विश्व स्वास्थ्य संगठनले मुख स्वास्थ्यलाई मुख एवम् अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिजा सम्बन्धित रोग, दाँत किराले खाने तथा झर्नु, दाँतमा प्वाल पार्ने तथा अन्य मुख सम्बन्धी रोग बाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ।
मुख सम्बन्धी समस्याहरु हरेक उमेर समूह तथा अवस्थामा बढ्दै गएको पाइएको छ। गर्भावस्था आफैमा महिलाको जीवनकै अति संवेदनशील समय हो र यो अवस्थामा शरीरमा हुने विभिन्न आवश्यक परिवर्तनले गर्दा मुख स्वास्थ्य अझ महत्त्वपूर्ण हुन्छ।
गर्भावस्थामा मुख स्वास्थ्यमा हुने परिवर्तनहरु
१. गर्भावस्थामा शिशुको विकासको लागि सामान्य अवस्थाभन्दा एस्ट्रोजन हर्मोनको मात्र १० गुणा र प्रोजेस्ट्रोनको मात्र ३० गुणा बढेको हुन्छ। यी दुवै हर्मोनको बीचको सन्तुलन नमिलेर मुख स्वास्थ्यमा धेरै परिवर्तन आएको हुन्छ।
२. रगत जम्न मद्दत गर्ने क्लटिङ फ्याक्टर नामक V, VII, VIII, X, XII बढ्नु र Clotting Factor नामक XI र XIII घट्नुले रगत जम्ने सामान्य प्रक्रियामा परिवर्तन आउनु।
३. गर्भावस्थामा हुर्कदै गरेको शिशुको आकारले आमामा आउने भौतिक परिवर्तनले पेटभित्रको दबाब बढ्नाले बान्ता हुनु र वाक्वाकी लाग्नु।
४. गिजाबाट रगत आउनु , गिजाको रंग रातोनिलो हुनु र दुख्नु।
५. सासमा गन्ध आउनु।
६. गर्भावस्था जिन्जिभाटिस: गर्भावस्थाको अवधिमा हर्मोन सम्बन्धी परिवर्तनहरूले दन्त प्लेक ब्याक्टेरियाद्वारा स्रावित टक्सिनहरूमा गिजाको अतिरन्जित प्रतिक्रिया निम्त्याउने छ। यस अवस्थामा गिजा रातोनीलो हुनु, सुन्निएको र छुनासाथ (प्रायः ब्रस गर्दा) रगत आउनु। गर्भावस्था बाहेक किशोर अवस्था, परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेको अवस्था, महिनावारी आदिमा पनि देखिन्छ।
७. प्रेग्नेन्सी ट्युमर - यस अवस्थामा एक वा एक भन्दा बढी, दुई दाँतको बीचको गिजाबाट उठेको डल्लो जस्तो, गाढा रातो रंगको, नरम, छुनासाथ (प्रायः ब्रस गर्दा) रगत आउने देखिन्छ। १-५ प्रतिशतमा यो समस्या देखिन्छ।
८. फेसियल पिगमेन्टेसन - प्राएजसो अनुहारको दुवैतिर खैरो रंगको धब्बा अथवा छिटा जस्तो देखिन्छ। ७०-७५ प्रतिशत महिलामा फेसियल पिगमेन्टेसन देखिन्छ।
९. दाँतको सडन : गर्भवती आमालाई गुलियो र अमिलो खाना खाने इच्छा जाग्छ। यद्यपि, प्लेकमा ब्याक्टेरियाले अमिलो उत्पादन गर्न आहारीय चिनीको प्रयोग गर्नेछ र दाँतको सडन हुने सम्भावना रहन्छ।
१०. दाँतमा सिरिङ्ग सिरिङ्ग हुनु - वाक्वाकी र बान्ता हुँदा पेटको एसिड (ग्यास्ट्रिक एसिड) मुखसम्मा पुग्छ र दाँतको सतहको इनामेल क्षती पुर्याउँछ। यसले दाँतमा सिरिङ्ग सिरिङ्ग हुने र दाँतको सडन हुने सम्भावना बढी हुन्छ।
उपचार तथा व्यवस्थापन
१. नियोजित गर्भ पूर्वको तयारी
नियोजित गर्भावस्थाको योजना बनाइसकेपछि, दाँत तथा मुखको पूर्ण जाँचका लागि दर्तावाला दाँत चिकित्सकलाई भेट्नुपर्छ। दाँत सम्बन्धी सबै समस्याहरूको उपचार तथा गर्भावस्थाका लागि सान्दर्भिक मुख स्वास्थ्य सम्बन्धी स्याहारको सुझाव सल्लाह लिनुपर्छ।
२. पहिलो त्रैमासिक
बच्चाको आंगहरु बन्ने सूक्ष्म समय भएकाले अतिआवश्यक बाहेकका दन्त उपचार गरिँदैन।
वाक्वाकी वा बान्ता हुँदा प्रसस्त मात्रामा सफा पानीले कुल्ला गर्नुपर्छ। मुखको सरसफाई तथा स्वच्छा खानपिनको बानी राख्नु पर्दछ। आफ्नो दाँतको सुरक्षा गर्नको लागि एसिडको आक्रमण प्रतिरोध गर्न फ्लोराइड-यक्त माउथवासको प्रयोग गर्नुपर्छ वा नुन पानीले कुल्ला गर्नुपर्छ।
बिहान र बेलुकी खाना खाइसकेपछि र सुत्नुभन्दा अगाडि सही तरिकाले फ्लोराइडयुक्त मञ्जनले ब्रस गर्नुपर्छ। डेन्टल फ्लसको प्रयोग गरी दाँतको बीचमा रहेको खाना निकाल्नुपर्छ।
गर्भवती आमाले दाँत सफा गर्नको लागि फ्लोरिडेटेड दन्तमन्जन प्रयोग गर्नुपर्छ। किनभने फ्लोराइडले निम्न कुरा गर्न सक्छ:
- छिटै दाँत किराले खानेलाई ठीक बनाउन मद्दत गर्न
- एसिड आक्रमणलाई प्रतिरोधी बनाउनको लागि इनामेललाई सुदृढ बनाउन
- प्लेकद्वारा एसिड उत्पादन घटाउनको लागि प्लेक ब्याक्टेरियाको गतिविधिहरू निषेध गर्न
आफ्नो ब्रस परिवारका अन्य सदस्यका ब्रसदेखि नछुने सुख्खा ठाउँमा राख्नु पर्दछ। ब्रसलाई ट्वाइल/बाथरूममा राख्नु हुँदैन।
३. दोस्रो त्रैमासिक: यो बच्चाको अंग बनेर विकास भइरहेको अवस्था हो त्यसैले पहिलो र तेस्रो त्रैमासिक भन्दा दोस्रो त्रैमासिक दाँत उपचारका लागि सुरक्षित मानिन्छ। अति आवश्यक अवस्थामा दाँत निकाल्ने, जरादेखिको उपचार र अन्य उपचारहरु तुलनात्मकरुपमा कम जोखिमका साथ गर्न सकिन्छ।
४. तेस्रो त्रैमासिक: यस अवस्थामा हुर्किरहेको बच्चाले गर्दा आमामा हुने भौतिक परिवर्तनले गर्दा डेन्टल चेयरमा लामो समयसम्म बस्दा शरीरको माथिल्लो भागमा रगतको सञ्चारमा कमी आई अन्य समस्या निम्तिने डर रहन्छ। दाँत उपचार अति आवश्यक परेको खण्डमा बायाँ पट्टी अर्धढलन अवस्थामा राखेर गर्नुपर्दछ।
गर्भावस्था आफैमा सूक्ष्म समय भएकाले माथि उल्लेखित कुराहरूसँगै यी कुराहरुमा पनि ध्यान दिनुपर्दछ :
रेशादार खाना, ताजा फलफूल सेवन गर्दा दाँतको लागि उत्तम मानिन्छ।
प्रशोधित, धेरै चिसो धेरै तातो, धेरै अमिलो वा गुलियो खानेकुरा खानुहुँदैन।
सूक्ष्म पोषण भएका खानेकुरा जस्तै: टमाटर, हरियो सागसब्जी, दूध, दहीको सेवन प्रचुर मात्रामा हुनुपर्दछ।
दाँत समबन्धि कुनैपनि समस्या परेमा नजिकैको दन्त चिकित्सककोमा गई सरसल्लाह लिन सकिन्छ।
-(डेन्टल सर्जन डा चौधरी डडेलधुरा अस्पतालमा कार्यरत छन्)