इन्टरनेशनल फेडेरेस न अफ हेड एन्ड नेक अंकोलोजी सोसाइटीले हरेक वर्ष जुलाई २७ तारिखमा विश्वव्यापी रूपमा हेड एन्ड नेक क्यान्सर दिवस मनाउने गर्दछ। सामान्य रूपमा हेड एन्ड नेक भन्नाले टाउको, घाँटी, मुख, नाक, कान र गलाको क्यान्सर भन्ने बुझिन्छ।
नेपालमा क्यान्सर बढिरहेको छ। त्यसमा पनि हाम्रो जीवनशैली र खानपानको कारणले हेड एन्ड नेकको क्यान्सर बढीरहेको छ। सुर्ती, चुरोट र मदिरा सेवन नै हेड एन्ड नेक क्यान्सरको प्रमुख कारण हुन्।
हेड एन्ड नेक क्यान्सरमा नाक,आँखा, छाला, कान, मुख,ओठ,जिब्रो,स्वर नली, खाना नली, थाईराइड ग्रन्थि, र्याल ग्रन्थि र लिम्फोमा पर्दछन्। त्यसमा पनि विशेषतः मुखको क्यान्सर, थाईराईडको क्यान्सर र घाँटीका क्यान्सर पर्दछन्।
अन्य क्यान्सर भन्दा हेड एन्ड नेक क्यान्सरका लक्षणहरू केही फरक छन्। यो क्यान्सर हुँदा मुख वा घाँटीको क्यान्सर हुँदा खाना खान गाह्रो हुने, खाना निल्न गाह्रो हुने, मुखबाट रगत बग्ने, मुख गन्हाउने, श्वास फेर्न गाह्रो हुने, घाँटीमा डल्लाहरू आउने र मुखमा घाउहरू आउने जस्ता समस्या देखा पर्छन्।
हामीले घरमै ब्रस गर्दा वा ऐनामा मुखका सबै भागहरू हेर्न सक्छौँ। जस्तैः ओठको भित्री भागमा, जिब्रो बाहिर निकालेर हेर्दा घाउ, सेतो दाग, कालो दाग, फुस्रो दाग वा नयाँ किसिमको घाउ देखिने बित्तिकै चिकित्सकलाई देखाउनु पर्छ। त्यसपछि चिकित्सकले सामान्य मासु निकालेर बायोस्पी जाँच गर्नुपर्ने हुन सक्छ। त्यो क्यान्सर नभएर क्यान्सर बनाउन सक्ने घाउहरू पनि हुन सक्छन्।
घाँटीमा नयाँ खालको ग्रन्थि या गलगाँड आयो भने सामान्य सुईमार्फत त्यसबाट मासु निकालेर परीक्षण गर्ने, भिडियो एक्स(रे वा सिटिस्क्यान गरे पनि क्यान्सर हो होइन, छुट्याउन सकिन्छ।
अरू क्यान्सर जस्तै हेड एन्ड नेकको पनि मुख्य विधि शल्यक्रिया हो। जुन विधिबाट क्यान्सर लागेको भाग निकालेर फाल्ने गरिन्छ।
किमो वा रेडियो थेरापीबाट पनि उपचार गरिन्छ। कहिलेकाहीँ शल्यक्रिया गर्न नमिल्ने रहेछ भने पनि किमो थेरापीबाट घटाएर पुनः शल्यक्रिया गर्न मिल्न बनाउनु पर्ने हुन सक्छ। कुनै कुनैमा रेडियो थेरापी गरेर मात्रै पनि निको हुन सक्छ। शल्यक्रिया गर्दा पनि कुनै चिरेर या कुनै लेजर प्रविधिबाट पनि गरिन्छ।
हेड एन्ड नेकको क्यान्सर हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्छ। दाँतहरू चुच्चो छन् भने बोधो बनाउनु पर्छ। चुच्चो दाँतले गालामा टोकिएर क्यान्सर बनाउन सक्छ। मुखको सरसफाईमा ध्यान दिनुपर्छ। सुर्तीजन्य पदार्थहरू, गुड्का, सुपारी, मदिरा खान खानु हुँदैन।
रोग पत्ता लागेपछि ढिलो नगरी उपचारतर्फ लाग्नुपर्छ। क्यान्सर लागेपछि नकारात्मक नसोची उपचारतर्फ लाग्नुपर्छ। हामीले कतिपय मधुमेह, उच्च रक्तचाप, थाईराईड जस्ता रोगहरू जीवनभर औषधि खाएर नियन्त्रणमा राखेका हुन्छौँ। समयमै पहिचान र उपचार भयो भने क्यान्सर निको हुन्छ। अझै नाक, कान, घाँटीको क्यान्सर त निको हुनेमै पर्दछ।