जंक फूड भन्नाले यस्तो छिटो छिटो बन्ने परिकार हो जस्मा पोषक तत्वहरु भिटामिन, प्रोटिन, फाइबर, एवं खनिज पदार्थको निकै कमि हुन्छ। स्वादको भरपूर संयोजन गरिने जंक फूडमा उच्च क्यालोरी, अधिक बोसो, चिनी र नुनको प्रयोग गरिएको हुन्छ जसले स्वास्थ्यमा निकै नकरात्मक असर पुर्याउँछ।
चाउचाउ, लेज, कुरकुरे-पेय पदार्थहरु लगायत फास्ट फूड वा जंक फूडमा पर्छन्। यस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुरा बाट परै रहनु पर्छ। हाम्रो जिब्रोमा जंक फूडको स्वाद गाढिएको छ। छिटो, छरितो र मीठो खान्कीको रुपमा जंक फूड खान्छौं, जो बजारमा सजिलै उपलब्ध पनि हुन्छ र बालबच्चालाई पनि त्यही खुवाउँछौं। यद्यपि यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ। अझ गर्मीको समयमा त जंक फूड विष समान हुन्छ यसको सेवनले फूड प्वाइजनिङ समेत हुनसक्छ।
बालबच्चालाई विद्यालयमा केही खाजा लैजान पर्यो भने पसलबाट चाउचाउ र बिस्कुट किनेर लैजान सुझाव दिने जन्म दिने अभिभावक नै हुन्छन्। अफिस जाने हतारमा बालबच्चालाई घरबाटै खाजा बनाइदिने फुर्सद त कहाँ हुन्छ र आजकलका बा आमालाई। त्यसमाथि सहरी जीवनयापनले सहजता खोज्न थालीसकेको छ। चाउचाउ खाजा लाँदा सहरीया पल्टिने बालबच्चाहरु घरमा बनेको पुवा टिफिनमा हालेर लैजान पर्दा पाखे भएको महसूस गर्छन्। यसमा बालबच्चाको दोष भन्दा पनि अभिभावकले कस्तो सिकाउँछन् र विद्यालयले कस्तो वातावरणमा पढाउँछ भन्ने कुराले मध्यनजर राख्दछ।
साना मात्रै होइन ८,९,१० पढ्ने विद्यार्थी पनि क्यान्टिनमा मःम चाउमीन खान पाएपछि घरबाट पकाएको रोटी लान मान्दैनन्। सानैदेखि लाएको बानी हटाउन निकै नै सकस हुन्छ। त्यसैले जे सुधार गर्नुपर्ने हुन्छ सबै बालबच्चा देखि नै सुरु गरौं।
जंक फूडले बालबच्चामा पार्न सक्ने नकारात्मक असर
- जंक फूडमा मोनोसोडियम ग्लूटामेटको प्रयोग हुने हुनाले यसको सेवन पश्चात टाउको दुख्ने, मांसपेशीहरु दुख्ने सम्स्या हुन्छ। तत्काल नभए पनि कालन्तरमा यसले ठूलो रोग पनि निम्त्याउन सक्छ।
- चिप्स, कोक, फेन्टा, चकलेट जस्ता जंक फूडमा चिनीको मात्रा बढि हुनेहुनाले दाँतसँग सम्बन्धित धेरै समस्याहरु देखिन सक्छन्। दाँत किराले खाने, सड्ने, मुख गन्हाउने जस्ता समस्याहरु आइपर्छन्।
- यस्ता जंक फूडको अत्याधिक सेवनले मोटोपनमा वृद्धि हुन्छ। भर्खरको बालबच्चा धेरै मोटाउनु भविष्यको लागि पनि फाईदाजनक हुँदैन। किनकि मोटोपन नै आजकल नसर्ने रोगहरुको कारक तत्व हो।हृदयरोग, रक्तचाप, मधुमेह जस्ता समस्याहरु यौवन अवस्थामा नै नदेखिएला भनेर भन्न सकिन्न।
- अनेकौं फ्लेवर, कलर, प्रिजर्वेटिवहरु जंक फूडमा पाईन्छन्। यी कुराहरु बालबच्चाको स्वास्थ्यका लागि कुनै दृष्टिकोणबाट फाइदाजनक छैनन्।
- जंक फूडहरुको सेवनले बालबच्चाको पढाई आनीवानी र दिनचर्यामा नै प्रतिकूल असर पर्दछ। किनकि यस्तो अखाद्य वस्तुको सेवन गर्दा स्वभाविक भन्दा भिन्नै चरित्र बालबच्चाले देखाउन सक्छन्। धेरै मात्रा मा प्रयोग गर्दा मानसिक समस्या आई विद्यालयमा पढाई प्रति ध्यान एकत्रित गर्न सक्दैनन्।अभिभावकसँग झर्किएर बोल्ने, रिसाएर बस्ने जस्ता देखिन्छन्। केही कार्बोनेटेड पेय पदार्थहरुमा हुने कैफिनले पनि एकाग्रतामा असर पार्दछ।
- स्वाद र सन्तुष्टि मिल्दा दैनिक जसो उही जंक फूड चाहिने भन्दै बालबच्चाहरु रोईकराई पनि गर्छन्। यसले विस्तारै एडिक्सनको रुप लिन्छ। घरका खानेकुरा देख्यो कि मन नजाने हुन्छ।
जंक फूडलाई बालबच्चाबाट टाढै राख्न के गर्ने?
- अभिभावकहरु सुरुमा ज़िम्मेवार हुनपर्छ।घरमा बनेका खानेकुरा भनेपछि नाक खुम्च्याउने जुन प्रवृत्ति छ,यो सुरुमा अभिभावक बाटै विस्थापित हुन पर्छ। अभिभावकहरुले घरमा चाउचाउ र बिस्कुटका प्याकेटहरु ल्याउन बन्द गर्नुपर्छ। सजिलोको नाममा चाउचाउ उमालेर दिने होइन पिठोको रोटी खुवाउने जाँगर चलाउनुपर्छ।
- विद्यालय पठाउँदा भुटेको मकैं भटमास,कोदोको रोटी,पुवा,हलुवा,तरकारी,अचार आदि आदि टिफिनमा बालबच्चालाई पठाउन सकिन्छ। आधा घण्टाको जाँगर चल्यो भने यो असम्भव हुँदैन। यहाँ त अभिभावक लाई टिकटकमा झुम्मिने फुर्सत हुन्छ तर टिफिन तयार गर्ने फुर्सत हुँदैन।
- विद्यालयका क्यान्टिन जंक फूड निषेधित हुनपर्छ। अलिकति महँगो नै किन नपरोस् तर पौष्टिक खानेकुरा विद्यालय कै क्यान्टिनमा पाईन थाल्यो भने अभिभावकलाई पनि सकस पर्दैन।
- घर र विद्यालय दुवै ठाउँमा जंक फूडका हानिकारक बेफाईदा बारे अभिभावक र शिक्षक सबै जानकार हुनुपर्दछ।
- विद्यालयमा विभिन्न कार्यक्रममा कथा वा नाटक वा पोस्टरहरुबाट बालबच्चालाई जंक फूडका बेफाईदाहरु बारे प्रष्ट हुने गरी बताउनुपर्छ।
- विद्यालयमा बालबच्चाहरुले टिफिन खाने बेलामा शिक्षकद्वारा यस्का फाइदा र खाने तौरतरिका बताईदिनुपर्छ। अनि बाँडीचुँडी खाने संस्कृति विकास गर्दा समेत घरबाट नै टिफिन ल्याउने पद्धतिमा क्रमिक सुधार हुन्छ।
- जंकफूड बेच्ने पसलहरु विद्यालय भन्दा अलि टाढा राख्नुपर्छ। अनि बालबच्चालाई जंक फूड किन्न पैसा दिने संस्कृति पनि हटाउनुपर्छ। विस्तारै फलफूल र घरकै खान्कीमा फर्काउनुपर्छ।
- बालबच्चाहरु स्वादका पारखी हुन्छन्। लोभिएर रोईकराई गर्छन्। यो एडिक्सनबाट विस्तारै घरको आहार विहारमा ल्याउनुपर्छ। नत्र रोएको बालबच्चालाई फकाउन जंकफूडलाई हतियार बनायौं भने कालन्तरमा यो आफैं तर्फ सोझिन्छ।
आर्थिक रुपले पनि आफ्ना सबै बालबच्चालाई खाजाको मात्रा पुर्याउन मध्यमवर्गीय परिवारलाई हम्मेहम्मे हुन्छ। तर जंक फूडको ठाउँमा घरकै खाजा रोज्यौं भने एउटा भाँडामा पाक्ने कुराले सबैको पेट र मन भरिन्छ। आयात गरिएका स्वास्थ्य बिगार्ने जंक फूड भन्दा देशकै खेतबारीका अन्न तथा उब्जाउ भएका खाना खाँदा बालबच्चाको शारीरिक, मानसिक, सामाजिक एवं वौद्धिक विकासमा मद्दत पुग्छ।