काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री तथा सांसद डा सुरेन्द्र यादवले चिकित्सा शिक्षा ऐनले स्वास्थ्य संस्था धरापममा परेको बताएका छन्। उनले संसदमा बोल्दै ऐन संशोधनको समेत माग गरेका छन्।
'यसै संसदबाट हामीले चिकित्सा शिक्षा ऐन पारित गरेका हाैँ, त्यसै कारण अहिले मेडिकल कलेज र सीटीइभीटीबाट सञ्चालित सरकारी र निजी स्वास्थ्य संस्था धरापमा परेका छन्।' डा यादवले भने।
उनले चिकित्सा शिक्षाका विद्यार्थी विदेशिँदा मुद्रा बाहिरिएको उल्लेख गर्दै उनले चिकित्सा शिक्षा ऐनको सुधारबाट विदेशी मुद्रा भित्राउन सकिने बताए।
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी विद्यार्थी समेत पढ्न आउने गरेकोमा अहिले कोटा घटाउँदा अवस्था खराब रहेको उल्लेख गर्दै उनले भने, 'बेड अकुपेन्सी हुँदा पनि एमबीबीएस कोटा सयमा झारिएको छ। यसमा पुनर्विचार गर्नुपर्छ।'
यसैगरी नर्सिङ कलेज बन्द भइरहेको बताउँदै उनले अहिले पनि गाउँमा नर्स पुग्न नसकेको बताए। उनले भने, 'आज पनि गाउँघरकका स्वास्थ्य संस्थामा नर्सिङको जनशक्ति नहुँदा खाली छ। निजी संस्थाको लगानी नेपाल सरकारको लगानी होइन तर विद्यार्थी पढ्न वञ्चित गरेको छ।'