हिजो आज कान्ति बाल अस्पतालमा सेवाग्राहीको चाप निकै बढेको छ । केही दिनएता बालबालिकामा ज्वरोको समस्या एकदमै बढेसँगै ओपिडी तथा राती अबेरसम्म पनि बच्चाहरु बोकी आमाबुवा इमरजेन्सीमा लामबद्ध भइ बसेका हुन्छन्। ज्वरो आउने धेरै कारण मध्ये डेंगु ज्वरो पनि भएको र काठमाडौं उपत्यका लगायत देशको विभिन्न भागमा दिनानु केस बढ्दै गएकाले साथै असारदेखी भदौमा बढी देखिने र जोखिम हुने भएकाले आजको यस अंक मा डेंगु रोग बारे जानकारी गराउने छु।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साप्ताहिक रुपमा प्रकाशन गर्ने बुलेटको तथ्यांकलाई आधार मान्ने हो भने यो एक महिनाको समयमा नेपालभरीमा करिब १४९ जना डेंगुका केस फेला परेका छन्। गएको असारको अन्तिम हप्ताको मात्रै रिपोर्ट केलाउने हो भने ५८ जना बिरामी फेला परेका छन्। जुन गत वर्ष यही समयमा मात्रै १९ जना थिए । त्यसैगरी गएको हप्तामा सबै भन्दा बढी संखुवासभा (१५ जना ) र धादिङ (१२ जना) मा फेला परेका छन्। ४ जना काठमाडौं बाट फेला परेका छन् भने जुम्लामा २ जना भेटिएका छन्।
डेंगु ज्वरो
डेंगु ज्वरो एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक डेंगु भाइरस संक्रमित लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। नेपालमा प्राय गरेर प्रत्येक वर्ष जुन देखी अगस्ट महिनामा मनसुन सुरु हुन्छ र यती बेला नै धेरै केसहरु भेटिने गर्दछ।
लक्षण
फेब्राइल अवस्था
• एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो २ देखि ७ दिनसम्म रहन सक्छ।
• असाध्यै टाउको दुख्ने,
• आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
• ढाड, जोर्नी तथा मांसापेसीहरू दुख्ने,
• आँखाहरु पोल्ने,
• वाकवाकी लाग्ने ,बान्ता हुने, पेट दुख्ने
• शरीरमा विमिरा आउने,
• नाक वा गिजाबाट रगत बग्ने
• बच्चाहरुमा फेब्राइल सिजर हुने,
• कलेजो सुन्निने तथा कलेजो रहने ठाउँमा पेटमा थिच्दा दुख्ने,
• रगत जचाउँदा प्लेटलेट्स र सेता रक्तकोष क्रमश: घटदै जाने र पीसीभी बढ्दै जाने हुन्छ।
जटिल अवस्था
• ज्वरो हराउने बेलामा केही बिरामीहरु झन् सिकिस्त हुने गर्छन् जसमा बिरामीहरुलाई बान्ता हुने तथा अत्याधिक पेट दुख्ने, फोक्सो तथा पेटमा पानी जम्ने, बेहोस हुन थाल्ने, कलेजो, दिमाग तथा मुटुमा समस्या र अत्याधिक रक्तस्राव हुन सक्दछ। रोगको जटिलता बढ्दै गएमा र उचित उपचार नपाएमा बिरामीको ज्यान समेत जान सक्दछ।
रिकभरी अवस्था
• यदी २४-४८ घण्टाको क्रिटिकल फेज पार गरेपछि बिरामीहरुलाई सजिलो महसुस हुन्छ, खाना रुच्न थाल्छ, लक्षणहरु कम हुँदै जान्छ।
कस्ता व्यक्ति जोखिममा छन् त ?
• एक वर्ष मुनिका बालबालिका
• वृद्धवृद्धा
• मोटो मानिस
• रगत बग्ने समस्या हुने व्यक्ति
• गर्भवती
उपचार
यो एक किसिमको भाइरल ज्वरो भएकाले खासमा कुनै औषधि उपचार छैन । खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो। बिरामीको अवस्था तुरुन्तै जटिल हुन गई मृत्युह समेत हुन सक्ने भएकाले शंकास्पद बिरामी वा आफन्तले तुरुन्तै नजिकै हुने स्वास्थ्य संस्थामा गई उचित परामर्श लिनु जरुरी देखिन्छ।
रगत बग्ने र ग्यास्ट्राइटिस गराउने जोखिम हुने भएकाले विशेष गरेर डेंगु देखिएको क्षेत्रमा ज्वरो कम गर्न सिटामोलको मात्रै प्रयोग गर्ने र अनावश्यक आईबुप्रोफेन तथा एस्पीरीनको प्रयोग नगर्ने।
शरीरमा पानीको मात्रा कम हुन नदिने, झोलिलो पदार्थ प्रशस्तै खाने।
बच्ने उपाय
• डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्ने
• सुर्योदय भएको २ घण्टा पछि र सुर्यास्त हुनु २ घण्टा अघी डेंगु गराउने लामखुट्टेले बढी टोक्ने भएकाले सो समयमा बढी सचेत रहने।
• पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
• लामखुट्टेलाई टोक्न नदिन बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने,
• सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने,
• लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्ने,
• घरका झ्याल ढोकामा जाली लगाउने,
• घर वरिपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ।