइ- यो विशेष प्रकारको जाँच हो। यसले डिस्कको अवस्था, मांशपेशी, लिगामेन्ट आदिको बारेमा जानकारी गराउँछ।
४ ) रगतको परिक्षण – CBC,ESR, CRP, RA Factor, Ca/Mg, Vit D level आदि
५ ) आर्थ्रोस्कोपी - दुरविनले जोर्नी परिक्षण गर्ने
उपचार र समाधान ?
विभिन्न उपचार पद्धति अवलम्वन गर्ने गरिन्छ, ति हुन् - बिना शल्यक्रिया गरिने उपचार र शल्यक्रिया गरि गरिने उपचार।
१ ) बिना शल्यक्रिया गरिने उपचारहरुमा पनि विभिन्न प्रकारका उपचार पद्धितहरु पर्दछन्। सुरुवाती अवस्थामा औषधि र फिजियोथेरापीको प्रयोग (फिजियोथेरापीमा अनुहारको आइसोमेट्रिक व्यायाम तथा रेसिस्टेन्स व्यायाम), तातोले जोर्नीलाई सेक्ने, नरम नरम खाने कुराहरु मात्र खाने, मुख धेरै नखोल्ने, पौष्टिक आहार खाने र आरामदायी निद्रा लिने। यो सब उपाय अपनाएर पनि निको नभएमा दोस्रो चरणको उपचार तिर लाग्नु पर्छ। दोस्रो चरणको उपचारमा विभिन्न प्रकारको मुखमा लगाउने एप्लायेंसहरु जस्तै डेण्टल स्प्लिण्ट, दाँतमा तार बाँधेर उपचार, नमिलेको दाँतको भागलाई मिलाउने आदि।
डेण्टल स्प्लिण्ट - यो एउटा अप्लायेंस हो जुन तल र माथि को दाँतलाई पुरै कभर गर्ने गरि लगाइन्छ। यो अप्लाइन्स लगाएपछि यसले जोर्नीको लोडलाई कम गर्छ, टोक्ने शक्तिलाई बराबर वितरण गर्छ, जोर्नीलाई स्टेबिलाइज गर्छ, अनुहारको मांशपेसीहरुलाई पनि आराम गराउछ। यो दाँतको नाप लिएर डेण्टल लेवमा बनाइन्छ र खान खाने बेला बाहेक लगभग सधैं जसो लगाउनु पर्छ।
फिजिओथेरापी पनि उपचारको एउटा महत्वपूर्ण अंग नै हो। जस्तै अल्ट्रासाउण्ड थेरापी, टेन्स थेरापी, लेजर थेरापी आदि। आजकल सवैभन्दा धेरै प्रयोग हुने उपचारमा लेजर थेरापी पर्दछ। लेजर थेरापीले जोर्नीको दुखाइ कम गर्नुको साथ् साथै जोर्नीको मुभमेन्ट र फ्री रेडिकल लाइ पनि सन्तुलित गर्दछ र यसको आउट्कम पनि एकदम राम्रो छ।
२ ) इन्भ्याजिब थेरापी अन्तर्गत प्रोलोथेरापी र आर्थ्रोसेण्टेसिस थेरापी पर्दछ।
-प्रोलोथेरापी अत्याधुनिक रिजेनेरेसन थेरापी हो। यो थेरापीमा जोर्नीमा बिरामीको रगत या डेक्स्ट्रोज या पीआरपी आदिको इन्जेक्सन दिने गरिन्छ, जसले जोर्नीमा नयाँ जोश भर्नुको साथै रिजेनेरेसनमा मद्दत गर्छ।
-आर्थ्रोसेण्टेसिस थेरापी भनेको जोर्नीलाइ भित्र देखि सफा गर्ने प्रविधि हो। यो थेरापीमा जोर्नी भित्र दुइटा सुइहरु छिराएर एउटा सुइबाट आरअल हाल्ने र अर्को सुइ बाट लभाज गर्ने गरिन्छ। जसले पुरै जोर्नीलाईनै सफा गर्नुको साथै दुखाई कम गराउने, मुख खुल्ने र जोर्नीको चाल सन्तुलित बनाउछ। यो एकदम धेरै प्रयोग हुने पूर्ण सुरक्षित र एकदम सफल उपचार पद्धति हो।
३ ) शल्यक्रिया गरि गरिने उपचारहरूमा धेरै उपचार पद्धतिहरु उपलब्ध छन् जुन जोर्नीको तहगत खराबीको आधारमा प्रयोग गरिन्छ जस्तै हड्डीको शल्यक्रिया , डिस्कको सल्यक्रिया , जोर्नी वरिपरिका अरु नरम तन्तुहरुको शल्यक्रिया, दुरविनले गरिने शल्यक्रिया आदि। आर्थराइटिस आदिमा हड्डी खराब भएकोले शल्यक्रिया गरि हड्डी मिलाइन्छ। त्यस्तै जोर्नीको बिचमा हुने नरम लेयर डिस्कको खराबी भएमा ओपेन डिस्क सर्जरी गरि डिस्कलाई उचित ठाउँमा राखेर मिलाइन्छ। एकदम एडभान्स स्टेजको जोर्नीको समस्या जुन अरु कुनै पनि उपचार पद्धतिले ठिक हुदैन, त्यस्तो जोर्नीलाई परिवर्तन गरि कृत्रिम नयाँ जोर्नी नै हाल्नु पर्छ जसलाई टोटल जोइण्ट रिप्लेस्मेण्ट भनिन्छ। यसमा पुरै जोर्नीलाई नै शल्यक्रिया गरि हटाएर कृत्रिम नयाँ जोर्नी राखिन्छ। कृत्रिम जोर्नी पुरै टाइटानियम भन्ने धातुले बनेकोले एकदम महँगो हुने र नेपाली बिरामीको लागि अति कस्टकर र आर्थिकरुपले पिडादायी हुन सक्छ।
कसरी जोगाउने अनुहारको जोर्नी ?
- मानसिक तनावबाट मुक्त हुने
- टेन्सन र अनिद्राबाट आफूलाई जोगाउने
- कडा खान नखाने
- च्विंगम चपाउन कम गर्ने
- नंग टोक्ने वा कलम -पेन्सिल चपाउने बानी हटाउने
- खाना चपाउदा दुइतिरैबाट चपाउने
- दारा किट्ने समस्यालाई समाधान गर्ने
- दैनिक व्यायाम गर्ने
- नमिलेको दाँत समयमै मिलाउने आदि।
(मुख तथा अनुहार शल्यचिकित्सक डा चौधरी हाल भरतपुर अस्पतालमा कार्यरत छन्।)