काठमाडौं - वीर अस्पतालमा एकै दिन तीन जना बिरामीको मस्तिष्क (ब्रेन) एनोरिजमको सफल शल्यक्रिया गरिएको छ। अचेत अवस्थामा ल्याइएका ती बिरामीको बिहीबार सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा राजीव झाका अनुसार दुई महिला र एक पुरुषको पाँच वटा ब्रेन एनोरिजमको शल्यक्रिया गरिएको हो। उनीहरु क्रमश ४३, ६१ र ६७ वर्षका थिए। उनीहरुको अवस्था हाल सामान्य रहेको र करिब एक सातापछि डिस्चार्ज गरिने उनले बताए।
बिहान ६ बजेबाट सुरु गरिएको उनीहरुको शल्यक्रिया राति ११ बजे मात्र सकिएको डा झाले जानकारी दिए।
मस्तिष्कमा रहेको रगत बग्ने नशा फुटेर उनीहरु अचेत अवस्थामा पुगेका थिए। दुई जना पाँच दिन र एक जना दुई दिन अघि अस्पतालमा ल्याइएको थियो। उनीहरु तीन जनालाई आइसीयूमा राखेर उपचार गरिएको वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा राजीव झाले जानकारी दिए।
उनले भने, ‘उनीहरु तीन जनाकै ब्रेन एनोरिजम फुटेर बेहोस अवस्थामा अस्पतालमा ल्याइएको थियो। यो अवस्थाका सबै बिरामीलाई आइसीयूमै राख्नुपर्छ। अचेतमा भएको व्यक्तिलाई पहिला होसमा ल्याएपछि मात्र शल्यक्रिया गर्नुपर्छ।’
डा झाको नेतृत्वमा भएको शल्यक्रियामा डा राजेन्द्र बस्नेत, डा विकेश खम्बु, डा विनोद राजभण्डारी, डा समीर अर्याल, डा सुशील मोहन भट्टराई, डा बिनित झा, डा सोम लामिछाने, डा नरेन्द्र शालिखे, रेजिडेन्ट डाक्टहरुमा डा प्रभात झा, डा नम्रता खड्का, डा कुमार पौडेल र डा सुबोध गौतम संलग्न थिए। यस्तै एनेस्थेसियामा डा विधुर बराल, डा गौरव रत्न बज्राचार्य, नर्सहरु सिन्धु गौतम, इश्वरी राजभण्डारी र अन्जना बराल शल्यक्रियामा सहभागी थिए।
के हो ब्रेन एनोरिजम?
रगत लैजाने नशाको भित्ता विभिन्न कारणले फुल्ने गर्छ, जसलाई ब्रेन एनोरिजम भनिन्छ। नशाको ती भित्ताहरु रगतको गतिले विस्तारै बेलुन जसरी फुलिदै जान्छ। र, धेरै ठूलो भए भने ती फोकाहरु फुट्न जान्छ। ती फोका फुट्यो भने ब्रेन हेमरेज हुन्छ।
ब्रेन एनोरिजमलाई न्यूरो सर्जरीको मस्तिष्क सम्बन्धी रोगहरुमध्ये सबैभन्दा चुनौतीपूर्ण मानिन्छ। डा राजीव झाका अनुसार यो रोगले निकै कम व्यक्तिलाई मात्र सताउँछ। नेपालमा एक प्रतिशतभन्दा कम जनसंख्यालाई मात्र यो रोग छ की भन्ने अनुमान रहेको उनले बताए।
उनले भने, ‘यो रोग धेरैलाई हुँदैन। नेपालमा एक प्रतिशतभन्दा कम जनसंख्यालाई मात्र यो रोग छ की भन्ने अनुमान छ। हुन त यो विषयमा अध्ययन गरिएको छैन। यो रोग कसलाई छ भनेर थाहा हुँदैन। ती नशा फुटेपछि मात्र यो समस्या बारे थाहा हुन्छ।’
सुरुवाती चरणमा लक्षणहरु देखा नपर्ने भएकाले अधिकांश बिरामीहरु नशाको ती फोकाहरु फुटेर अचेर अवस्थामा मात्र अस्पताल पुग्छन्। सामान्यतया यो रोग ३५÷४० वर्ष पुगेका व्यक्तिलाई देखिन सक्छ। तर हाल ६÷७ वर्षका बालबालिकालाई पनि ब्रेन एनोरिजमको समस्या देखिने गरेको डा झा बताउँछन्।
यो रोग आफैँमा जटिल अवस्थाको भएको बताउँदै उनले भने, ‘ब्रेन एनोरिजम फुटेका एक सयमध्ये ५० जना २४ घण्टा पनि बाँच्दैनन्। एक पटक ब्रेन हेमरेज भइसकेपछि व्यक्तिहरु पुनः बौद्धिक काममा फर्कन सक्ने संभावना निकै कम हुन्छ। भनेपछि यो रोग कस्तो भयावह होला ?’
न्यूरो सर्जनका लागि यो रोगको शल्यक्रिया निकै चुनौतीपूर्ण हुने उनले बताए। यो रोगको उपचार सबै ठाउँमा सुविधा समेत नरहेको उनले बताए।
उच्च रक्तचाप भएका धूम्रपान तथा मद्यपान गर्ने, टाउकोमा चोटपटक लागेको, मस्तिष्कको संक्रमण भएको, मस्तिष्कमा ट्युमर भएका व्यक्तिहरु ब्रेन एनोरिजमको जोखिममा पर्छन्। परिवारको कुनै सदस्यमा यो समस्या छ भने उनीहरुको सन्तानमा हुने संभावना पनि रहने डा झाले बताए।
डा झाले एक वर्षमा ६० देखि ६८ वटा ब्रेन एनोरिजमको शल्यक्रिया गर्छन्। ब्रेन एनोरिजमलाई डा झा मस्तिष्क भित्र रहेको बम भन्न रुचाउँछन्। किनभने यो एनोरिजम बढ्दै जान्छ। र, जुनै समयमा पनि फुट्न सक्छ। यो जन्मजात समस्या पनि हो।
‘दुर्भाग्यवश धेरै जनामा जसको ब्रेन एनोरिजम फुटेको हुँदैन। सानो आकारको छ। उनीहरुमा लक्षण नै देखा पर्दैन।’ उनले भने, ‘त्यसैले ३५ वर्ष पुगिसकेका व्यक्तिले एक पटक टाउकोको विशेष परीक्षण एन्जियोग्राम परीक्षण गराउनुपर्छ। परीक्षणका क्रममा एनोरिजम देखिएको छैन भने सामान्यतया देखिदैन। देखियो भने पनि १०/१५ वर्षपछि देखिन्छ।’
बाहिरी मुलुकमा ३५ वर्ष पुगेका व्यक्तिहरुका लागि एन्जियोग्राम परीक्षण अनिवार्य गरेपनि नेपालमा यो सम्बन्धी कुनै अनिवार्य व्यवस्था नरहेको उनले बताए। यो रोगको बारेमा अधिकांश व्यक्तिलाई जानकारी नभएको उनले बताए।
ब्रेन एनोरिजम हुने सबैको फुट्छ भन्ने पनि हुँदैन। तर जोखिम समूहमा रहेका व्यक्तिहरुमा भने ब्रेन एनोरिजम फुट्ने संभावना बढी हुन्छ। ब्रेन एनोरिजम हुनेहरुलाई टाउको असाध्यै नै दुख्ने, बान्ता आउने, बेहोस हुने लक्षण पनि देखिने गर्छ।
एनोरिजम शरीरको अन्य भागमा पनि हुन सक्छ। शरीरको अन्य भागमा एनोरिजम फुट्दा बिरामीको मृत्यु भइहाल्दैन। तर मस्तिष्कमा एनोरिजम फुट्दा मृत्यु हुने संभावना धेरै हुन्छ। ब्रेन एनोरिजम फुटेपछि तत्काल उपचार नपाए बिरामीको मृत्यु समेत हुने उनले बताए।