काठमाडौं - काठमाडौंका एक तीन वर्षीय बालकलाई लगातार चार दिनदेखि ज्वरोले सतायो। ज्वरोसँगै उनलाई खोकी लाग्ने, बान्ता आउने समस्या पनि थियो। ज्वरो १०३ डिग्रिसम्म आएपछि उनका बुवाले पारासिटामोटल निको खुवाए। तर ज्वरो कम नै भएन।
उनले भने, ‘ज्वरो आउने, खाना खाने बित्तिकै बान्ता गर्ने, खोक्ने समस्या थियो। पारासिटामोल (निको) खुवाएँ। निको खाँदासम्म ज्वरो ठिक हुन्थ्यो अनि फेरि ज्वरो बढी हाल्थ्यो।’
पाँचौ दिनमा उनी छोराको उपचारका लागि एक क्लिनिकमा गए। उनको छोरालाई भाइरल ज्वरो आएको रहेछ। छैठौँ दिनदेखि ज्वरो कम हुँदै गएको उनी बताउँछन्।
उनी मात्र होइन, हाल काठमाडौंमा बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। आफ्ना बालबालिकालाई ज्वरोले सताएको भन्दै अस्पताल तथा निजी क्लिनीकमा पुग्ने अभिभावकको भीड बढ्दो छ।
चिकित्सकीय भाषामा हाल देखिएको भाइरल ज्वरो ‘एडिनो भाइरस’को संक्रमण हो, जुन काठमाडौंमा फैलन थालेको छ। रुघाखोकी र ज्वरोका लक्षण लिएर आउने बिरामीको संख्या बढेपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। लक्षणका आधारमा पठाइएको १३ वटा नमूनामध्ये १२ जनामा एडिनो भाइरस पुष्टि भएको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए। १२ जनामध्ये पनि तीन जनामा इन्फ्लुएन्जा ए देखिएको थियो।
उनले भने, ‘एडिनो भाइरसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामी बढ्न थालेपछि हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका थियौँ। उहाँहरुले जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाउन भन्नु भयो। लक्षणका आधारमा पठाएको १३ नमूनामध्ये १२ जनामा एडिनो भाइरस पुष्टि भएको हो।’
कान्ति बाल अस्पतालको ओपिडीमा हाल दैनिक नौ सय बिरामीहरु पुग्छन्। जसमध्ये अधिकांशमा भाइरल ज्वरोका बिरामी भएको अस्पतालका निर्देशक डा बसौलाले बताए। ज्वरोसँगै रुघाखोकी, घाँटी दुख्ने, आँखा पाक्ने, शरीर दुख्ने समस्या पनि उनीहरुमा देखिने गरेको छ। १०३÷१०४ डिग्रिको ज्वरो लिएर आउने गरेको र सिटामोल खुवाउँदा पनि कम नहुने गरेको उनले बताए।
उनले भने, ‘एक हप्ता अघिसम्म यो समस्या लिएर आउनेहरु धेरै थिए। ओपिडीमा मात्र एक हजार र इमरजेन्सीमा २÷३ सय बिरामी गरी दैनिक १३ सय सम्म पनि थिए। उनीहरुलाई सिटामोल दिँदा पनि ज्वरो कम भएको थिएन। तर अहिले भने केही घट्न थालेको छ।’
हाल विद्यालयहरु बन्द भएका कारण पनि बिरामीहरु कम आउन थालेको हो की भन्ने उनको अनुमान छ। यद्यपि अहिले पनि ओपिडीमा दैनिक नौ सयको हाराहारीमा बिरामीहरु आइरहेका छन्। साउन १० गते ८५६, ११ गते ९०० र १२ गते ७९७ जना बिरामीहरुले ओपिडीमा सेवा लिएका छन्। एक हप्ता अघि ज्वरोका कारण अस्पताल भर्ना हुनेको संख्या ३५ थियो भने अहिले ८÷१० जना मात्र भर्ना हुने गरेको उनले बताए।
कोरोना भाइरससँग मिल्दोजुल्दो भएकाले कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायहरु नै अपनाउन डा बसौलाको सुझाव छ।
‘यो एडिनो भाइरस हाँच्छ्यु गर्दा, खोक्दा, श्वासप्रश्वासको माध्यमबाट सर्ने हो। त्यसैले कोरोना भाइरसबाट बच्न जसरी हामीले हात धुने, माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने उपाय अनाउँछौ। यो भाइरसबाट पनि यसरी नै बच्ने हो।’ उनले भने।
के हो एडिनो भाइरस?
यो एडिनो भाइरस एक संक्रामक विषाणु हो। विद्यालय जाने र साना उमेरका बालबालिकाहरुमा यो संक्रमण बढी देखिन्छ। यो संक्रमण ठूला व्यक्तिहरुलाई नहुने भन्ने होइन। तर कुल संक्रमितमध्ये किरब ९० प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाहरु हुने गरेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा राजकुमार बिक बताउँछन्।
हाल देखिएको भाइरल ज्वरो एकदमै छिटो सर्ने गरेको उनले बताए। हाँच्छ्यु गर्दा, खोक्दा, संक्रमितको दिसा, पिसाब वा आँखाबाट निस्कने आँशुबाट पनि संक्रमण एकबाट अर्को सर्ने गर्दछ।
उनका अनुसार एक तिहाई संक्रमित बिरामीमा मात्र लक्षण देखिन्छ। ती लक्षणहरु हुन्:
– ब्रोङिकयोलाइटिस वा निमोनिया हुने
– धेरै ज्वरो आउने, रुघाखोकी लाग्ने
– फोक्सोमा पानी जम्ने तथा दाग देखिने
– घाँटी दुख्ने
– केहीमा आँखा रातो हुने
– झाडापखाला पनि हुन सक्ने
– एक्कासी रातो पिसाब आउने, पिसाब फेर्दा दुख्ने, छिनछिटमा पिसाब लाग्ने आदि।
प्रतिरक्षा शक्ति कम भएका जस्तै बोनम्यारो प्रत्यारोपण वा कुनै अंग प्रत्यारोपण भएका बिरामीमा अंगदान लिएको पहिलो एक सय दिनमा निमोनिया लगायत कडा संक्रमण देखिन्छ। एडिनो भाइरसको संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए।